क्याबिनेट बिस्तार आज !

माओवादीको निर्णय कुर्दै कांग्रेस

प्रकाश ढकाल
श्रावण ७, २०७८
cabinet building gandaki

पोखरा  । प्रदेश तहमा संविधानतः सांसद संख्याको २० प्रतिशत मन्त्री बनाउन पाइने व्यवस्था छ । ६० सांसद रहेको गण्डीमा प्रदेशमा १२ जना मन्त्री बन्न पाउँछन् । यसअघिको सरकारले ७ बाट फुटाएर ११ मन्त्रालय बनाएको छ । नयाँ सरकारले मन्त्रालय संख्या १२ वटा बनाउने कसरत गरे पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
आन्तरिक रुपमा मन्त्री बनाउन सांसदले चर्को दबाब दिएपछि कांग्रेसले ५ वटा मन्त्रालय खोजेको छ । सकेसम्म जनता समाजवादी पार्टी (जसपा) लाई एउटा मात्रै मन्त्रालय दिएर अर्को मन्त्रालय कांग्रेसले राख्न लागेको बुझिन्छ । कांग्रेसलाई २ विकल्प छ–एउटा मन्त्रालय फुटाउने, अर्को जसपासँगको सम्झौता तोड्ने ।
यसअघि नै अर्थ मन्त्रालय दिने सहमति गरिएको जसपाले २ मन्त्री ग्यारेन्टी गरेपछि ऊर्जा मन्त्रालय सम्हालेको छ । जसपा सांसद धनमाया लामा पोखरेल सुरुदेखि नै आफूले मन्त्री पाउनुपर्ने अडानमा छिन् । दुवै जनाले एकै पटक सपथ लिनुपर्ने बताए पनि अर्का सांसद हरिशरण आचार्यले मुख्यमन्त्रीसँगै सपथ लिएपछि लामा असन्तुष्ट बनिन् । केन्द्रीय समीकरण अनुसार गण्डकीमा जसपाले अब अर्को मन्त्रालय नपाउने पक्का जस्तै छ । यसअघिको सहमति अनुसार कांग्रेस र माओवादी ४/४, जसपा २ र स्वतन्त्र सांसद दीपक मनाङेलाई एउटा मन्त्रालय तोकिएको थियो । जसपासँगको सहमति तोडेर जाँदा मन्त्रालय नथपे पनि कांग्रेसलाई ५ वटा मन्त्रालय पुग्छ । माओवादीले ४ तथा जसपा र राजीव गुरुङ (दीपक मनाङे) लाई १/१ मन्त्रालय हुन्छ । जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री बनिसकेका छन् ।
आचार्यलाई भौतिक मन्त्रालयबाट फुटाइएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री दिइएको छ भने मनाङे युवा तथा खेलकुद मन्त्रीमा तेस्रो पटक पदभार सम्हालेका छन् । जेठ २९ मा बिना विभागीय मन्त्रीको सपथ लिएका कांग्रेसका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रतिवधि तथा सामाजिक विकास मन्त्री र माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।
अब मन्त्रिमण्डल बिस्तार गर्दा सरकारका प्रवक्ता समेत रहेका सामाजिक विकास मन्त्री खड्का भौतिक पूर्वाधार विकास मन्त्री बन्ने बुझिएको छ । तर भौतिकमा माओवादीको पनि दाबी छ । माओवादीलाई अर्थ मन्त्रालय दिएर कांग्रेसले भौतिक लिन खोजेको हो ।
मन्त्रालयगत विभाजन नमिलेपछि बुधबार बसेको २ दलबीचको बैठक बिनानिष्कर्ष उठेको छ । ‘कि माओवादीले मन्त्रालयको भाग लगाएर कांग्रेसले रोज्ने, कि कांग्रेसले भाग लगाएर माओवादीले रोज्ने । अन्तिममा भएको सहमति यो हो,’ स्रोतले भन्यो, ‘संख्या टुंगिएको छ । जिम्मेवारीमा मात्रै तलमाथि भएको हो । भोलि (बिहीबार) साँझसम्म कुरा मिल्छ ।’
माओवादीले नाम दिन नसके मुख्यमन्त्रीले कांग्रेसको मात्रै भए पनि मन्त्री थप्ने तयारी गरेका छन् । अर्को मन्त्री नपाए सरकारमा सहभागी नहुनेसम्मको घुर्की जसपाको छ । ‘अर्थ मन्त्रालयको दाबी गठबन्धन बलियो बनाउनका लागि छोड्यौं । मुख्यमन्त्रीज्यूले पार्टीले नमानेपछि म मन्त्री बनाउँछु भन्नुभएको छ,’ जसपाका हरिशरण आचार्यले भने, ‘उहाँले आफ्नो वचन र सम्झौता कार्यान्वयन गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । यदि कार्यान्वयन भएन भने अर्को कदम चाल्नुपर्छ ।’
आफ्नो पार्टीको केन्द्रीय नेतृत्वले प्रदेश तहमै समस्या समाधान गर्न निर्देशन दिएकोले माथिको निर्णय नयाँ नहुने उनको तर्क छ । ‘नेतृत्वले हामीलाई त्यतै मिलाउनु भन्नुभएको छ । त्यसबाहेक थप निर्देशन आएको छैन,’ उनले भने, ‘प्रदेशको समस्या यतै मिल्छ । मिलाउन प्रयास गर्छौं ।’ पछिल्लो घटनाक्रमबारे औपचारिक जानकारी मुख्यमन्त्रीले आफूलाई नगराएको आचार्यको भनाइ छ । बुधबार साँझसम्म मन्त्रीहरुको टुंगो लाग्ने बुझिएको छ । ‘बुधबार बेलुकीसम्म कुरा टुंगिन्छ । छलफल घनिभूत बनाएका छौं,’ माओवादीका उपनेता रामजी बराल ‘जीवन’ ले भने, ‘गठबन्धनलाई धक्का नपर्ने गरी पावर सेयरिङ गर्छौं ।’

