जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
ramji baral 2

पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । सादा जीवन उच्च विचारका धनी बराल शुक्रबार प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।
पोखरा २२, पुम्दीभुम्दीमा २०२३ साउन २३ मा जन्मिएका उनी प्रवेशिका परीक्षा उत्तीर्णसँगै राजनीतिमा सक्रिय भए । ०४२ सालमा तत्कालीन मोटो मशालको विद्यार्थी संगठनमा आवद्ध भई स्थानीय शुक्रराज मावि इकाइ कमिटी अध्यक्ष हुँदै कम्युनिष्ट राजनीतिमा सक्रिय हँुदै आएका उनी प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए ।
सबैखाले विभेदविरुद्ध खरो विरोध गर्ने स्वभावका उनी सहीद, उनका परिवार र वेपत्ताको विषयमा सधैँ चिन्ता लिन्छन् । स्थानीय महेश्वरी प्राविबाट अध्ययन प्रारम्भ गरेका बरालले २०४३ सालमा शुक्रराज माविबाट प्रवेशिका उत्तीर्ण गरेका थिए । उनी भन्छन्, ‘आज मेरो यो यात्रासम्म आउनुमा पार्टीको देन हो । पार्टी भनेरै म घरपरिवारसमेत छाडेर परिवर्तनको लागि जनयुद्धमा होमिएको थिएँ ।’
२०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी ०४८ सालमा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइ अध्यक्ष र ०४९ मा जिल्ला सदस्य बने । ०५१ सालमा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णयले उनलाई असाध्यै खुसी बनायो । उनले भने, ‘जनयुद्ध सुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सिमै रहेन, त्यसपछि मात्रै पार्टीप्रति विश्वास लाग्यो र मैले मुक्तिको सपना देख्न थालें ।’
उनी ०५३ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता बने । त्यसपछि तत्कालीन नेकपा (माओवादी) इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य बने । कास्कीमा पार्टीलाई सक्रिय बनाउनुमा उनको महत्वपूर्ण योगदान छ । उनले माओवादी आन्दोलन उचाइमा पु¥याउन आफ्नोतर्फबाट कुनै कसर बाँकी राखेनन् । ०५७ सालमा पर्वत सेक्रेटरी हुँदै २ वर्षपछि सेक्रेटरीसहित इन्चार्ज जिम्मेवारी लिएर गृहजिल्ला फर्किए । तत्कालीन एकीकृत माओवादीमा पोलिट्व्यूरो सदस्यसमेत बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार थिए । ०७४ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की ३ (क) बाट निर्वाचित हुन सके । बराल हाल माओवादी केन्द्र संसदीय दल उपनेता र सार्वजनिक लेखा समिति सदस्यको जिम्मेवारीमा छन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारमा शुक्रबार ११ सदस्यीय मन्त्रिमण्डल बिस्तार भएको छ । त्यसमध्ये कांग्रेस ५, माओवादी ४, जसपा र स्वतन्त्रले १÷१ मन्त्रालय लिएका छन् । कास्कीले बरालसहित यसपालि ३ मन्त्री पाएको छ । जसमा भौतिक पूर्वाधार मन्त्री कुमार खड्का र सञ्चारमन्त्री बिन्दुकुमार थापा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width