निषेधाज्ञामा साधारणसभा गर्ने पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८

नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञा उल्लंघन गरी साधारण सभा गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुप्सेकोट गाउँपालिकामा रहेको देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामी र सचिव भीमनारायण रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबारलाई तोकिएको संस्थाको साधारण सभा तथा अधिवेशन स्थगित गर्न जिल्ला प्रशासनले गरेको पत्राचारको अवज्ञा गरेको भन्दै संस्थाका अध्यक्ष पुलामी र सचिव रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ३ हजारभन्दा बढी उपभोक्ता रहेको खानेपानी संस्थाको साधारण सभामा हुने भीडको कारण कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै प्रशासन कार्यालयले सभा स्थगित गर्न पत्राचार गरेको थियो ।
तर प्रशासनको पत्रको अवज्ञा गर्दै भेला आयोजना हुन लागेको जानकारी प्राप्त भएपछि संस्थाका अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
साधारणसभासम्बन्धी जानकारी कार्यालयमा प्राप्त भएपश्चात् भेला आयोजना नगर्न अनुरोध र पुनः पत्राचारसमेत गर्दा अवज्ञा गरेपछि बिहीबारको भेला स्थगित गराउनको लागि अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको प्रजिअ पंगेनीले जानकारी दिइन् ।
भेला आयोजना गर्नु पूर्व नै अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएकाले उनीहरुविरुद्ध मुद्दा नै भने दायरा नगरिने पंगेनीले बताइन् । अप्रत्यासितरुपमा हुने भेला तथा कार्यक्रममा सम्भावित भीड नियन्त्रण गर्न गाह्रो भए पनि पूर्व निर्धारित कार्यक्रम अनुसार भेला तथा सभा आयोजना गर्नु निषेधाज्ञाको अवज्ञा हुने प्रशासनको ठहर छ ।

Related News

सम्बन्धित समाचार

hero news full width