अग्रपंक्तिमा खटिनेलाई १ करोड भत्ता

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
finance minister ramji baral 2

हेमजा  । गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
शुक्रबार सपथपछि पदवहाली गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ ले मन्त्रालयले सो निर्णय गरेको जानकारी दिए । उक्त रकम भत्तामा खर्चिने पनि उनले स्पष्ट पारे । मानवजातिलाई नै चुनौती दिने कोरोना भाइरसविरुद्घ एकीकृत प्रयास आवश्यक रहेको पनि मन्त्री बरालको भनाइ छ ।
मन्त्रालयका कर्मचारीसँग भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले आर्थिक प्रणाली सुव्यवस्थित राख्न र आर्थिक अनुशासनमा ध्यान दिन निर्देशन दिए ।
आफूले जिम्मेवारी प्राप्त गर्नुमा सहिद, वेपत्ता, अपाङ्गता भएका व्यक्ति, घाइतेको प्रमुख हात रहेको स्पष्ट पार्दै मन्त्री बरालले पार्टी नेतृत्व र त्यसपछि पार्टीका नेता कार्यकर्ताले जिम्मेवारी सुम्पिएको पनि बताए । उनले आफू प्रतिनिधि पात्र मात्रै भएको भन्दै अर्थ मन्त्रालयको जिम्मेवारीलाई प्रभावकारी बनाउन सिंगो पार्टीपंक्ति लाग्नुपर्ने स्पष्ट पारे । चुनौती पार गर्दै भएपनि जिम्मेवारी पुरा गरी छाड्ने उनको दृढता छ ।
आफूले संघीयताको मर्म ठीक ढंगले जनतासामु लैजान प्रयत्न गरिरहेको जनाउँदै मन्त्री बरालले जनताले छिटो समृद्घि खोजेको तर त्यसको बाधक हाल कतिपय सन्दर्भमा प्राकृतिक प्रकोप हुँदै आएको बताए ।
मन्त्री बरालले आम्दानीका नयाँ बाटाको खोजी गर्नुपर्ने, समृद्घिका लागि पुँजीगत खर्च बढाउनुपर्ने, आर्थिक अनुशासनमा जोड दिनुपर्ने भन्दै सुशासनलाई कडाइपूर्वक पालना गराइने पनि स्पष्ट पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width