थुनिएको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
gurja khola

म्याग्दी ।  शनिबार दिउँसो पहिरोले थुनिएर ताल बनेको गुर्जा खोला बग्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा स्थित ठुलो गल्छिमा शनिबार दिउँसो खास्का पहाडबाट खसेको पहिरोका कारण थुनिएको म्याग्दी नदीको सहायक खोला गुर्जा खोला शनिबार रातिदेखि बग्न थालेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, वडा अध्यक्ष छन्त्यालले भने ,‘थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौं ।’ तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ ।

गुर्जा र चुरेन हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरि–४, मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ । पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ । दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन । किसानले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । धवलागिरि, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ । चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width