चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

सविन लामिछाने
श्रावण ११, २०७८
kapal news damauli

दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९ जना सदस्य । नेपालीले त्यही टंकीमा १५ वर्षदेखि कपाल काट्ने कामलाई निरन्तरता दिएका छन् ।
व्यावसायिक टंकीभित्र कैंची चलाउँछन् ४९ वर्षीय चन्द्रबहादुर नेपाली । आँबुखैरेनी गाउँपालिकाको भवन अगाडि गोरखा ३ बाट बिहान आएर दिनभरि सैलुन खुलाउँछन् नेपाली । साँझ घर फर्किन्छन् उनी । उनलाई एकताका लाग्थ्यो, पैसा कमाउन त विदेश नै जानुपर्छ । उनका धेरै दोस्ती–दौतरी अहिले पनि खाडीमा पसिना बगाइरहेछन् । तर, आफैंले व्यवसाय थालेपछि उनको विदेश जाने हुटहुटी हरायो ।
नेपाली भन्छन् ‘कपाल काटियो तर परिवारमा सधैं साथ जोडियोे ।’ कलिलो उमेरमै उनी पैसा कमाउन भारत हान्निए तर भनेजस्तो कमाउन सकेनन् । सँगै गएका साथीहरू छोडेर एक्लै घर फर्किए । त्यसपछि खाडीतिर गएर कमाउने सोच पनि पलायो । तर, विदेश गएकाहरूले पाएको अथाह दुःख सम्झेर गाउँमा हुँदा सिकेको कपाल काट्ने सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन आफन्तले सुझाए । आफन्तको सुझावले उनको जीवन अर्कैतर्फ मोडियो । विदेशिएर दुख गर्नुभन्दा आफ्नै सीप उपयोग गर्ने र परिवारको साथमा रमाउन पाउनु ठूलो आनन्द भएको उनी बताउँछन् ।

मासिक भाडा डेढ सय
पहिले बाध्यताले थालेको कपाल काट्ने काम अहिले कमाउने र रमाउने माध्यम बनेको छ । उनी गर्वका साथ भन्छन्, ‘कमाउन विदेश नै जानुपर्छ अथवा यहाँ काम नै पाइँदैन भन्ने गलत रहेछ । मेहनत गर्न सके सफलता अवश्य हात लाग्छ ।’ अहिले उनले मासिक २५ हजारदेखि ३० हजारसम्म कमाइ गर्छन् । तर सैलुन चलाउन टंकी राखेबापत् उनी मासिक डेढसय भाडा तिर्छन् । खर्च अति नै न्यून, कमाइ भने सरकारी जागिरे नायबसुब्बासरह ।
दिनभरि उभिएर काम गर्नुपर्ने भएकाले ढाडमा केही समस्या आउला भनी डराए पनि अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या छैन । हातमा कैंची चलाउँदै पसलमा आउने ग्राहकले निकालेको प्रसंगमा कुरा थप्दै रमाइलो गफगाफसमेत गर्न रुचाउने यिनलाई देशको राजनीतिमा पनि खुब चासो छ । उनका ग्राहक धेरैजसो सरकारी कर्मचारी र स्थानीय नेता धेरै छन् । यसकारण उनको पसल एउटा भेटघाट हुने डबलीजस्तो बनेको छ । एकताका विदेश जान्छु भनेर खुट्टा उचालेका नेपालीले सोच परिवर्तन गरी आफ्नै घर नजिकै थालेको व्यवसायबाट घर–परिवारको दैनिक खर्च र आवश्यकता पूरा गर्न सम्भव भएको छ, उनको लगनशीलता र आन्दानीले उनका परिवार पनि खुसी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width