ऋषिङका पहिरो पीडितलाई सिर्जनशीलको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७८
rising r ahat 2

दमौली । तनहुँको ऋषिङका बाढी पहिरो पीडित ४० घर परिवारलाई सिर्जनशील युवा मञ्चले राहत सामग्री वितरण गरेको छ । ऋषिङका बेग्लाबेग्लै ३ स्थानबाट प्रभावितलाई राहत सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष पवन पौडेलले जानकारी दिए ।
पोर्चुगलमा रहेका दमौलीवासी युवाका तर्फबाट २० बोरा चामल तथा प्रभावित अपांगता भएका परिवारका लागि राष्ट्रिय एकीकृत विकास संघ निडामार्फत् प्राप्त २० बोरा चामल तथा तेल र चौधरी फाउन्डेसनमार्फत् प्रधान सप्लायर्सले प्रधान गरेको चाउचाउ वितरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रकृतिले दिएको पीडामा मलम लगाउने काम गरिरहेको गाउँपालिकालाई शुभेच्छुकबाट प्राप्त साथ र सहयोगले हौसला मिलेको बताए । ‘हामी प्रभावितलाई आवश्यकताअनुसार स्थानान्तरण र अरु सहयोगका लागि तयार छौं,’ उनले भने । उनले ऋषिङलाई सम्झेर टाढा टाढाबाट सघाउने संस्था र पहल गर्ने मञ्चप्रति विशेष आभार प्रकट गरे ।
गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले यातायातको कठिनाइका बाबजुद गाउँमै राहत ल्याइपुर्‍याएको भन्दै आभार प्रकट गरिन् । वडाध्यक्ष जंगवीर आलेले धेरै परिवार प्रभावित भएकाले सबैलाई राहत दिन नसकिएको अवस्थामा मञ्चको पहलले मद्दत मिलेको बताए ।
मञ्चका अध्यक्ष पौडेलले कृषिबालीमा क्षति पुगेका परिवारलाई वैकल्पिक व्यवस्था नगरिए आगामी वर्ष खाद्यसंकट आउन सक्ने भन्दै क्षति भएको ठाउँमा पुन खेती हुने वातावरण तयार पारिदिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width