न्यायिक समितिमा मुद्दाको चाप

रामकुमार श्रेष्ठ
श्रावण ६, २०७८
Madyabindu Municipalityy

नवलपुर  । न्यायिक निरुपणमा स्थानीयको विश्वास बढ्न थालेपछि मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप परेको छ । न्यायिक समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जित हुने गरी मेलमिलाप गरिने भएकाले यसमा स्थानीयको विश्वास बढ्दै गएको हो ।
नगर उपप्रमुख ओमकुमारी महतोको संयोजकत्वमा रहेको न्यायिक समितिले आर्थिक वर्ष २०७७/७८ मा ८५ वटा मुद्दा फर्छ्यौट गरेको छ । आव २०७६/०७७ मा ६५ मात्रै मुद्दा आएकोमा आव २०७७/७८ दोब्बरभन्दा बढी मुद्दा परे । कुल १ सय २२ मुद्दा परेको न्यायिक समितिमा ८५ वटा फर्छ्यौट हुँदा ३७ मुद्दा पक्रियामा रहेको नगरपालिकाका मेलमिलाप सहजकर्ता सरिता केसीले बताइन् । उनका अनुसार अधिकांश मुद्दामा दुवै पक्षलाई जित हुने गरी मेलमिलाप गरिने भएकाले यसमा स्थानीयको विश्वास बढ्दै गएको हो ।
न्यायिक समितिमा आउने अधिकांस मुद्दा पतिपत्नीबीच विवाद, पारिवारिक झगडा र जग्गा साँधसम्बन्धी विवाद हुने गरेको मध्यविन्दु नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक ओमकुमारी महतोले बताइन् । ‘अधिकांश मुद्दा पारिवारिक नै हुन्छन् कि त छिमेकीका, त्यसैले न्यायिक समितिमा आउने मुद्दामा छलफलमार्फत मेलमिलाप हुने गरेको छ,’ महतोले भनिन्, ‘२०७६/०७७ मा यहाँ मेलमिलाप हुन नसकेका ५ मुद्दा अन्य निकायमा पठाएको थियौं । यो पटक ८५ मुद्दा मिलायौं, ३७ प्रक्रियामा छन् । अन्य निकाय पठाएको छैनौं ।’
न्यायिक समितिलाई प्रदान गरिएको अधिकार क्षेत्रभन्दा बाहिरका मुद्दामा समेत उजुरी दिन आउने गरेको मेलमिलाप सहजकर्ता केसीको भनाइ छ ।
केसीका अनुसार आव २०७७/७८ मा पतिपत्नीबीच विवादका ३९ मुद्दा परेकोमा ३१ वटा मेलमिलाप भएको छ भने ८ वटा प्रक्रियामा रहेका छन् । जसमध्ये २ जना सम्पर्कमा आएका छैनन् भने १ जना विदेशमा छन् ।
त्यस्तै, परिवारिक विवादका ८ मुद्दामा ५ मेलमिलाप हुँदा ३ प्रक्रियामा छन् । जग्गा साँधसम्बन्धी विवादका ३५ वटामा २४ मेलमिलाप हुँदा ११ प्रक्रियामा छन् । तीमध्ये २ वटा सम्पर्कमा नआएको र १ वटा आफै मिलेको केसीले बताए । लेनदेनसम्बन्धी विवादका ५ मुद्दामा ४ मेलमिलाप हुँदा बाँकी आफै मिलेको केसीले बताए । बाटोको विवादका ८ मुद्दामा ४ वटामा मेलमिलाप हुँदा ४ वटा प्रक्रियामा, प्रदूषण फैलाएको ६ वटा मुद्दामा ४ वटामा मेलमिलाप हुँदा बाँकी २ मुद्दामा दुवै पक्ष सम्पर्कमा आएका छैनन् । पोखरीसम्बन्धी १ मुद्दा मेलमिलाप, खानेपानीसम्बन्धी विवाद २ वटामा १ वटा मेलमिलाप १ वटा प्रक्रियामा, साँधमा बिरुवा लगाएको ६ वटा मुद्दामा ५ वटामा मेलमिलाप हुँदा १ वटा आफैं मिलेका छन् ।
कुलोसम्बन्धी ५ मुद्दामा १ मा मेलमिलाप हुँदा ४ प्रक्रियामा छन् । सोमध्ये २ आफै मिलेको केसीले बताए । ज्येष्ठ नागरिकसम्बन्धी विवाद १ वटा परेकोमा मेलमिलाप, गाली बेइज्जतीसम्बन्धी विवाद २ वटा परेकोमा दुवैमा मेलमिलाप, पोल्टी फर्मको १ वटा विवादमा मेलमिलाप, आलि धुर विवाद १ वटामा मेलमिलाप र बलेसीको पानी झारेको विवाद १ वटा प्रक्रियामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width