हट्यो दोहोरो थ्रेस होल्ड : जनमोर्चा र जसपालाई दलीय मान्यता

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
Gandaki Pradesh Sabha

पोखरा । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको दोहोरो थ्रेस होल्ड हट्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोहोरो मापदण्ड हटाउने निर्णय गरेको हो । प्रदेशसभामा पदाधिकारी र सदस्यको सुविधासम्बन्धी ऐनमा १० प्रतिशत थ्रेस होल्ड कटाएका दललाई मात्रै दलको हैसियत दिइएको थियो । साढे ३ वर्षपछि आएर मात्र त्यो व्यवस्था संशोधन गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिएको हो । संविधान अनुसार प्रदेशसभामा दलीय हैसियत पाउन डेढ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ । दलीय हैसियत पाउन १ सिट प्रत्यक्ष जित्नैपर्छ । प्रतिनिधिसभाका लागि भने यस्तो थ्रेसहोल्ड ३ प्रतिशत कायम गरिएको छ । जनमोर्चा र जसपा दुवैले डेढ प्रतिशत थ्रेसहोल्ड कटाएका हुन् । जनमोर्चाले २ सिट प्रत्यक्ष जितेको छ भने जसपाले १ सिट जितेको छ । यहाँ दुवै पार्टीका १/१ जना समानुपातिक सांसद छन् ।
थ्रेस होल्ड हटाएसँगै दुवै पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक तोक्न र सोही अनुसार सुविधा लिन पाउने छन् । संसदीय दल भए पनि दुवैले दलअनुसार सुविधा पाएका थिएनन् । २०७४ सालमा बनाइएको प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिकसम्बन्धी ऐनमा सुविधाका लागि १० प्रतिशत थ्रेस होल्ड कायम गरेपछि जनमोर्चा र जसपा सुविधाबाट वञ्चित भएका थिए । नयाँ सरकार गठनका बेला तत्कालीन गठबन्धनमा दोहोरो थ्रेस होल्ड हटाउने समझदारी बनेको थियो । ‘अब गण्डकीमा कसैलाई पनि दोहोरो थ्रेस होल्ड लाग्दैन । जनमोर्चा र जसपाले पनि दलको सचेतक वा दलको नेताको हैसियतले सुविधा लिन सक्छन्,’ प्रवक्ता कुमार खड्काले भने, ‘मन्त्रिपरिषदले गरेको निर्णय प्रदेशसभामा पुगेपछि मात्रै त्यहाँ छलफल भएर पारित गरिन्छ ।’ सरकारले गरेको निर्णय संसदमा पेस हुनेछ । संसदबाट बहुमतले पारित भएपछि यो नियम कार्यान्वयनमा आउने छ ।
राष्ट्रिय जनमोर्चाबाट खिमविक्रम शाहीलाई प्रदेशसभा मामिला सभापति बनाइएको छ । दलको नेता वा प्रमुख सचेतकको सुविधा भने पियारी थापाले पाउने छिन् । यसअघि ३ सांसद रहेको जनमोर्चा अहिले २ सांसदमा खुम्चिएको छ । सरकार गठनका बेला ह्वीप अटेर गरेको भन्दै कृष्ण थापालाई हटाइएको छ ।

थ्रेस होल्ड हटाएसँगै दुवै पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक तोक्न र सोही अनुसार सुविधा लिन पाउने छन्

२ सांसद रहेको जसपाका हरिशरण आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनेका छन् । दलको प्रमुख सचेतकको सुविधा अर्की सांसद धनमाया लामा पोखरेलले पाउने भएकी छिन् । दलको सचेतकले अरु सांसदको भन्दा ४ हजार रुपैयाँ मासिक बढी पारिश्रमिक पाउने छन् । निजी सचिवालय बन्दोबस्तीका लागि मासिक थप १७ सय ५० रुपैयाँ पाउने छन् । प्रतिमहिना ९० लिटर सवारी इन्धन पाउने छन् भने प्रत्येक ३ महिनामा ५ लिटर मोबिल उपलब्ध हुनेछ । दुवै पार्टीका सचेतकले १/१ वटा गाडी पाउने छन् ।
निर्णयपछि जसपा सांसद तथा मन्त्री हरिशरण आचार्यले मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया थिए । ‘वास्तवमा ठूला पार्टीले साना पार्टीलाई अन्याय गरेका थिए । हामीले न्याय खोजेको हो । न्यायका निमित्त संघर्ष गरेको कारणले सरकारले जुन निर्णय गरेको छ त्यसलाई स्वागत गर्छौं,’ उनले भने, ‘तर गठबन्धनका बेला भएका अन्य सहमति नजरअन्दाज गरिएको छ । यसको व्यवहारिक समीक्षा हुँदै जान्छ ।’ जसपाले १ वर्षअघि नै धनमाया लामालाई प्रमुख सचेतकको रुपमा निर्णय गरेर संसदलाई बुझाएको छ ।
जनमोर्चा संसदीय दलकी नेता पियारी थापाले सुरुदेखिकै आफूहरुको माग सम्बोधन भएको बताइन् । ‘सुरुमै हामीले दलको मान्यता दिनुस् भनेका हौं । ऐन बनाउने बेला पनि विरोध जनाएका थियौं,’ उनले भनिन्, ‘सच्याएर आएछ खुसीको कुरा हो । साना दललाई निस्तेज पार्ने गरी बन्देज लगाउनु हुँदैनथ्यो । ढिलै भए पनि सुधार भएको छ ।’ थ्रेस होल्ड कटाएर दलीय मान्यता पाएको पार्टीलाई पुनः थ्रेस होल्डबाट हटाउनु संविधानविपरीत भएको उनको तर्क छ । योसँगै सरकारले संसदीय दलका उपनेतालाई पनि पदाधिकारीको मान्यता दिन प्रस्ताव गरेको छ । यसअघि दलको उपनेतालाई पदाधिकारी मानिएको थिएन । अहिले उपनेतालाई पनि पदाधिकारीको हैसियत कायम गरिएको छ । पदाधिकारी भएवापत छुट्टै सुविधा वा पारिश्रमिक भने छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width