गण्डकीमा ९२ प्रतिशत निको

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो । बुधबार गण्डकीमा ३ सय ७६ जना निको भइ घर फर्केका थिए । प्रदेशभर हालसम्म ६१ हजार ४ सय ३ जना कोरोनामुक्त भएका छन् । निको हुने प्रतिशत प्रदेशमा ९२ प्रतिशत हुन आउँछ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार ४ सय २७ संक्रमित थपिएका छन् । योसँगै प्रदेशभर संक्रमितको कुल संख्या ७७ हजार ७ सय १६ पुगेको छ । अघिल्लो दिन बुधबार ६ सय २५ र मंगलबार ५ सय ५९ जना संक्रमित भएका थिए । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा १ सय ६८ जनामा संक्रमण देखिएको छ । जिल्लामा हाल सक्रिय संक्रमित झण्डै १७ सय छन् । कास्कीमा ४ सय ५६ जना कोराना संक्रमितको मृत्यु भैसकेको छ ।
पछिल्लो ३ दिनको तुलनामा प्रदेशमा बिहीबार संक्रमित संख्या कमी भएको हो । त्यसो त १ हजार ९५ पिसिआर परीक्षणमा झन्डै ३९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोले सन्तोष मान्ने अवस्था छैन । किनकि मृत्यु हुनेको संख्या पछिल्ला दिनमा क्रमशः बढ्दो छ । बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकोमा बिहीबार थप ९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै प्रदेशमा १ हजार ८३ जनाले ज्यान गुमाएका छन् । पर्वतका थप ५ मृतकको तथ्यांक अद्यावधिक गर्दा बिहीबार मृतकको तथ्यांक एक महिनायता सबैभन्दा उच्च हुन गएको हो । जसअनुसार पर्वतका ६, तनहुँ, कास्की र बागलुङका १/१ जना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
तनहँु शुक्लागण्डकी १ की ७१ वर्षीया महिलाको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । उनमा सोही दिन कोरोना पुष्टि भएको थियो । पर्वत कुष्मा १२ का ६८ वर्षीय पुरुषको बुधबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गयो । उनमा असार १७ मा कोरोना देखिएको थियो । पोखरा १६ का ३० वर्षीय पुरुषमा साउन १० मा कोरोना पुष्टि भएकोमा बिहीबार सोही अस्पतालमा ज्यान गयो । बागलुङको बागलुङ नगरपालिका ३ का ८६ वर्षीय पुरुषको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भयो ।
यसैगरी, स्वास्थ्य कार्यालय पर्वतको तथ्यांक अद्यावधिक गर्दै थप ५ जनाको मृत्यु भएको जनाइएको छ । जसमा कुष्मा १ का ७५ वर्षीय पुरुषको वैशाख १२ मा, जलजला ७ का ५२ वर्षीय पुरुषको जेठ २० मा, मोदी २ की ६५ वर्षीया महिलाको असार १६ मा, पैंयु ४ का ४० वर्षीय पुरुषको वैशाख २८ मा र फलेबास १० का ७५ वर्षीय पुरुषको असार ३० मा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width