सकिनै आँट्यो पोखरा रंगशाला

धनबहादुर गुरुङ
श्रावण १०, २०७८
rangasala 6

पोखरा । पोखरा रंगशाला निर्माण ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो । दोस्रो भेरियन्टको कोरोना लहर सुरुसँगै वैशाख १५ बाट कास्कीमा निषेधाज्ञा लागु गरिएको थियो । तैपनि त्यसको ५ दिनपछि निषेधाज्ञाबीच फुटबल स्टेडियम निर्माण पुनः सुरुआत गरिएको पोखरा रंगशालाका प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बरालले जानकारी दिए ।
रंगशालाको लागत करिब १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । १६ हजार ५ सय दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला ४ महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भए पनि लामो समय रंगशालाको ढाँचा तयार नहुँदा ढिलाइ भएको थियो । भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले रंगशालाको काम गरिरहेको छ ।
बजेट अभाव र कोरोना महामारी देखाउँदै यसअघि पटक पटक स्थगित हुँदै आएको रंगशालामा छाना हाल्ने काम सकिएको छ । इञ्जिनियर बरालका अनुसार निषेधाज्ञाकै समयमा विशेष पास बनाएर भारतीय कामदार ल्याइएको थियो । उनीहरूलाई क्वारेन्टिनमा राखेर नेगेटिभ सुनिश्चितपछि मात्र काममा लगाएको उनले जनाए । भिआइपी प्यारापिट माथि जडान फेब्रिक (छाना) पानीले नबिगार्ने र ५० वर्षसम्म टिकाउ हुने उनले बताए ।
बारम्बार निर्माण अवधि थप्दै गत असार मसान्तसम्म निर्माण पूरा नभएपछि पुनः ६ महिना थपिएको छ । अब यसै वर्षको दसैंसम्म काम सक्ने कम्पनीको दाबी छ । सम्झौता बमोजिम स्टेडियम वरिपरि कालोपत्रे गर्न नाला बनाउने काम भइरहेको छ । नाला बनाउने सहित १६ वटा ट्वाइलेट ब्लकको फिनिसिङको काम बाँकी छ । साथै फुटबल मैदानमा भिआइपीतर्फको काम र कार्यालयदेखि चेन्जिङ रुमसम्मको कामसहित प्यारापिटतर्फ रहेका ट्वाइलेट बनाइने जनाइएको छ । निर्माणका लागि आवासीय सुविधासहित हाल पनि ४० जना कामदार निरन्तर खटिएका छन् ।

करिब १ अर्ब २८ करोड रुपैयाँ लागतमा रंगशाला निर्माण हुन लागेको हो

रंगशाला बनाउन २०७५ पुस १३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्झौता भएको थियो । ६ महिनाभित्र स्टेडियम बनाउनुपर्ने सम्झौतामा उल्लेख भए पनि २ महिना ढिलो काम सुरु भएको थियो । रंगशालाको पूर्वी भागमा ५ हजार २ सय ६८, पश्चिममा ३ हजार ८ सय १४, उत्तरमा ३ हजार ४ सय ४४ र दक्षिणमा ३ हजार ६ सय ९० सिट (कुर्सी) जडान गरिएको छ । त्यसैगरी, अति विशिष्ट कक्ष (भिभिआइपी) मा २८, विशिष्ट कक्षमा २ सय २८ तथा अशक्तका लागि २८ सिट जडान गरिएका छन् । निर्माणाधीन रंगशालामा यसअघि २ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भइसकेको छ ।
राखेपकै योजना अनुसार प्यारापिटमा सिट संख्या बढाएर २० हजार सिट क्षमता पु¥याउने योजना थियो । तर अहिलेसम्म त्यसको कुनै जानकारी नआएको इन्जिनियर बरालले बताए । ‘२० हजार सिट क्षमता बनाउने कुरा त चलेको हो तर अहिलेसम्म माथिबाट कुनै जानकारी आएको छैन,’ उनले भने, ‘हामीले पहिलाकै सम्झौता अनुसार काम गरिहेका छौं ।’ उनका अनुसार १६ हजार ५ सय सिट क्षमताको रंगशाला बनाउने सम्झौता भएको थियो । २०३९ सालमा निर्माण गरिएको फुटबल रंगशालाको विशिष्ट कक्ष २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । अघिल्लो वर्ष नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) लक्षित गरी पोखरामा रंगशालासहित खेलकुदका भौतिक पूर्वाधार निर्माण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width