काेभिड नियन्त्रण र विपद् व्यवस्थापनमा मुख्यमन्त्री पाेखरेलकाे चासाे, ११ वटै जिल्लाकाे वस्तुस्थितिबारे लिए जानकारी

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७८
cm@ zoom meeting (8)

पोखरा । मन्त्रिमण्डलले पूर्णता पाएसँगै गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यसम्पादनलाई तीब्रता दिएका छन् । आइतबार र सोमबार उनले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षसँग जुम बैठक गरेका छन् ।

कोरोना संक्रमण दर बढ्दै गरेको अवस्थामा खोप व्यवस्थापनका साथै आगामी दिनमा गर्न सकिने कामका बारेमा उक्त अवसरमा छलफल भएको छ । बाढी पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनस्र्थापना गर्ने बारेमा समेत मुख्यमन्त्री पोखरेलले जानकारी लिएका छन् ।

कोरोनाविरुद्धको लडाइँ र विपदलाई सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताए । १८ वर्ष उमेरमाथिको समूहलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले प्रदेशको प्रयासमा नेपाल सरकारबाट नियमित रुपमा खोप प्राप्त भएको बताए ।

प्राप्त खोपलाई जनसंख्याको अनुपातका आधारमा वितरण गरी उमेर समूहका आधारमा खोप लगाइएको र बाँकी खोप प्राथमिकता तोकेर दिइएको पनि उनले बताए । अहिले विभिन्न समूह खोपका लागि माग गर्दै आएको अवस्थामा उमेर समूह नै वैज्ञानिक देखिएकाले त्यसै अनुसार वितरण गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘यो अभियानलाई निरन्तर दिँदै क्रमशः प्रदेशका सबै लक्षित समूहमा खोप पु¥याउने नीति लिएका छौं ।’

प्रदेशको भिन्न भौगोलिक संरचना र वर्षाद्को समयमा विपद जुनसुकै बेलामा आउन सक्ने भएकाले त्यसै अनुसारको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् । उनले भने, ‘सम्भावित विपद व्यवस्थापन रोकथाम र नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ विपद व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह र अन्य सबै सरोकारवालको भूमिका महत्वपूर्ण रहने भन्दै मुख्यमन्त्री पोखरेलले भर्चुअल बैठकबाट प्राप्त सुझावहरुको आधारमा प्रदेश सरकारले विपद व्यवस्थापन, अत्यावश्यक सामग्रीहरुको आपूर्ति र यातायात तथा ढुवानीको व्यवस्थापन गरिने उनले बताए । उनले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, सुरक्षाकर्मी र पालिका पदाधिकारीको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको खटाइ असाध्यै अनुकरणीय रहेको भन्दै अबका दिनमा आउने जोखिमबाट बच्न पनि थप सचेत हुनुपर्ने बताइन् । गण्डकी प्रदेशका १८ वर्ष माथिको उमेर समूह सबैलाई खोप पु¥याउँछौं भनिरहे पनि विभिन्न समूहको माग थेग्नै मुस्किल रहेको उनको भनाइ थियो । उनको भनाइ थियो, ‘खोपका लागि धेरैजना आत्तिनुभएको छ । हामी प्रयासरत छौं, संघीय सरकारको मापदण्ड नै वैज्ञानिक छ, त्यसैलाई अवलम्बन गर्नुपर्छ ।

प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका १ तिहाइ जनसंख्यालाई खोप उपलब्ध भइसकेको भन्दै बढीभन्दा बढी खोप ल्याउन आफूहरु प्रयासरत रहेको बताए । उनले भने, ‘प्राप्त खोपलाई केन्द्रको मापदण्ड अनुसार जुन उमेर समूहलाई भनिएको छ, त्यसै अनुसार आइदिन र उपलब्ध गराइदिन आग्रह गर्छु ।’ उनले खोप आफैमा औषधी नभएकाले स्वअनुशासन कायम गरी मापदण्ड पालना गरे जोखिम कम हुने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले उमेर समूह अनुसार खोप लगाउनक सकेमा प्रदेशका सबै नागरिकलाई उपलब्ध गराउन सकिने बताए । जिल्लाहरुको माग र जनसंख्याको अनुपातका आधारमा खोप पठाइएको भन्दै उनले दुर्गमका जिल्ला र पालिकामा हेलिकोप्टमार्फत् पनि खोप पु¥याइएको उनले जानकारी गराए ।

प्रदेश स्वास्थ्य निर्देशक डा. खीमबहादुर खड्काले उमेर समूह अनुसार खोप लगाउन सके अब ४५ देखि ४९ वर्ष उमेर समूहको पालो आउने बताए । पछिल्ला दिनमा हिजोभन्दा आज संक्रमणको दर बढेको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरे । उनले भने, ‘हिजो मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ । सिलिन्डरको व्यवस्थापन, बालबालिकाको उपचारका लागि कसरी गर्ने भन्ने बारेमा अब हामीले तयारी थालेका छौं । कास्कीको पोखरा, नवलपुरको कावासोती, देवचुली, स्याङ्जाको पुतलीबजार, चापाकोट, फेदीखोला, गोरखाको पालुङटार लगायत स्थानमा संक्रमण दर बढेको उनले बताए ।

आइतबारको जुम बैठकमा साविकको गण्डकी अञ्चल र सोमबार साविकका लुम्बिनीका जिल्ला र नवलपुर जिल्लाका प्रजिअ, सुरक्षा निकाय प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष लगायत सहभागी थिए ।

कार्यक्रममा सहभागी प्रजिअहरुले अहिले कोभिडको संक्रमण बढे पनि अस्पतालमा जानेको संख्या कम रहेको र अधिकांश होम आइसोलेसनमै रहेको बताए । कोरोना महामारीसँगै बाढी पहिरोको प्रकोप पनि उस्तै रहेकाले पुनस्र्थापनाका लागि प्रदेश सरकारले पहल गरिदिनुपर्ने बताए । अस्थायी रुपमा बनाइएका कच्ची सडकमा बाढी पहिरोको प्रभाव धेरै रहेकाले मर्मतसम्भार कसले गर्ने भन्ने दुविधा रहेको प्रजिअहरुको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width