मुख्यमन्त्री भन्छन्, ‘बिहीबार ५ बजेसम्म सरकार बिस्तार हुन्छ । अब धेरै कुर्न सकिँदैन ।’

सरकारका प्रवक्ता खड्काले सार्वजनिक रुपमै केही दिनभित्र मन्त्रिमण्डल बिस्तार हुने बताएका थिए । यसैका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएको छ । ‘बिहीबार ५ बजेसम्म सरकार बिस्तार हुन्छ । अब धेरै कुर्न सकिँदैन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘सोही अनुसार राजनीतिक पार्टीबीच सहमति खोजिरहेको छु । माओवादीले नाम दिने वित्तिकै क्याबिनेट पूर्ण हुन्छ ।’ बजेट पास भएपछि मन्त्रिमण्डल बिस्तार गर्ने यसअघिकै प्रतिबद्धता अनुसार बजेट मार्सल लगाएर पास गरिएको छ । १ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्दा आलोचना बढ्न थालेको छ ।

मन्त्री को को बन्दै छन् ?
अब ३ मन्त्रालय पाउने माओवादीले दलका उपनेता रामजी बरालको नेतृत्वमा सरकारमा सहभागी हुनेछ । यसअघि नै मधुमाया अधिकारी मन्त्री बनिसकेकी छिन् । उनको समेत कार्य जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ । बरालसहित बागलुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगर मन्त्री बन्ने आन्तरिक टुंगो लागिसकेको बताइएको छ । यद्यपि दीपक कोइराला, आशा कोइराला लगायत सांसदहरुको पनि नाम चर्चामा छ ।
पूर्व सहमति अनुसार कांग्रेसले २ मात्रै मन्त्री पाउँछ । अहिले जसपालाई छोडेर गए ३ मन्त्रालय अझै कांग्रेसको भागमा छ । जसपालाई दिए मन्त्रालय फुटाउँदा फेरि तीनै जना कांग्रेसको भागमा पर्छ । स्याङ्जाबाट मेखलाल श्रेष्ठ, तनहुँका दोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा मन्त्री बन्ने अधिक सम्भावना छ । कास्कीका बिन्दुकुमार थापा र स्याङ्जाकै भागवत्प्रकाश मल्ल, गोरखाका प्रकाश दवाडीको नाम पनि चर्चामा छ । महिला सांसदहरुले कम्तीमा १ जना महिला मन्त्री हुनुपर्ने माग राखेका छन् । गोरखाकी मनकुमारी गुरुङ र पर्वतकी ललितकला गुरुङ मन्त्री बन्न दौडधुप गरिरहेका छन् । नवलपुरकी ओमकला गौतमक पनि मन्त्री बन्ने दौडमै छन् । पूर्व सहमति कार्यान्वयन भए जसपाकी धनमाया लामा पोखरेल मन्त्री बन्ने छिन् ।

समानुपातिकको बहुमत
कांग्रेसबाट चर्चामा रहेका सबैजसो समानुपातिक सांसद हुन् । श्रेष्ठ, विश्वकर्मा र शर्मा तीनै जना समानुपातिक हुन् । थापा र मल्लले प्रत्यक्ष निर्वाचन जितेका थिए । तर उनीहरु मन्त्री बन्न गाह्रो देखिएको छ । महिला मन्त्री बने पनि सबै समानुपातिक मात्रै छन् । माओवादीबाट प्रबल देखिएका सबैजसो प्रत्यक्ष छन् । जसपाकै लामा पनि समानुपातिक हुन् । अहिलेको ५ मन्त्रीमध्ये तीनजना प्रत्यक्ष छन् भने २ जना समानुपातिक छन् । कांग्रेसको ३ र जसपाको १ थपिँदा १२ सदस्यीय मन्त्रिमण्डल बने आधा समानुपातिक सांसद हुन्छन् । ११ मन्त्री बन्दा र जसपालाई छोड्दा ५ जना समानुपातिक हुन्छन् । यसअघिको सरकारमा भने सबैजना प्रत्यक्ष निर्वाचित मात्रै मन्त्री बनेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width