सार्दिखोला स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
oxygen

पोखरा । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले कास्कीको माछापुच्छ्रे २ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई २ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको छ । एनआरएनएले कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताको कन्सन्ट्रेटर सहयोग गरेको हो ।
एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) को विशेष पहलमा माछापुच्छ्रे गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सार्दिखोला स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सार्दिखोला स्वास्थ्य चौकीमा १० शैश्याको आइसोलेसन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ ।
स्वास्थ्य चौकी इन्चार्ज अनिता घिमिरेले आइसोलेसनमा भर्ना भएका ३० जनामध्ये ६ जनालाई पोखरा रेफर गरिएको र बाँकी निको भएर घर फर्किएको बताइन् । उनका अनुसार आइसोलेसनमा २ संक्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नोतर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाएको जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकोमा गण्डकीमा १५ थान रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width