Worldlink ads

मुस्ताङको सुन्दरता र मुक्तिनाथको महिमा

के.वी. मसाल
श्रावण ३१, २०७८
muktinath_temple_in_nepal

नेपालीहरुको घुमफिर गर्ने संस्कृतिको विकास हुँदै जाँदा आजभोलि धेरै चाडपर्वहरु पर्यटनसँग जोडिएका छन् । चाडपर्वमा घुमफिर गर्दा नदेखेको ठाउँ पनि देखिने र नयाँ र नौला अनुभूतिले सबै रमाउँछन् । श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा भनिन्छ । यो वर्ष जनै पूर्णिमा भदौ ६ गते पर्दछ । वैदिक कालदेखि नै जनै लगाउने संस्कार भएकाहरुले जनै पूर्णिमाको दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रुपमा लिने गर्दछन् । जनै पूर्णिमाको दिन बिहानै नदी वा तीर्थतटमा पुगी वैदिक विधिअनुसार स्नान, सूर्यको आराधना गरी ऋषिको पूजा गर्दछन् ।
जनै पूर्णिमाको दिन स्नान गर्नको लागि आजभोलि धेरै मानिसहरु मुक्तिनाथ पुग्ने गर्दछन् । तीर्थाटन पर्यटकहरुका लागि मुक्तिनाथ महत्वपूर्ण तीर्थस्थल हो । मुक्तिनाथ गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पर्दछ । धवलागिरि, नीलगिरि र माछापुच्छ्रे हिमालको बीचमा रहेको मुस्ताङ जिल्लालाई हिमालपारिको जिल्ला पनि भन्ने गरिन्छ ।
मुक्तिनाथ समुन्द्रको सतहदेखि ३ हजार ७ सय १० मिटर उचाइमा गोरङ्गा हिमालको फेदीमा छ । मुक्तिनाथ ५१ शक्तिपीठमध्ये एक पीठको रुपमा स्नान पूजाआजा र दर्शन गरिन्छ । बौद्धधर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा भनिन्छ । जसको अर्थ तिब्बतीय भाषा अनुसार १ सय ८ पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णुलगायत देवी लक्ष्मी र गरुड भगवान्को मूर्ति राखिएको छ । सबै मूर्ति सुनले बनेका छन् । मुक्तिनाथमा १ सय ८ धाराहरु छन् । ती धाराहरुमा तीर्थाटनका पर्यटकहरुले नुहाउँछन् । सबै धाराहरुमा साँढेका मुखकृति रहेका छन् । यी धारा राजा मुकुन्द सेनले बनाएका हुन् । तिब्बतीय धर्म दर्शनअनुसार गुरु रिन्पो चे टिवेटन बुद्धधर्मका जन्मदाता मुक्तिनाथको वरपरका पर्वतमा तपस्या गरेर तिब्बत गएका थिए ।
मुस्ताङ जिल्लाको दामोदरकुण्डबाट सुरु भएको नदी कालीगण्डकी हो । जुन नदीमा मुक्तिनाथको धाराको पानी कागवेनीमा मिसिन्छ । कतिपय नदी तिब्बतबाट सुरु भई नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट सुरु भई देवघाटमा पुगी त्रिशूली नदीमा विलय भएपछि नारायणी नाममा त्रिवेणी भैंसालोटन हुँदै सिमा पार भएपछि भारतमा गंगा नामले परिचित भई गंगा सागरमा गएर मिसिन्छ । मुक्तिनाथमा जाँदा कागबेनीमा तीर्थाटन पर्यटकहरुले दिवंगत पितृलाई पिण्ड एवं तर्पण दान गर्दछन् । संसारमा मुक्तिनाथमात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ ।
कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुंगा अर्थात शालिग्राम पाइन्छ । जुन ढुंगालाई हिन्दुधर्ममा भगवान् नारायणको साक्षात् रुप मानिन्छ । मुक्तिनाथमा आगो, पानी, पृथ्वी, हावा र जल संगम भेटिन्छ । मुक्तिनाथ मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ । मुक्तिनाथको ज्वालामाई परापूर्वकालदेखि अहिलेसम्म निरन्तर रुपमा पानी माथि बलिरहेको छ । मुक्तिनाथ पुगेपछि तीर्थाटन पर्यटकहरुले आफूले खाने गरेको खाद्य पदार्थमध्ये एक चिज छोडने प्रचलन छ ।
मुक्तिनाथ पुगेपछि तीर्थाटनका पर्यटकहरुलाई आफ्नो इच्छा पूरा भएको अनुभूति हुन्छ । मुक्तिनाथ वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको क्षेत्र, हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु हो । मुक्तिनाथ मन्दिर नेपाली तले शैलीमा निर्मित छ । मन्दिर छेउछाउमा १०८ धारा, ज्वाला माई मन्दिर, शिवालय र गुम्बाहरु पनि छन् । मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले निर्माण गरेको मानिन्छ । तर, अहिलेको मन्दिर भने वि.सं. १८७१ सालमा शाहराजाहरुले निर्माण गरेका हुन् ।

