Worldlink ads

सकिनै आट्यो रोपाइँ

धनबहादुर गुरुङ
श्रावण १७, २०७८
news ropai

पोखरा । मानो खाएर मुरी उब्जाउने महिना सकिएर साउनको दोस्रो साता सुरु हुँदा गण्डकी प्रदेशमा रोपाइँ सकिनै आँटेको छ । प्रदेशमा ९५ प्रतिशत रोपाइँ सकिएसँगै सिजनको मेलो बिट मारिने अवस्थामा पुगेको छ । प्रदेशको धान खेती हुने १ लाख २० हजार ५ सय ८० हेक्टर क्षेत्रफल मध्ये १ लाख १४ हजार ३ सय ५० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।
आकाशे पानी र सिँचाइको सुविधा बिस्तार भएकाले समयमा रोपाइँ हुँदा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । उनका अनुसार जिल्लाहरुबाट प्राप्त तथ्यांक साउन १३ सम्मको हो । ‘अब लगभग रोपाइँ सकिने अवस्थामा पुगेको छ, साउन १३ सम्मको डाटा अनुुसार ९५ प्रतिशत हो,’ उनले भने, ‘अहिले ९६ प्रतिशत जति भइसक्यो होला ।’ अझै केही ठाँउमा रोपाइँ चलिरहेकाले प्रदेशमा ९७ प्रतिशतसम्म रोपाइँ हुने उनको अनुमान छ । केही धान खेतीका लागि योग्य जमिन विभिन्न कारण बाँझै रहने समस्या रहेको कारण पनि २÷३ प्रतिशत बाँझो रहने उनले बताए ।
यसपालि मनसुनले पनि साथ दिएकाले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धान खेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक रेग्मीको भनाइ छ । अहिले मलको अभाव नहुने पनि उनले जानकारी दिए । ‘समयमै पानी परेको छ, मल अभाव पनि अभाव हुँदैन,’ उनले भने, बाढी पहिरो नआउने र सुख्खा खडेरी पनि परेन भने अहिले उत्पादन अवश्य बढ्छ ।’ गत वर्ष ३ लाख ८० हजार टनको हाराहारीमा उत्पादन भएकोमा यो वर्ष ४ लाख टनभन्दा बढी हुने उनको आकलन छ । अन्य प्रदेशमा धान लगाउने बित्तिकै रोगको समस्या देखिए पनि गण्डकी प्रदेशमा कुनै समस्या नदेखिएको रेग्मीको भनाइ छ । ‘अरु ठाँउमा जस्तो धानका रोगको समस्या छैन, केही स्थानमा राइस हिस्ट्रको समस्या सुनिएको छ तर भयावह छैन,’ उनले भने, ‘केही जिल्लाहरुमा बाढी पहिरोको समस्या भने परेकै छ ।’

प्रदेशमा ४ लाख टन धान उत्पादन हुँदा २ लाख टन चामल तयार हुन्छ, जनतालाई वर्षैभरि यहीँको उत्पादले धान्दैन

ण्डकी प्रदेशमा ४ लाख टन नै उत्पादन भए पनि प्रदेशका जनतालाई वर्षैभरि यहींको उत्पादले धान्दैन । रेग्मीका अनुसार यहाँ उत्पादित धानबाट २ लाख टनमात्र चामल बन्छ । ‘६८ को जनगणना अनुसार प्रदेशभरि २५ लाख जनसंख्या छ, अहिले बढेर २७ लाखको हाराहारीमा पुगिसक्यो होला,’ रेग्मीले भने, ‘एउटा मानिसले १ वर्षमा २ सय १ किलो खाद्यान्न खान्छ, यसरी यहाँको उत्पादनले कहाँ पुग्छ ।’ प्रदेशमा चामलका लागि बाहिरी जिल्लाकै भर भए पनि पछिल्लो समय धान खेतीतर्फ किसानहरु आकर्षित भइरहेको उनले जानकारी दिए ।
प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान खेती हुँदैन । यसबाहेक म्याग्दीको अधिकांश क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएका कारण पनि कम मात्रामा धान उत्पादन हुन्छन् । म्याग्दीको ३ हजार ८ सय ५० हेक्टर धान खेती हुने क्षेत्रमध्ये ९५ प्रतिशत अर्थात् ३ हजार ६ सय ५७ हेक्टरमा रोपाइँ भइसकेको छ । । म्याग्दीको बेनी, रघुगंगा, मंगला, धवलागिरि र मालिकाका केही वडालाई धानको प्रमुख पकेट क्षेत्र मानिएको छ । प्रदेशको धान खेती हुने ९ जिल्लामध्ये सबैभन्दा बढी नवलपुर र बागलुङमा ९८÷९८ प्रतिशत सकिएको छ । नवलपुरको गैंडाकोट, मध्यविन्दु, बुलिङटार, विनयी त्रिवेणी र कावासोतीलगायत पालिकालाई धानको पकेट क्षेत्र मानिन्छ भने बागलुङको गल्कोट, निसीखोला, ढोरपाटन, काठेखोला र जैमिनी धानको पकेट क्षेत्र हुन् ।
सबैभन्दा बढी कास्कीमा २६ हजार ८१ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लाको ठूलीबेंसी, आर्वा, टाकान्जा, पामे, लेखनाथ, लाचोक, घाचोकलाई धानको पकेट क्षेत्र मानिएको छ । त्यसपछि भने नलवपुरमा २० हजार ६ सय ७० हेक्टरमा धान लगाइन्छ । उत्पादनका हिसाबले भने नवलपुर अग्रस्थानमा छ, त्यसपछि कास्की र स्याङ्जामा बढी उत्पादन हुन्छ । कास्की र स्याङ्जामा ९५/९५ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा कम धान खेती गोरखामा ९० प्रतिशत भएको छ । यसैगरी लमजुङमा ९२ र तनहुँमा ९३ प्रतिशत रोपाँइ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads