सामूहिक पहलबाट विकास सम्भव : नगर प्रमुख खाँण

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
waling nagar news

वालिङ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताएका छन् । वालिङ नगरले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाले गत आव २०७७/०७८ मा गरेका कार्यको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी सबैको सामूहिक पहल आवश्यक रहेको बताएका हुन् ।

अघिल्लो आवमा भएका गतिविधिको तथ्यांक तुलना गर्दै आगामी आवका योजना बनाउने र त्यसको कार्यान्वयनमा जोड दिँदै अगाडि बढ्नुपर्ने उनको सुझाव छ । ‘१४ वटै वडा र नगरस्थित रहेका विभिन्न शाखाले गरेका असल अभ्यास अनुकरण गर्दै आ–आफ्नो क्षेत्रमा रचनात्मक तवरले लागेमात्रै उपलब्धि देखिन्छ,’ नगर प्रमुख खाँणले भने, ‘यस अगाडिका तथ्यांकको तुलनात्मकरुपमा अध्ययन गरेपछि कहाँ छौं, कस्तो अवस्थामा छौं भन्ने जानकारी प्राप्त हुने र आगामी दिनमा लक्ष्य प्राप्तिका लागि नयाँ र रचनात्मक योजना बनाउँदै प्रगति हासिल गर्ने दिशामा अगाडि बढ्न सहयोग पुग्ने छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडागत तथा शाखागतरुपमा आएका असल अभ्यासलाई निरन्तरता र कमी कमजोरीलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताए । सो समीक्षा गर्ने कार्यले अहिलेसम्म अवस्थाबारे जानकारी भई अबका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पहिलो दिन नगरपालिकाका १४ वटा वडाका वार्षिक प्रगतिबारे वडा सचिवले प्रगति विवरण प्रस्तुत गरेका थिए । आइतबार नगरपालिकाअन्तर्गत विभिन्न शाखा प्रमुखले प्रगति विवरण प्रस्तुत गर्ने छन् । समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धि अभिलेखरुपमा राख्नुका साथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्ने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width