पर्वतारोहीलाई पुनर्ताजगी तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७८
nma training

पोखरा । पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले पुनर्ताजगी तालिम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोर्ट्स इन्डोर हबमा २ दिनसम्म बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम भएको हो ।
गत माघमा मुस्ताङको धम्पुस पिक (६,०१२ मि.) आरोहण गरेका र तनहुँ विमलनगरमा रक क्लाइबिङमा भाग लिएका गरी १५ जना तालिममा सहभागी थिए । सहभागीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त माउन्टेन गाइड प्रशिक्षक प्रेम गुरुङ र सहायक प्रशिक्षक राम गुरुङले अप्ठ्यारा पहाड, खोंच र हिमालमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे तालिम दिएका हुन् । तालिमस्थलमा रहेको कृत्रिम पर्खालमा डोरीबिना चढ्ने, डोरी सहायतामा झर्ने, आरोहणक्रममा अप्ठ्यारोमा फसेकाको उद्धार गर्ने लगायत विधि सिकाइएको थियो ।
शुक्रबार सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकलाई सुरक्षित महसुस गराउन र पर्वतारोही स्वयंको सुरक्षामा तालिम लाभदायी हुने बताए ।
एनएमए गण्डकी अध्यक्ष शेषकान्त शर्माले सैद्धान्तिकमात्र नभइ, व्यवहारिक रुपमा समेत सीपयुक्त बनाउन तालिम आयोजना गरेको प्रष्ट पारे । ‘गण्डकी प्रदेशका हिमाल आरोहण प्याकेज अहिले काठमाडौंले बेचिरहेको छ,’ उनले भने, ‘पोखरामै तालिम केन्द्र बन्न सके यहींका व्यवसायी, गाइड र मजदुरले लाभ लिन सक्ने छन् ।’
एनएमए गण्डकी सचिव सुदीप गौतमले हिमाल चढ्न आउने पर्यटक जस्तोसुकै महामारीमा पनि आउने भएकोले पर्वतीय पर्यटनमा जोड दिनुपर्ने बताए ।
यसअघि तालिम उद्घाटन अवसरमा पोखरा पर्यटन परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले आन्तरिक पर्यटक भित्र्याउने अभियानमा एनएमएसँग सहकार्य गर्ने बताए । स्वदेशी पर्यटकलाई हिमाल चढ्न प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । तत्कालीन एनएमए अन्नपूर्ण च्याप्टर पूर्व अध्यक्ष जीवनराज सापकोटाले गण्डकी प्रदेशमा रहेका हिमालको विस्तृत ‘पिक प्रोफाइल’ बनाउनुपर्ने औंल्याए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्वतीय पर्यटन प्रवद्र्धन र जनशक्ति उत्पादनमा हातेमालो गर्ने बताइन् ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघ अध्यक्ष सुशीलराज पौडेलले पर्यटनलाई चलायमान बनाउन ट्रेकिङ र पर्वतारोहणलाई सँगसँगै लैजाउनुपर्ने सुझाए । तालिम संयोजक कृपाकुमार गुरुङले प्रवद्र्धनात्मक हिमाल आरोहणमा सहभागी हुनेलाई तालिम फलदायी हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width