पोखरा विमानस्थलको म्याद १ वर्ष लम्बियो

प्रकाश ढकाल
श्रावण १८, २०७८
Pokhara intl Airport

फाइल तस्बिर : टाेपबहादुर विक

पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि थपिएको छ । नागरिक उड्ययन प्राधिकरणले १ वर्ष म्याद थपेको हो । पूर्व सम्झौता अनुसार गएको जुलाई १० भित्रै काम सक्नुपर्ने हो । तर कोभिड र निरन्तरको लकडाउनले २०२२ को जुलाई १० सम्मका लागि म्याद थप गरिएको हो । ८१ प्रतिशत निर्माणको काम सकिएको छ । बाँकी १९ प्रतिशत पनि अधिकांश उपकरणसँग सम्बन्धित छ भने भित्री सजावटमा बढी काम थाँती छ । ‘कोभिड कन्ट्रोलमा आएको छैन । तेस्रो लहर आउन सक्छ भनेर आकलन गरिएको छ । पटक पटक थप्नुभन्दा एकैपटक थप्न सजिलो होला भनेर एक वर्ष थपिएको हो,’ आयोजनाका प्रमुख विनेश मुनन्कर्मीले भने, ‘२०७८ सालभित्रै फ्लाइट गर्ने गरी काम सकिन्छ । भैपरी आउला भनेर अहिले नै सोच्नुपर्‍यो । स्किल्ड मेनपावर पनि आउन बाँकी छ ।’
विमानस्थलका ८० कामदारलाई दास्रो लहरको कोरोना संक्रमण भएकोे थियो । सुरुमा १० जनामात्रै संक्रमित थिए । तेस्रो लहरसँग उनीहरु अझै त्रसित छन् । कामदारलाई कोरोना लागेपछि डेढ महिना काम पूर्ण रुपमा ठप्प भएको उनले सुनाए । भौतिक पूर्वाधारतर्फको अधिकांश काम सकिएको र अहिले उपकरण जडानमा केन्द्रित छ । भौगोलिक जटिलताका कारण पोखरा विमानस्थल ठूला जहाजका लागि उपयुक्त छैन । साना जहाज ल्याउन पनि लेखनाथस्थित रिठ्ठेपानी डाँडा कटान गर्नुपर्छ । डाँडा कटानको काम भइरहेको छ । ‘डाँडा काटिसकेपछि टेस्ट फ्लाइटको प्रोसेस सुरु हुन्छ । यही आर्थिक वर्षभित्र व्यावसायिक उडान सुरु होला भन्ने अपेक्षा छ,’ उनी भन्छन्, ‘उडान रुट सिमरा र भैरहवा नै हो । माथिल्लो निकायमा कुरा चलिरहेको छ । अपरेसन फ्लाइट तयारीका लागि नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुखको संयोजकत्वमा समिति गठन भएको छ । समितिले काम पनि सुरु गरेको छ ।

३ हजार ८ सय रोपनीमध्ये २० रोपनी अधिग्रहण हुनै बाँकी छ, थप साढे ३ सय रोपनी अधिग्रहण गर्नुपर्छ

चीनको एक्जिम बैंकको सस्तो ब्याजदरको ऋण सहयोगमा चीनकै सिएएमसी कम्पनीले विमानस्थल निर्माण गरेको हो । एयरपोर्ट बनाउन २२ अर्बभन्दा बढी लाग्ने स्टिमेट छ । ४ महिनाभित्र आवश्यक सबैखाले उपकरण ल्याएर जडान गरिसक्ने उनले बताए । इपिसी मोडलमा निर्माण भएकाले समय बढे पनि लागत भने थपिँदैन । निर्माणको काम सकिने बेलासम्म जग्गा अधिग्रहण भने पूरा भएको छैन । अझै २० रोपनीभन्दा बढी जग्गा अधिग्रहण हुन नसकेको मुनन्कर्मी बताउँछन् । ‘फ्लाइट अपरेसनका लागि चाहिने सबै जग्गा अधिग्रहण भइसकेको छ । २० रोपनी जति बाँकी छ,’ उनले थपे, ‘३ हजार ८ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ९९ प्रतिशत काम सकिएको छ । बाँकी ३ महिनाभित्र सकिन्छ ।’ उनका अनुसार अझै साढे ३ सय रोपनी जग्गा थप अधिग्रहण गर्नुपर्छ । निजी कम्पनीका जहाज राख्ने जग्गासमेत विमानस्थलले नै व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । सरकारले निर्णय भने गरिसकेको छैन । थप जग्गा अधिग्रहण गर्न भने कठिन देखिन्छ ।
२०७३ वैशाख १ गते विमानस्थल शिलान्यास भएको थियो । आन्तरिक समस्याका कारण डेढ वर्षपछि मात्रै निर्माणको काम सुरु भएको हो । ३ किलोमिटर लामो रनवे तयार भएको छ भने टर्मिनल भवन, जहाज पार्किङ, ट्याक्सी पार्किङ, पेरिफेरि रोड, राजमार्गदेखि विमानस्थलसम्मको सडक र आवश्यक सबैखाले भवन निर्माणको काम पूरा भइसकेको छ । यहाँ ३ वटा ठूला र ८ वटा साना जहाज एकैपटक पार्किङ गर्न सकिन्छ । विमानस्थल निर्माण उत्तरार्धमा पुग्दासमेत केही महत्वपूर्ण तयारी भने गरिएको छैन ।
विमानस्थल सञ्चालन अघि ल्यान्डफिल्ड साइट हटाउनुपर्ने पहिलो शर्त छ । यसको जिम्मा पोखरा महानगरको हो । तर महानगरले जग्गा खोजी गर्न सकेको छैन । यसबाहेक विमानस्थलबाट नजिकका गन्तव्यहरुमा फास्ट ट्रयाक निर्माण हुन सकेको छैन । हाल पोखरा मुग्लिन सडक निर्माण सुरु भएको छ । यसले विमानस्थललाई थप सहयोग पुग्नेछ । खासगरी थाइल्यान्ड, चीन र भारतका सहरहरुमा पोखराबाट सीधा उडान हुनेछ । जेट विमान भने यहाँबाट आउजाउ गर्न सक्दैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width