मध्यविन्दु नगरको भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७८
nabalpur news 2

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नगरवासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन् ।
मध्यविन्दु–७ चोरमारामा निर्मित मध्यविन्दु नगरपालिकाको सुविधासम्पन्न भवन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । भवन सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम सुरु गरिएको छ ।
नगर प्रमुख चन्द्रबहादुर रानाले नगरको समग्र विकासमा मुख्यमन्त्री पोखरेलको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले मध्यविन्दुलाई विकास गर्न नगरले तयार गरेको गुरुयोजनासमेत मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
प्रतिवेदनमा रहेका विषयको सम्बोधन गर्न उनले मुख्यमन्त्रीसँग मागसमेत गरेका छन् । केही वस्तुगत शाखाको काम नयाँ भवनबाट सुरु गरिएको भए पनि पूर्णरूपमा सञ्चालनका लागि अझ केही समय लाग्ने नगरप्रमुख रानाले बताए ।
कार्यालय व्यवस्थापनका लागि फर्निचर खरिदको ठेक्का प्रक्रियामा रहेको भन्दै रानाले फर्निचर खरिद भएपछि नगरपालिकाको सबै सेवा उक्त भवनबाट सुरु हुने बताए ।
मध्यविन्दु नगरपालिका निर्माण भएसँगै विसं २०७३ मै नयाँ भवन निर्माणका लागि शिलान्यास भएर काम अगाडि बढेको थियो । दुई चरणमा भएको ठेक्का सम्झौतामार्फत भवन निर्माण सम्पन्न गरिएको हो ।
आव २०७४/७५ मा कैलाश एन्ड कम्पनीसँग १ करोड २० लाख लागत सम्झौतामा भवन निर्माणको काम भएको थियो । पछि २०७५ फागुन २२ मा बिरुवा कामाख्य उपमा जेभीसँग ३ करोड ८१ लाख ७९ हजारमा निर्माण सम्झौता गरी ठेकेदार कम्पनीले २०७७ माघ २२ मा नगरपालिकालाई भवन हस्तान्तरण गरेको सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिए । २ चरण गरेर ५ करोड २ लाख लागतमा भवन निर्माण सम्पन्न भएको रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width