Worldlink ads

चामे सडक खोल्न दिनरात काम

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
mangnag

पोखरा  । डेढ महिनादेखि ठप्प वेंसिसहर–चामे सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । डुम्रे–वेंसिसहर–चामे सडक आयोजनाले पहिरोका कारण अवरुद्ध सडक सुचारु गराउन मर्मत गरिरहेको छ । असार पहिलो साता पठाइएको एक्साभेटर र लोडर अहिले मनाङको सिमाना म्यार्दी पुगेको छ । ६५ किमी सडकमध्ये ३५ किमी काम भैसकेको जनाइएको छ । त्यसमध्ये खर्खरे भिर र रामबजार क्षेत्रमा पानी पर्ने वित्तिकै बन्द हुन्छ । आयोजनाले यी २ स्थानमा एक्साभेटर अलर्टमा राखेको छ । ‘तीन वटा एक्साभेटर र एउटा लोडर फिल्डमा छ । सबै मेसिन सरकारी हो,’ आयोजना प्रमुख अमित श्रेष्ठले भने, ‘दिनरात काम गरिरहेको छ ।’
आयोजनाले असारदेखि नै काम गरे पनि वर्षाका कारण काम गर्न सकस भइरहेको जनाएको छ । ‘असारबाटै सुरु गरेका हौं । निरन्तर काम भैरहेको छ । अहिले मनाङको सिमाना पुगेका छौं,’ उनले भने, ‘दिनहुँ पानी परिरहन्छ । कच्ची सडक यस्तै हो । दिउँसो खोल्ने, राति पुर्ने भइरहेको छ ।’ उनका अनुसार अहिले लमजुङतर्फको सडक खोलिसकिएको छ । ‘एक्साभेटर अहिले म्यार्दीमा छ । अझै केही दिन त्यहाँको भिर पन्छाउन लाग्छ,’ उनी भन्छन्, ‘त्यहाँबाट कटेपछि फटाफट काम हुन्छ । पानी नपरेको भए ठ्याक्कै भन्न सकिन्थ्यो । चामे पुग्न अझै धेरै समय लाग्छ ।’ मौसम राम्रो भए २ साताभित्रै चामेसम्म गाडी चलाउन मिल्ने हुन्छ ।
धेरै ठाउँमा सडकको ट्रयाक नै बगेको कारण रि–रुट गर्नुपर्ने अवस्था छ । श्रेष्ठले म्यार्दीबाट सिधैं बगरछापसम्म नयाँ ट्रयाक खोल्नुपर्ने बताए । ‘बजारहरु बगेका छन् । बस्ती छैन । भएको सडक पनि त्यही ट्रयाक लामो समय चल्ने अवस्था देखिंदैन,’ उनी भन्छन्, ‘बरु रि–रुट गर्न पाए धेरै समय टिक्थ्यो होला । तर अहिले नै सजिलो छैन ।’ ट्रयाक परिवर्तनका लागि अध्ययन सुरु गर्नुपर्ने उनको धारणा छ । आयोजनाले डुम्रेदेखि चामेसम्म २१ मोटरेबल पुल बनाउनुपर्ने प्रस्ताव गरेको छ । अघिल्लो वर्षको रातो किताबमै योजना परेपनि कार्यान्वयनमा आएको छैन । यो सडक खण्डमा पक्की पुल खासै छैन । केही खोलामा बेलिब्रिज राखिएको छ भने कतै काठको पुल तरेर गाडी वारपार गरिन्छ ।

जेठ २४ र असार १ को बाढीले वेंसिसहर–चामे सडक ध्वस्त भएको हो

‘डिपिआर भएको छैन । ‘काठे पुल चलनचल्तीमा छ । माग गरेको २१ वटा पुल छ । तर त्यसको अध्ययन सकिएको छैन,’ उनले भने, ‘सेनाले बनाउँदा काठ र बेलिब्रिज बनायो । अहिले रिप्लेस गर्नुपर्ने छ ।’ जेठ २४ र असार १ मा बाढीले वेंसिसहर–चामे सडक ध्वस्त छ । सडक खुलाउन सेनाको विज्ञ टोलीले रेकी गरेर फर्केको छ । जिल्लास्थित सरकारी निकायले पनि स्थलगत अध्ययन गरेर प्रतिवेदन संघ र प्रदेश सरकारमा पठाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले १ अर्बभन्दा बढीको क्षति अहिलेको बाढीबाट भएको बताए । ‘अनुमानमात्रै हो । क्षति त अझै धेरै भएको होला,’ प्रजिअ लामिछाने भन्छन्, ‘मान्छे बस्ने घर छैन । सरकारी अड्डा पनि बग्यो । जता हे¥यो उतै भत्केको छ, बगेको छ ।’ चामे पुगेपछि त्यहाँबाट माथि जाने सडक पनि खोल्नका लागि पहल भैरहेको उनले सुनाए ।
अहिले मनाङ सदरमुकाम चामेदेखि माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएका कारण दुई क्षेत्रबीच सम्पर्क टुटेको छ । मोटरेबल पुल पनि उच्च जोखिममा परेको छ । जिल्ला सरकारी टोलीको प्रतिवेदन अनुसार ताल र सिरानताल क्षेत्रको बस्ती नै स्थानान्तरण गर्नुपर्ने सुझाव छ । दुवै गाउँ मस्र्याङ्दी नदीको किनारमा छन् । त्यसैले बढी क्षति भएको हो । मस्र्याङ्दीको बाढीले नाशों गाउँपालिकाको भवन समेत बगाएको छ । अहिले पालिकाको अस्थायी कार्यालय लमजुङ सदरमुकामबाट सञ्चालन गरिएको छ । विद्युत्, खानेपानी, सडक, सञ्चार सबै क्षेत्र अस्तव्यस्त भएको छ । प्रदेश सरकारको सहयोगमा सरकारी कार्यालयहरुमा सोलारमार्फत बिजुली वितरण गरिएको छ । जिल्लामा अहिलेसम्मकै ठूलो क्षति हुने गरी आएको बाढीले मानवीय क्षति टरे पनि ठूलो परिणाममा भौतिक क्षति हुन गएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads