भिडले बढायो कोरोना जोखिम

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
corona damauli~ (1)

दमौली । व्यास २, गणेशमानचोकस्थित सांग्रिला डेभलपमेन्ट बैंक अगाडि ठूलो भिड लागेको छ । जात्रा झैं लाग्ने त्यो भीड सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकको हो । यस्तै प्रकृतिको भिड व्यास नगरपालिकाको सभाहलमा रहेको खोप केन्द्रमा पनि देखिन्थ्यो ।
कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन खोप लगाउन छुट भएका लक्षित वर्गका व्यक्तिलाई नगरपालिकाको सभाहलमा खोप लगाइएको थियो । जहाँ ५० वर्षमाथिका तर पहिलो मात्रा पनि नपाएका नागरिक, खोप लगाउन छुट सबै शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी, सार्वजनिक यातायात चालक तथा सहचालक, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति थिए ।
यी दुवै ठाउँ कोभिड संक्रमणको जोखिमयुक्त क्षेत्र थिए । जिल्ला कोभिड व्यवस्थापन समितिले वैशाख २२ देखि लागु गरेको निषेधाज्ञा जिल्लामा हालसम्म जारी छ । निषेधाज्ञा अवधिमा अनावश्यक भेला, जुलु तथा भिडभाड नगर्न आदेश छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड काम गर्दै सामाजिक दूरी कायम गर्न भनिएको छ । पसल व्यवसाय निश्चित समयमा खोल्न भनिएको छ । बैंकलाई कार्यालयको समयमा तथा आफ्नो अनुकूल मिलाएर खोल्न छुट छ ।
तर, खोप केन्द्रमा र बैंक तथा वित्तीय संस्थामा कोरोना संक्रमण फैलन नदिन न्यूनतम मापदण्डसमेत अपनाएको पाइँदैन । बैंकमा सामाजिक सुरक्षा भत्ताका लागि लाम लागेका ज्येष्ठ नागरिकलाई व्यवस्थित गर्न बैंक कर्मचारीसमेत छैनन् । झण्डै ५ सय मिटर नजिकको जिल्ला प्रहरी कार्यालयको समेत यसबारे कुनै चासो देखिँदैन । एक दर्जनभन्दा बढी बैंकका शाखा रहेको दमौली बजारमा यसै पनि अन्य दिनमा पनि भीडभाड रहन्छ ।
यही भिडमा भत्ता लिन पालो कुर्दै थिए, ऋषिङ ३ का ८२ वर्षीय धनबहादुर थापा । बिहान ९ बजे आएका उनले दिउँसो २ बजे बल्ल भत्ता बुझे । थापाले भने, ‘पहिला पहिला वडामा आएर बैंकले भत्ता दिने गथ्र्यो तर अहिले २ घण्टा लगाएर हिडेर बैंक आउनुपरेको छ ।’

कोरोना जोखिम न्युनिकरण गर्न खोप केन्द्रमा महिला पुरुषको लागि छुटाछुटै लाइन व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।

कका शाखा प्रबन्धक सन्तोष श्रेष्ठले भने, ‘सबै वडा कार्यालयसँग समन्वय गरेर वडाबाटै भत्ता वितरण गर्ने गरिएको छ । पहिरोले बाटो अवरुद्ध भएपछि बैंकबाटै भत्ता वितरण गरेका छौं ।’
ऋषिङ २ र ३ वडाको सामाजिक सुरक्षा भत्ता सांग्रिला बैंकले वितरण गर्ने गरेको छ । त्यस्तै अन्य बैंकले पनि जिल्लाका विभिन्न पालिकाका सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । खातामा भत्ता आएकै दिन पैसा निकाल्नपर्छ भन्ने सोचले बैंकहरुमा भिडभाड हुने गरेको बैंकर क्लब अफ तनहुँका सचिव सुदीप न्यौपाने बताउँछन् । उनले भने,‘पालिकाले सबै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता खातामा दाखिला गरेपछि आफ्नो आवश्यकता हेरेर निकाल्न सकिन्छ । निकाल्न कुनै समयावधि तोकिएको हुँदैन ।’ महालक्ष्मी बैंक दमौली शाखाका प्रमुख समेत रहेका न्यौपानेले भने, ‘खातामा भत्ता आएकै दिन निकाल्न पर्छ भन्ने सोच ज्येष्ठ नागरिकमा छ । त्यो सोच हटाउन सके यस्तो भिडभाडमा कमी हुने थियो ।’
त्यस्तै नगरपालिकाको खोप केन्द्रमा महिला पुरुषको लागि छुटाछुटै लाइन व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । तर स्वास्थ्य मापदण्डबिनै लाइन बस्दा कोरोना जोखिम झनै बढ्ने आँकलन धेरैले गरेका छन् । लामो समय लाइन बसेर ३ घण्टापछि बल्ल पालो पाएका व्यास २ का विष्णु श्रेष्ठले नगरपालिकाले लाइन व्यवस्थित बनाउन नसकेको गुनासो गरे । नगर स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले कोरोनाबाट बच्न खोप महत्वपूर्ण आवश्यकता बनेकोले भीडभाड थेप्न गाह्रो परेको बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width