कांग्रेसमा नेतृत्व लिन महिलाको अग्रसरता

सविन लामिछाने
श्रावण ७, २०७८
woman congress

दमौली । नेपाली कांगे्रसको वडा तहको अधिवेशन १२ साउनबाट सुरु हुने भएकाले चर्चा चुलिएसँगै चोक चोकमा अहिले नेपाली कांग्रेसको महाधिवेशनबारे बहस थालिएको छ । १६ साउनमा गाउँ–नगर अधिवेशन, २० साउनमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय तथा १ मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते हुनेछ ।
१ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने २६ साउनमा निर्वाचन हुने बताइएको छ । प्रदेशमा भदौ १ र २ गते तथा भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । अधिवेशनको मिति नजिकियो तर कोरोना कहर हटेन तर पनि कोठाचोटा, सामाजिक सञ्जाल र बाहिर निस्केको मौका छोपेर नेताहरुले अधिवेशनको बहस चलाउन थालेका हुन् । आफू निकटलाई भोट माग्नेलगायत काम थालेका छन् ।
महाधिवेशन सरगर्मी ७७ वटै जिल्लामा बढेको छ, तनहुँ पनि अछुतो छैन । नेताहरु गाउँ पस्दै छन् । कोही बाढी पीडित, कोरोना संक्रमित लगायतलाई राहत वितरण बहाना बनाएर भए पनि आफ्नो उपस्थिति सामाजिक सञ्जालमार्फत देखाइरहेका छन् । कोही नियमित रुपमा पार्टी संगठनमै छन् । नियमित काम गर्नेहरुले सामाजिक सञ्जाललाई महत्व दिएका छैनन् । वडा तहबाटै निर्वाचित भएर आएपछि मात्रै जिल्ला र केन्द्रमा जान पाउने कानुनी प्रावधान कांग्रेसमा छ । अघिल्ला अधिवेशनभन्दा यो अधिवेशनमा क्रियाशील सदस्यता दोब्बर बढेका छन् । त्यसैले अधिवेशन थप रोचक हुने अनुमान गर्न थालिएको छ । आफ्नो पक्षका के कति छन् भनेर उम्मेदवारले पहिचान गर्ने यो पहिलो मौका पनि हो ।
यसपटक कांगे्रसी महिलाले नेतृत्वको लागि अग्रसरता देखाएका छन् । जिल्लाको व्यास१३ बेलवासकी सिर्जना तिवारी महिला संघको वडा सभापति हुन् । कृषिसँगै राजनीतिमा सक्रिय तिवारी जिल्ला सदस्यमा उम्मेदवारी दिने तयारीमा छिन् । हाल कांगे्रसको जिल्ला सदस्यमा ६ जनामात्र महिला छन् । पार्टीको अहिलेको प्रावधानअनुसार अबको नयाँ समितिमा १९ जना महिला अनिवार्य रुपमा समितिमा राख्नुपर्नेछ । महिलालाई आक्षरणमा रुपमा भन्दा पनि क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने तिवारीको भनाइ छ । उनले भनिन्,‘महिलाको सहभागिताबिना विकास असम्भव छ । सबै वर्ग, लिंग र क्षेत्रका मानिसको सहभागिताबिना देश विकास हुनै सक्दैन । अझ त्यसमा पनि आधाभन्दा बढीको संख्यामा रहेका महिलालाई पाखा लगाएर त कुनै पनि काम सम्पन्न हुने परिकल्पनासमेत गर्न सकिन्न ।’ उनले अघि भनिन्, ‘ पार्टीको सभापतिमा पुरुष छ भने उपसभापतिमा महिला राख्न त सकिन्छ होला नि ? ’ कांगे्रसको महाअधिवेशन प्रतिनिधिसमेत रहेकी म्याग्दे गाँउपालिकाको अध्यक्ष मायादेवी रानाले अबको अधिवेशमा वडागत रुपमा महिलालाई सभापतिको रुपमा उठाउन खोजेकी छिन् । उनले भनिन्, ‘अबको महाधिवेशनबाट कांग्रेसको सुनौलो भविष्य निर्धारण गर्ने चुनौतीको अभिभारा बोक्ने नेतृत्व ल्याउनुपर्छ । अबको महाधिवेशनमा महिलाले प्रतिनिधित्वमात्रै होइन, नेतृत्व पनि पाउनुपर्छ ।’ व्यास ४ की नारायणी अधिकारीले पनि पार्टीमा सक्रिय रहेका र काम गर्न सक्ने क्षमता भएका महिलालाई अवसर दिन आवश्यक रहेको बताउँछिन् । उनले भनिन्,‘राजनीतिमा महिला–पुरुष सबैको समान पहुँच र समान अवसर आजको आवश्यकता हो । पार्टीभित्र महिलालाई संख्यात्मक रूपमा उपस्थित गराएर मात्र पुग्दैन, गुणात्मक र अर्थपूर्ण नेतृत्व चाहिन्छ ।’ उनले भनिन्,‘नेपाली समाजझैं पार्टीहरू पनि पितृसत्तात्मक चेतनाबाटै परिचालित छन् । महिला स्वयंले हाँकेको पार्टीको राजनीतिले त्यसको जरो हल्लाउन र उखेल्न सक्छ । कांग्रेसको आगामी महाधिवेशनमा महिलालाई प्रतिनिधित्वमात्र नभई नेतृत्व पनि चाहिएको छ  ।’ पार्टीको कार्यक्रम र आन्दोलनमा अग्रणी भूमिका खेल्ने महिलालाई कांगे्रसको १४ अधिवेशनले कस्तो भूमिका देला अहिलेको चासोको विषय बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width