मुक्तिनाथ वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको क्षेत्र, हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु हो

मुक्तिनाथको मन्दिरमा ब्राह्मणले पूजाआजा गर्ने र बौद्ध झुमाहरुले प्रसाद वितरण गर्ने प्रचलन छ । मुक्तिनाथ मन्दिरमा धातुको मुक्तिनाथको मूर्ति राखिएको छ । त्यसका साथै लक्ष्मी, सरस्वती र गरुडका मूर्तिहरु पनि छन् । बौद्धमार्गीहरुले मुक्तिनाथको ज्वालालाई अवलोकितेश्वरको स्वरुप मान्दछन् । मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेह्रौ–चौंधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो ।
कालीगण्डकीको शिर र हिन्दुको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले प्रत्येक वर्ष जनै पूर्णिमाको समयमा हजारौंको सख्यामा विभिन्न जिल्लाबाट तीर्थाटनका पर्यटक मुक्तिनाथ पुग्ने गर्दछन् । अहिले मुक्तिनाथ जानको लागि पोखराबाट हवाई उडानको मात्र भर पर्न पर्दैन । पोखरा बागलुङ हुँदै म्याग्दीको बेनीदेखि मुस्ताङको लागि मोटर मार्ग खुलेको छ । मुक्तिनाथ जानेहरुको लागि म्याग्दीको तातो पानीको स्नान गरेर मुक्तिनाथसम्मको यात्रा गर्न पनि सजिलो भएको छ । पोखराबाट बस चढेपछि नाउडाँडा, लुम्ले, वीरेठाँटी हुँदै मोदी खोलाको किनारको सडकबाट पर्वतको सदरमुकाम कुश्मा बजारको बाटो प्राकृतिक दृष्य, काली र मोदीको नागबेली पानीको वेग, अनि नेपालकै लामो झोलुें पुलको रुपमा निर्माण गरिएको कुश्मा बलेवा जोड्ने कालीगण्डकीको केबुल पुल, पर्वत र बागलुङ जिल्लाका अनगिन्ती ऐतिहासिक स्थल, हरिया डाँडाकाँडा अवलोकन गर्दै म्याग्दी जिल्लाको सदरमुकाम बेनी पुगिन्छ ।
मुक्तिनाथको यात्रामा प्रवेशद्वारको रुपमा बेनीको गलेश्वर धाम पर्दछ । म्याग्दीको सदरमुकाम बेनीदेखि ३ किलोमिटर उत्तरको दूरीमा गलेश्वर धाम पर्दछ । स्कन्द पुराणका अनुसार भगवान् शिवकी पत्नी सतीदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण गरिएको धार्मिक विश्वास छ । विशेषगरी शिवरात्रि, बालाचतुर्दशी र साउन महिनामा विशेष भीड लाग्ने गलेश्वर धाममा जनै पूर्णिमाको अवसरमा स्नान गर्नेहरुको पनि उत्तिकै भिड हुन्छ । गलेश्वरको दर्शन गरेमा पापबाट मुक्ति पाइने जनविश्वास छ । मुक्तिनाथ जाँदा प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको सिंगाको तातोपानी कुण्डमा पनि नुहाउन सकिन्छ ।
सिंगाको तातो पानी बेनी बजारदेखि ९ किलोमिटरको दूरीमा पर्दछ । जमिनभित्रबाट निस्कने तातोपानी ५० डिग्री सेल्सियस तातोपानी कुण्डमा जम्मा गरिएको छ । बिरेनुनको गन्ध आउने कुण्डको पानीमा एक हप्तासम्म नियमित स्नान गरेमा हाड जोर्नी, चर्म, ग्यास्ट्रिक र नशासम्बन्धी रोग निको हुने जनविश्वास रहेको हुनाले तीर्थाटनका पर्यटकहरु तातोपानीमा पुग्ने गर्दछन् । सिंगा तातोपानी पोखराबाट ९२ किमीको दूरीमा छ । म्याग्दी जिल्लामा सिंगाबाहेक भुरुङ, दोवा, दाना, घार, शिख, मुदी र दग्नाममा पनि तातोपानीका मुलहरु छन् । जसमध्ये सिंगा तातोपानी उपचार र भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि ७६ किमीको दूरीमा जोमसोम पर्दछ । यात्रामा बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाउँ र मुस्ताङ जिल्लाको घाँस, लेते, कोवाङ र मार्फा हुँदै जोमसोम पुगिन्छ । मुक्तिनाथ पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहल पहललाई नै मुस्ताङ सम्झिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन् । मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङ पुगेन भने मुस्ताङ जिल्लाको महत्व नै थाहा हुँदैन ।
उपल्लो मुस्ताङको जनजीवन, धर्म, संस्कृतिका बारेमा अध्ययन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केही अर्थ हुँदैनभन्दा पनि हुन्छ । त्यतिमात्र होइन धेरै मानिसहरुलाई कालीगण्डकीको उद्गम स्थल नै मुक्तिनाथ हो भन्ने भ्रम पनि छ । कालीगण्डकीको उदगम स्थल दामोदरकुण्ड हो । जुन स्थल उपल्लो मुस्ताङमा पर्दछ । नेपालको नक्सामा स्वशासित तिब्बततिर फैलिएको अर्थात् नक्सा हेर्दा टोपी लगाएकोजस्तो देखिने भाग नै मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङन्थाङ हो ।
