माछापुच्छ्रे हिमचुलीको … म्युजिक भिडियो सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७८
santosh bashyal~

पोखरा । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियो माछापुच्छ्रे हिमचुलीको…” शुक्रबार सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायक सन्तोष बस्यालसँगै मोडल शर्मिला अधिकारी, वर्षा क्षेत्री, सबिन गायक र नबु सुवेदीको अभिनय रहेको छ । भिडियोमा नेत्र गुरुङले निर्देशन गरेका छन् । पोखरा आसपासका रमणीय स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियो नेत्र इन्टरटेन्मेन्टको अफिसियल युटुबमार्फत् सार्वजनिक गरिएको होे ।
गीतमा पोखराको महिमालाई प्रस्तुत गरिएको गीतकार रामजी घिमिरेले बताए । उनले भने, ‘करिब २ वर्ष अगाडि नै हामीले गीतको अडियो रेकर्ड गरेका थियौं । मेरो आफ्नै व्यस्तताका कारण म्युजिक भिडियाको काम रोकियो । गत वर्ष म्युजिक भिडियो छायाङ्कन भएको भए पनि कोरोना महामारीका कारण अहिले आएर समय जुरेको छ,’ उनले भने ।
म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङले गीतको मर्मलाई मर्न नदिने गरी भिडियो निर्माण गरिएको जानकारी गराए ।
गायक सन्तोष बस्यालका ‘मैले तिमीलाई माया गर्दा’, ‘रेशम फिरिरी’, ‘ढाँट्यो मायाले’, ‘एउटै मुटु’ लगायत गीत सार्वजनिक भइसकेका छन् । छिट्टै नै बस्यालको संगीत र आवाज रहेको ‘बस है प्यारी’ सार्वजनिक हुँदै छ । छायाङ्कनको काम सकेर सम्पादन कार्य भइरहेको बस्यालले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width