स्याङ्जामा ९० प्रतिशत रोपाइँ

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
ropain syangja

स्याङ्जा । स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफलको ९० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । खाली रहेका खेतमा साउन पहिलो साताभित्रै रोपाइँ भएको हो ।
चापाकोट र गल्याङ्तर्फका करिब ७ प्रतिशत र आँधीखोला फेदीखोला र पुतलीबजारका करिब ३ प्रतिशत भूभागमा मकै र चैते धान पाकिनसकेका कारण रोपाइँ हुन बाँकी छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले भने, ‘साउनको दोस्रो सातासम्ममा यस वर्षको धान रोपाइँ सकिन्छ ।’ उनका अनुसार १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
यसपटक छिट्टै पर्याप्त वर्षा भएका कारण किसानले समयमै धान रोप्न पाएका छन् । साउन अन्तिमसम्म रोपिने टारी खेत पनि यस पटक रोपिसकिएका छन् । सिँचाइ पुगेका खेतमा जेठदेखि रोपाइँ सुरु गरिन्छ । सिँचाइ सुविधा नपुगेका खेतमा पनि यसपटक नियमित आएको वर्षाले किसानलाई सहज बनाएको छ ।
स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धानका उर्बर क्षेत्र हुन् ।
यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्याङ्कोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगत्भञ्ज्याङ, गल्याङमा पनि धानको उत्पादन राम्रो हुन्छ ।
यसपटक जिल्लामा रामधान, सावित्री, सुनौलो सुगन्धा लगायत उन्नत जात र हाइब्रिड धान रोपिएका छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष धान रोपाइँका क्षेत्र केही बढ्ने अनुमान छ । जिल्ला गत वर्ष ५६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसपालि करिब ५९ मेट्रिक टन उत्पादन वृद्धि हुने ज्ञान केन्द्रको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width