पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको भागबण्डा मिलेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएको हो । नयाँ समीकरण अनुसार दुवै पार्टीले दाबी गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाएको छ । त्यसपछिका महत्वपूर्ण मन्त्रालयमा माओवादीले बाजी मारेको छ । भौतिकसहित शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय कांग्रेसले पाएको हो । कांग्रेसले मुख्यमन्त्री सहित ५ मन्त्रालय र माओवादीले ४ वटा मन्त्रालय पाएको छ ।
माओवादीलाई अर्थसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय परेको छ । भौतिकमा सहमति नजुटेपछि लामो समय गण्डकीको मन्त्रीपरिषद् विस्तार अड्किएको थियो । मन्त्रालयको बाँडफाँटसँगै माओवादीले तीनैजना मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ । संसदीय दलका उपनेता रामजी बरालको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुन लागेको हो ।
बरालले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् । कृषिमा बागलुङका सांसद चन्द्रबहादुर बुढामगर र वन मन्त्रालयको जिम्मेवारी स्याङजाका दीपक चर्तीमगरलाई परेको छ । माओवादीबाट मधुमाया अधिकारी गुरुङ यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । उनको मन्त्रालय हेरफेर नहुने माओवादीले जनाएको छ ।
कांग्रेसले खोजेको भौतिक मन्त्रालय पाएपछि यसअघि सामाजिक विकास मन्त्रीको काम गर्दै आएका कुमार खड्का भौतिकमा सर्ने बताइएको छ । त्यसबाहेक ३ वटा मन्त्रालय कांग्रेसले पाउने छ । तर मन्त्रीको नाम अझै टुंगिएको छैन । स्रोतका अनुसार स्याङ्जाका सांसद मेखलाल श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा कँडेल र तनहुँका दोवाटे विश्वकर्मा मन्त्री बन्ने पक्का जस्तै छ । तर कास्कीका विन्दुकुमार थापा र स्याङजाकै भागवत प्रकाश मल्ल पनि रेसमा छन् । उता महिला सांसदहरुले कम्तीमा एउटा मन्त्री महिलाले पाउनुपर्ने माग तेस्र्याएका छन् ।
महिला मन्त्री बने गोरखाकी मनकुमारी गुरुङ, पर्वतकी ललितकला गुरुङ र नवलपुरकी ओमकला गौतमको नाम अगाडि छन् । यसअघि दुईवटा मन्त्रालय दिने भनिएको जनता समाजवादीले एउटा मात्रै मन्त्रालयमा चित्त बुझाएको छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रीको कार्यभार सम्हालिरहेका छन् । तर जसपाले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । जसपालाई मन्त्रालय थप्ने विषयमा केन्द्रीय नेतृत्वले नै छिनोफानो गर्ने छन् । ‘यो जिम्मा केन्द्रमा छ । उताबाट मन्त्रालय दिनु भन्ने खबर आए दिन्छौं । नत्र अहिलेलाई एउटा नै भन्ने कुरा छ,’ प्रवक्ता कुमार खड्काले भने, ‘केन्द्रमा नेताहरु बीच छलफल भइरहेको छ । भोलि बिहानसम्म निर्णय आउला ।’ उनका अनुसार कांग्रेसका मन्त्रीबारे पनि अहिले नै निक्र्योल भएको छैन ।
माओवादीले सरकारमा सहभागीको नाम र मन्त्रालयसमेत टुंगो लगाएको छ
बुधबारको बैठकमा माओवादीले मन्त्रीको नाम नदिए शुक्रबार साँझ कांग्रेसको मात्रै मन्त्री थप्ने चेतावनी दिएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै पार्टीबाट मन्त्रीको नाम टुंग्याउन सकेनन् । कांग्रेसकै बिलम्बका कारण मन्त्रीको सपथ शुक्रबार हुने बताइएको छ । ‘पात्र टुंगिएको छैन । मुख्यमन्त्री ज्युले भोलि बिहान (शुक्रबार) सम्म नेतृत्वसँग सरसल्लाह गर्नुहुन्छ,’ खड्काले भने, ‘मन्त्रालय अनुसार मिल्ने व्यक्तिलाई पठाउने कुरा छ ।’
जनता समाजवादी पार्टीलाई दुईवटा मन्त्रालय दिनुपर्ने बाध्यता परे गण्डकीमा मन्त्रालय फुट्ने छ । अहिले ११ मन्त्रालय रहेकोमा १२ वटा पुर्याउने बताइएको छ । संविधानतः सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्छ । ६० सांसद रहेको यहाँ १२ जना मन्त्री बनाउँदा कानुनले छेक्दैन । ‘फुटाउने कुरा अहिले छैन । तर जसपालाई दुईवटै मन्त्रालय दिनुपर्दा एउटा थपिन्छ,’ उनी भन्छन्, ‘मुख्यमन्त्रीसँग भएको आन्तरिक मामिला मन्त्रालय फरक हुन्छ ।’ यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्तरिक मामिलाका विषय मुख्यमन्त्री मातहत हुनुपर्ने भन्दै गाभिदिएका थिए ।
शुक्रबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको सपथ खुवाउने आन्तरिक तयारी छ । योसँगै एक महिना अघि देखि अलमलमा रहेको मन्त्रिपरिषद् विस्तार करिब अन्तिम चरणमा पुगेको हो । गण्डकीको युवा तथा खेलकुदमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनिसकेका छन् । सुरुमा उनले भौतिक दाबी गरे पनि गठबन्धनमा गडबड हुने भएपछि खेलकुदमै तेस्रो पटक जिम्मेवारी लिएका हुन् । बिहीबार साँझसम्म मन्त्रीको नाम टुंग्याएर सपथ खुवाउने योजना भएपनि वार्ता मिल्न समय लागेकोले एक दिन लम्बिएको हो ।
Related News
सम्बन्धित समाचार
जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड
पोखराको काहुँडाँडामा भीषण आगलागी
आर्वामा भलिबल प्रतियोगिता हुने
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
hero news full width
मुख्य समाचार
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
चैत्र ५, २०८०सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
चैत्र ५, २०८०गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०