बिपीको सम्झनामा माल्यार्पण तथा प्रवचन

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७८
Bp jayanti 2

वालिङ  । नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३९ औं स्मृति दिवस वालिङमा मनाइएको छ । नेपाली कांग्रेस वालिङ नगर कार्य समितिको आयोजनामा वालिङ ८, बिपी चोकमा रहेको बिपीको सालिकमा माल्यार्पण तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाकुमारले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बिपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताए । नेता रानाले स्वार्थलाई छाडेर देश र जनताका लागि आफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बिपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । बिपीले प्रदिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठूलो फड्को मार्ने दाबी गरे ।
कांग्रेस महासमिति सदस्य भोजराज अर्यालले बिपीको विचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
कार्यक्रममा कांग्रेस स्याङ्जाका पूर्व कार्यवाहक सभापति मुक्तिप्रसाद सुवेदी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र २ (क) का प्रदेश सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, महाधिवेशन प्रतिनिधि लिलबहादुर रनपाल, कांग्रेस जिल्ला कार्य समिति सदस्य लेप्टेन यामबहादुर गुरुङ, नेपाल महिला संघ वालिङ नगर सभापति सरिता पौडेल, नेपाल विद्यार्थी संघ वालिङका सभापति दीक्षान्त खाँण लगायतले बिपीको राजनीतिक र साहित्यिक योगदानबारे चर्चा परिचर्चा गरेका थिए ।
कांग्रेस वालिङ नगर कावा सभापति भीमलाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव भूपराज बगाले र स्वागत वडा ८ का वडा सभापति कमलप्रसाद सुनेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width