मुस्ताङ जिल्लाको लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेरको केन्द्र अर्थात् उपल्लो मुस्ताङको राजधानी लोमान्थाङ गाउँ हो । प्राचीन कला संस्कृति, मानवबस्तीका गुफा र पर्खालले घेरेको सहर लोमान्थाङको विशेषता हो । उपल्लो मुस्ताङमा गुम्बा र काँचोमाटोबाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट ८३ किमी उत्तर पर्ने लोमान्थाङमा कच्ची मोटर मार्ग पुगेको छ ।
पानी कम परेको बेला पोखरादेखि नै मोटरबाट लोमान्थाङ पुग्न सकिन्छ । लोमान्थाङ क्षेत्र मानव बस्तीको ऐतिहासिक स्थल मानिन्छ । अहिलेसम्मको अध्ययनले लोमान्थाङ ३ हजार वर्ष अघि देखिनै तिब्बतसँग व्यापार गर्ने नाकाको रुपमा विकास भएको क्षेत्र हो । अन्नपूर्ण हिमशृंखलाको पछाडि पर्ने हुँदा लोमान्थाङ क्षेत्रमा पानी कम पर्दछ । अहिले पनि मुस्ताङ जिल्लाका लोमान्थाङ क्षेत्रका मानिसहरु घोताङ नाका हुँदै तिब्बतसँग आफ्नो व्यापार गर्दै आएका छन् ।
मुस्ताङ जिल्लाको तिब्बतसँग सिमामा पर्ने कोरला नाका समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइमा पर्दछ । यो स्थल तिब्बती मैदानी पैठारमा अवस्थित छ । कोरला पासदेखि करिब १२ किलोमिटर वर नेचुङमा भन्सार कार्यालय छ । त्योभन्दा करिब २५ किलोमिटर टाढा लोमान्थाङमा सीमा प्रशासन र प्रहरी कार्यालय रहेको छ । पोखराबाट जोमसोम हुँदै कोरलापाससम्म पुग्ने सडक निर्माणाधीन छ । कोरलानाकादेखि तिब्बततर्फ करिब ३० किलोमिटर ढुंगाबासेनसम्म कच्ची सडक पर्दछ । त्यहाँबाट तिब्बतको विकसित सहर सिगात्सेसम्म करिब ६ सय ५० किलोमिटर पक्की पिच सडक छ ।
नवलपरासी जिल्लाको गैंडाकोटबाट निर्माणाधीन कालीगण्डकी करिडोर तिब्बतको सिमाना कोरला नाकासम्म ४ सय ३५ किलोमिटरको दूरी रहेको छ । निर्माणाधीन यो सडकमध्ये कालीगण्डकी करिडोरको काम दक्षिणतर्फबाट भइरहेको छ । नेपाल चीनको व्यापारिक सम्भावनाको हिसाबले तातोपानी र केरुङ नाकाभन्दा बढी सम्भावना भएको नाकाका रुपमा मुस्ताङको कोरला नाकालाई लिइन्छ ।
विश्वमा १० उत्कृष्ट स्थलहरुमध्ये नेपालको उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको उपल्लो मुस्ताङमा विदेशीहरुलाई सन १९९२ देखिमात्र भ्रमणको लागि नेपाल सरकारले खुला गरेको हो । अहिले उपल्लो मुस्ताङमा नेपालीहरुभन्दा पनि विदेशी पर्यटकहरु धेरै जाने गर्दछन् । दैनिक सयौंको सख्यामा पुग्ने विदेशी पर्यटकहरु लोमान्थाङका ऐतिहासिक स्थलहरुमा रमाउने गरेका छन् । लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरबार छ । राजा अम पालले संवत् १४४० मा निर्माण गरेको लोमान्थाङ दरबार ५ तलाको विशाल ऐतिहासिक भवन मानिन्छ ।
लोमान्थाङको ऐतिहासिक दरबार, गुम्बा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै सास्ंकृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार ऐतिहासिक रुपले महत्वपूर्ण मानिन्छ । लोमान्थाङ दरबार मुस्ताङी राजवशंको प्रथम राजा आमेपालको पालामा पन्ध्रौं शताब्दीतिर निर्माण भएको हो । यो दरबार १ मिटर चौडाई ६ मिटर अग्लो एल आकारको ८ सय ५६ मिटर लामो पर्खालभित्रको परिसरमा रहेको छ । यो पर्खाल पूरै काँचो माटोबाट निर्माण गरिएको हो । पर्खाल बनाउँदा माटो खादन र मिलाउनको लागि चौरीहरु पनि प्रयोगमा ल्याइएको लोमान्थाङको इतिहास छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ दरबार र गुम्बाको अवलोकन गरेपछि पुग्नै पर्ने अर्को स्थल हो दामोदर कुण्ड । धार्मिक अथवा प्राकृतिक रुपले अति मनमोहक सुन्दर हिमाली शृखलाको कुण्ड हो दामोदर कुण्ड । हिन्दुहरुको आस्थाको पवित्र कालीगण्डकी को उद्गम स्थल दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो तालभन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिब १२० किमीको दूरीमा रहेको दामोदरकुण्ड उपल्लो मुस्ताङको चराङको घारागाउँबाट २ दिनको पैदल यात्रामा पुग्न सकिन्छ ।
घारा गाउँबाट दामोदरकुण्ड सम्मको भूगोलमा मानव बस्ती नभएकाले त्यहाँ जाने जो कोही तीर्थाटन पर्यटकहरुले खाद्यान्नलगायत बन्दोबस्तीका सबै सामान साथमा लिएर जानुपर्दछ । दामोदर कुण्ड जान साउन र भाद्र महिना उपयुक्त मानिन्छ । दामोदरकुण्डको हिमाली शृंखलामा उपत्यका बनेको छ । हजारौं हिमाली फूलहरुले उपत्यकालाई सजाएको छ । दामोदरकुण्ड वरपर अन्य साना तिना कुण्डहरु पनि छन् । छिन–छिनमा रातो, नीलो, सेतो रङको पानी देखिने कुण्डले त्यहाँ पुग्ने सबैलाई रोमाञ्च बनाउँछ ।

