निषेधाज्ञा १५ दिन थप

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
luckdown

स्याङ्जा  । स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले १५ दिन निषेधाज्ञा थप गर्दैै साउन २२ सम्म लम्बाउने आदेश दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केही कमी आएको भए तापनि सक्रिय संक्रमितको पूर्णरुपमा चेन ब्रेक नभइसकेकोे भन्दै निषेधाज्ञाको अवधि थप गरेको हो ।
वैशाख २१ देखि सुरु निषेधाज्ञा पटकपटक थप गरिँदै आएको छ । यसपालि केही खुकुलो पारिएको छ । जिल्लाका पसल बिहान ५ देखि साँझ ७ बजेसम्म खुला राख्न सकिने र अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन जारी आदेश पत्रमा उल्लेख छ ।
विवाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जना व्यक्तिको सहभागितामा घरमै गर्न सकिने भएको छ । मठ, मन्दिर तथा विभिन्न धार्मिकस्थलमा नित्य पूजाबाहेक अन्य पूजा गर्न पाइने छैन ।
प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल, नाँचघर, क्लब, ब्युटीपार्लर, सैलुन, गोष्ठी, सेमीनार, सभा, सम्मेलन, सेमिनार र मानिसहरु भेला भई कार्यक्रम तथा अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन । तर, होटल रेष्टुरेन्ट तथा चिया पसलबाट केक अवे सेवा सञ्चालनमा रोक छैन । कोभिडको नयाँ भेरियन्ट स्याङ्जामा देखिएकाले विद्यालय र क्याम्पसले अनलाइन माध्यमबाट पठनपाठन गर्नु गराउनु पर्ने जारी निषेधाज्ञामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width