जीवन प्रकाशमय बनाउन गुरुपरम्परा : प्रदेश प्रमुख पौडेल

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
pradesh pramukh

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरुपी प्रकाशले अन्धकार चिरेर जीवन प्रकाशमय बनाउन गुरु परम्पराको महत्वमा जोड दिएकी छन् । उनले हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञान पालना गर्न सके जीवन सार्थक हुने बताइन् ।
गुरुपूर्णिमा अवसरमा मानव मिलन संस्था पोखराले आयोजना गरेको समारोहमा प्रदेश प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै गुरु परम्परा प्राचीन सनातन परम्परा रहेको बताइन् ।
द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासरत रहेको स्मरण गराउँदै उनले ज्ञान हासिल गरेपछि त्यो ज्ञानको पूर्ण पालना गरेर जीवनलाई ज्योर्तिमय बनाउन सकेमात्र गुरुप्रतिकोे सच्चा सम्मान हुने धारणा राखिन् ।
दिनप्रतिदिन बढ्दो सामाजिक द्वन्द्व निरुपण गर्दै मानव–मानवबीचको सम्बन्ध प्रगाढ बनाएर समानता सहिष्णुता र सहअस्तित्वका साथ अगाडि बढ्न आध्यात्मिक जगतको भूमिका महत्वपूर्ण हुने उनकोे भनाइ थियो ।
कार्यक्रममा डा. मणिभद्र मुनिजी महाराजले गुरु बन्नुभन्दा पहिला असल शिष्य हुन जरुरी रहेको बताए । उनले भने, ‘सबैलाई गुरु हुन मन पर्छ तर शिष्य भएर नियम पालना गर्न कठिन छ । शिष्य भएर गुरुले दिएको सन्देश पालना गर्न सके मात्र जीवनमा सत्मार्ग भेटिन्छ ।’ उनले मानवले आफ्नो क्षणिक स्वार्थको लागि हिंसाको बाटो अपनाउँदै गएको जनाउँदै आचरण बदलेर सुन्दर शान्त समाजमा रमाउन मानवजगतलाई आग्रह गरे । जस्तो दृष्टि, उस्तै सृष्टि हुने भएकाले सकारात्मक सोच राख्न उनकोे सुझाव दियो ।
कार्यक्रममा मानव मिलन अन्तर्राष्ट्रिय महिला अध्यक्ष कुसुम जैन र मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्माले गुरु पूर्णिमाको महत्व र मुनिजिको चतुर्मास प्रवेशबारे बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width