लकडाउनमै अर्गानिक तरकारीबाट आम्दानी

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८

नवलपुर । कोरोना कहरले पाहुना आउन सकेका छैनन् । होटल रेष्टुरेन्ट शून्य छन् । यसैले होटल व्यवसायीमात्र हैन, सामुदायिकस्तरबाट खोलिएका सामुदायिक होम स्टेको समेत आम्दानी शून्य छ । लकडाउनमा पर्यटक आगमन नभएपछि होमस्टेसँगै पर्यटकीय क्षेत्रमा पनि मन्दी छाएको छ ।
तर कावासोती १० स्थित चिलाहा रतवल सामुदायिक होम स्टेले भने विषम परिस्थितिबीच अर्गानिक खेती गरेर राम्रो आम्दानी थालेको छ । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने झैं लकडाउनको खाली समय सदुपयोग गर्दै होम स्टे सञ्चालकले आर्गेनिक खेती गर्ने र नजिकैका बजार तथा गाउँमा लगेर बिक्री गरी राम्रो आम्दानी गरेका हुन् । कावासोतीको चिलहा रतवल सामुदायिक ग्रामीण होमस्टेले तरकारी उत्पादन गरेर दैनिक १० देखि १२ हजारको आम्दानी गर्दै आएको छ ।
डव्लुडव्लुएफ र लामिचौर उपधोक्ता समितिको २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगबाट होमस्टेले होमस्टे सञ्चालककै जमिन लिजमा लिएर तरकारी खेती गरेको हो ।
जेठ सुरुवाती समयमा बिउँ राख्ने तथा बेर्ना लगाएर अर्गानिक खेती गरेको होम स्टेमा अहिले तरकारी बेच्न योग्य भएको छ ।
तरकारी अहिले दैनिकजसो उत्पादन भइरहेको छ । कावासोती १० मा अवस्थित चिलहा रतवल होमस्टेका १३ सदस्यले सामूहिक रुपमा पहिलो पटक तरकारी खेती गरेको होमस्टेका अध्यक्ष भेषराज महतोले बताए ।
होमस्टेले एक कठ्ठामा एउटा टनेल बनाएर वेमौसमी तरकारी उत्पादन गर्नुको साथै १३ कठ्ठा क्षेत्रफलमा करेला, बोडी, घिँरौला, काँक्रो लगायतका तरकारी मलचिङ गरेर खेती गरेकोे होमस्टे अध्यक्ष महतोले बताए । वर्षात्को समय हरेक क्षेत्रमा तरकारीको अभाव हुने हुँदा पनि यो समयमा तरकारीले राम्रो बजार भाउ पाउने गरेको कृषक बताउँछन् ।
बजार व्यवस्थापनमा कुनै समस्या नरहे पनि निरन्तर वर्षाले केही मात्रामा असर गरेको होमस्टेका व्यवस्थापक प्रेमबहादुर मुखियाले गुनासो गरे ।
त्यस्तै, अहिले तरकारीको मूल्य निर्धारण नहुँदा समस्या भएको छ । सरकारले स्थानीयस्तरमा तरकारीको मूल्य निर्धारण गर्नुपर्न किसानको माग छ । वास्तविक कृषकले भन्दा बिचौलियाले फाइदा लुट्ने गरेको होम स्टे अध्यक्ष भेषराज महतोले बताए । कोरोना कहरले थिलोथिलो परेको होमस्टे अर्गानिक तरकारी उत्पादन गरेर केही हदसम्म भए पनि माथि उठ्ने प्रयत्नको चौतर्फी प्रशंसा भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width