सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल

श्रीभद्र पौडेल
श्रावण १०, २०७८
sarangkot program photo

हेमजा । पोखरा १८ सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल थालिएको छ ।
जसअन्तर्गत सराङकोट टपमा ४० करोडको गुरुयोजनासहित शिवमन्दिर निर्माण कार्य यतिबेला अन्तिम चरणमा छ भने शनिबारमात्रै गणेश मन्दिरको शिलान्यास गरिएको छ ।
पछिल्लो पटक वि.सं. २०७४ मा सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको महायज्ञमा स्थानीय गोठादी निवासी स्वः रामबहादुर थापाले प्रतिबद्घता गरेको ११ लाखलाई आधार मानेर गणेश मन्दिर निर्माण अगाडि बढाउन लागिएको हो । जसको कुल लागत २३ लाख ७५ हजार छ । गजुरको सहित ३ तलामा मन्दिर निर्माण हुँदै छ ।
सराङकोटलाई पर्यटकीय क्षेत्रका अलावा धार्मिक अस्थाको केन्द्रका रुपमा देश विदेशमा चिनाउने मुख्य उद्देश्यका साथ गुरुयोजना बनाई पूर्वाधारको काम अगाडि बढाइएको हो । जसअनुसार त्यहाँको ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अनुसार हाल निर्माणको काम धमाधम भइरहेको छ ।
मन्दिरको शिलान्यास गर्दै गण्डकी प्रदेशका नवनियुक्त अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले सराङकोट पोखराको महत्वपूर्ण भूगोल भएको औंल्याउँदै त्यसलाई पर्यटकीयबाहेक धार्मिक क्षेत्रका रुपमा पनि चिनाउन पहल हुनु सकारात्मक भएको बताए ।
मन्त्री बरालले सराङकोटलगायत समग्र प्रदेशकै विकासका लागि आफ्नो पहल रहने पनि स्पष्ट पारे । ‘मेरो लागि मन्त्रालयको पहिलो अनुभव होः भर्खरमात्रै पदबहाली गरेको छु, केही दिन त मन्त्रालय बुझ्नै पनि समय लाग्छ होला’, मन्त्री बरालले भने ।
जनताले आफूलाई ठूलो जिम्मेवारी सुम्पिएको पनि उनले स्पष्ट पारे । त्यस्तै रचनात्मक सुझाव दिन पनि उनले आग्रह गरे ।
वडाध्यक्ष रणबहादुर थापाले आफ्नो जनप्रतिनिधिलाई मन्त्री पाएको भन्दै खुसी व्यक्त गरे । सराङकोटको लिफ्टिङ खानेपानीमा प्रदेश सरकारको यथेष्ठ सहयोगले फड्को मारेको औंल्याउँदै वडाध्यक्ष थापाले सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका हरेक क्रियाकलापमा पनि प्रदेश सरकारको चासो रहँदै आएको स्पष्ट पारे ।

कृष्ण मन्दिर शैलीमा शिव मन्दिर तथा दृश्यावलोकन केन्द्र निर्माण गर्न सम्पूर्ण निर्माण सामग्री र जनशक्ति पनि भक्तपुरबाटै ल्याइएको छ

धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले हालको प्रदेश सरकारमा कास्कीले ३ महत्वपूर्ण मन्त्रालय पाएकोमा खुशी व्यक्त गरे । उनले तत्काल सराङकोट टपमा शौचालय निर्माणको आवश्यकता पनि औंल्याए ।
कार्यक्रमका बीच वडावासीहरुले नवनियुक्त मन्त्री बराललाई फूल मालासहित बधाई दिँदै सम्मानसमेत गरेका छन् ।
हाल सराङकोट टपमा भक्तपुरस्थित कृष्ण मन्दिरको शैलीमा शिव मन्दिर तथा दृश्यावलोकन केन्द्र (भ्युटावर) निर्माण भइरहेको छ । मन्दिर निर्माणका लागि प्रयोग हुने सम्पूर्ण सामग्री र जनशक्ति पनि भक्तपुरबाटै ल्याइएको छ । त्यस्तै प्रवेशद्वार, बहुद्देश्यीय सामुदायिक भवन, हवन कुण्ड, रेलिङ राख्ने लगायत कार्य यसअघि नै सम्पन्न भइसकेका छन् ।
त्यस्तै सराङकोट टावरस्थित भूमे कालिका मन्दिर र भैरव मन्दिरको सामान्य स्तरोन्नतिको सोचसमेत राखिएको छ । जहाँ महाशिवरात्रि, तीज, बालाचर्तुदशीलगायत पर्वमा पूजाआजा हुने गर्दछ ।
त्यहाँ म्युजियम र बुद्घ मन्दिरको अवधारणलाई पनि अगाडि बढाइने भएको छ । जसअनुसार बुद्घ मन्दिर मुस्ताङ निवासी आरटी विष्टले निर्माण गरिदिने संकल्प गरेका छन् ।
समितिको स्वामित्वमा रहेको त्यहाँको कुल ५६ रोपनी क्षेत्रफलमा हाल पूर्वाधार निर्माणतर्फका काम धमाधम भइरहेको छ । ४० करोडको गुरुयोजना मध्ये हालसम्ममा करिब २० करोड हाराहारीको कार्य सकिएको छ ।
शिव मन्दिरमा तामाको पातामार्फत् छाना मोड्ने काम पनि हुँदै छ । जसको लागत ३ करोड छ । त्यस्तै १ सय ८ शिवलिंग स्थापनाको लक्ष्य पनि राखिएको छ । अबको डेढ वर्षभित्र गुरुयोजनामा भएका सम्पूर्ण पूर्वाधार निर्माण सक्ने तयारी पनि समितिको छ ।
त्यसका साथै सेदी सराङकोट निर्माण भएको केबलकारले पनि धार्मिक पर्यटनमा टेवा पुग्ने समितिको विश्वास छ । सबै संरचना निर्माणपछि नियमित सिजनको अवस्थामा दैनिक २ हजार बढी पर्यटक सराङकोट भिœयाउने योजनामा पनि समिति रहेको छ ।
सराङकोटमा विशेष गरी सूर्योदय हेर्न पर्यटक पुग्ने गर्छन् । त्यसका साथै त्यहाँबाट विभिन्न हिमशृंखला, फेवाताल लगायत कास्कीको अधिकांश भूगोल पनि देख्न सकिन्छ ।
उक्त क्षेत्रको स्तरोन्नतिका लागि पोखराको बगर, बास्तोलाथर र काठमाडौंमा समेत गरि हालसम्म ५ महायज्ञ भएका छन् । जसअन्तर्गत वि.सं. २०७४ मा भएको पछिल्लो यज्ञबाट ६ करोड अर्थ संकलन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width