कसरी जाने ?
पोखरादेखि मुक्तिनाथसम्म खान बस्नको लागि कुनै समस्या हँुदैन । मुक्तिनाथको बेस क्याम्प रानीपौवासम्म गाडीहरु पुग्दछन् । त्यहाँबाट करिब १ किलोमिटर पैदल यात्रा गर्नु पर्दछ । हिँड्न नसक्नेहरुका लागि घोडा चढ्न पनि पाइन्छ । तर घोडा चढेबापत् शुल्क अलि महँगो पर्छ ।

के के लैजाने ?
स्लिपिङ ब्याग, रेनकोट, न्यानो कपडा, ज्याकेट, पन्जा, टोपी, ड्राइफुड, चकलेट, सुन, अदुवा, सातु आदि । बान्ता कन्ट्रोल गर्ने औषधी, सिटामोल र अल्टिच्युड सिकनेसका औषधीहरु पनि बोकिराख्नु राम्रो हुन्छ । थर्मस लैजान नभुल्नुहोला ।

खर्च कति लाग्छ ?
दिनको प्रतिव्यक्ति २ हजार । यति पैसाले तपाईंलाई खान र बस्न पुग्छ । ठाउँ अनुसार गास र बासको मूल्य फरक पर्छ । उपहार र अन्य खर्चका लागि थप रकमको बन्दोबस्त गर्नुपर्छ । यात्रा समूहमा गर्नु राम्रो मानिन्छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads