कोरोना मारमा पोखराको पर्यटन : सुरक्षित गन्तव्यको पर्खाइ

धनबहादुर गुरुङ
श्रावण ६, २०७८

पोखरा । पर्यटन व्यवसायी हरि भुजेलको होटल रानीवन आर्केडले खैरो छालाको पर्यटकलाई स्वागत नगरेको १६ महिना भयो । लेकसाइडमा बाबुबाजेको पालादेखि पर्यटन व्यवसाय गर्दै आएकोमा भुजेलले थाहा पाएदेखि पर्यटन क्षेत्रमा अहिलेको जस्तो अवस्था सामना गरेका थिएनन् । नाकाबन्दी र भूकम्पले थोरै असर गरे पनि यतिविघ्न बिथोलेको थिएन ।
मुक्तिनाथ र एबिसी ट्रेक सर्किट लगायत महत्वपूर्ण ट्रेकिङ रुटको प्रवेशद्वार पोखरामा व्यवसाय गरेका उनलाई लकडाउन अघिसम्म भ्याइनभ्याइ थियो । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल निवर्तमान अध्यक्ष समेत रहेका भुजेलको होटलमा भरिभराउ पर्यटक थिए, त्यो पनि विदेशी पर्यटक । भुजेलको होटल मात्र नभएर रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ र मनिचेन्जर पनि थियो । सबैतिरको व्यवस्थापनमा उनले दिन बितेको थाहा नै पाउँथेनन् । सिजनमा होटलको मात्र अकुपेन्सी ९० प्रतिशत हुन्थ्यो भने अफसिजनमा ५० प्रतिशतसम्म । उति बेला भएका पाहुना घर फर्काएपछि अहिले भुजेल फुर्सदमा छन् । कामदार पनि काम सुरु भएपछि बोलाउने सर्तमा बिदा दिए । अचेल उनको दिनचर्या होटल कुर्दैमा बित्छ । सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० र गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ सफल बनाउन गरेको लगानी खेर गएकाले उनी चिन्तामा छन् । वर्षको दोस्रो सिजनका लागि बुकिङ भइसकेको अवस्थामा लकडाउन भएपछि पीडा झनै थपिएको थियो । कोरोनाले आफूमात्र नभइ विश्व नै आक्रान्त भएकाले उनी मन बुझाएरै बसे । त्यति नै बेला उनले बैंकको साँवा व्याज, विद्युत् महसुल लगायत कर्मचारीको तलब भत्ताको मार राम्रै खेपे ।
कोरोनाको पहिलो भेरियन्ट केही मत्थर भएपछि पर्यटन क्षेत्र केही चलायमान भइसकेको अवस्थामा आशा पलाएको थियो । गएको असोज कात्तिकबाट केही भारतीय र आन्तरिक पर्यटक पोखरा आउन थालेसँगै उनले होटल आंशिक रुपमा चलाएका थिए । तर ५ महिना चल्दानचल्दै फेरि कोरोनाको दोस्रो भेरियन्टको मार खेपे । पर्यटन व्यवसायीको आशा अर्को पटक फेरि निराशामा बदलियो । लकडाउनदेखि नै घाटा श्रृंखला दोहोरियो । कोरोनाका संक्रमणदर बढेकै समयमा पनि जिल्ला प्रशासन कार्यालय कास्कीले होटल क्षमताको ५० प्रतिशतसम्म खानबस्न मिल्ने गरी सूचना जारी गरेको छ । तर भुजेल होटल खोल्ने विषयमा दोधारमा छन् । ‘कोरोना संक्रमणदर घटेकै छैन, दिनानुदिन बढेका बढ्यै छन्,’ उनले भने, ‘पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन ध्यानाकर्षण गराएको छौं तर कार्यान्वयन भएको छैन ।’ सुरक्षित नहुँदासम्म आफू पूर्ण रुपमा व्यवसाय खोल्नेमा सहमत नरहेको उनले बताए । पोखरा आएका पाहुनालाई सुरक्षाका मापदण्ड पूरा गरेर राख्ने उनको योजना छ ।
पोखराका होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल एजेन्सीलगायत पर्यटन व्यवसायी विस्थापित हुने क्रम बढ्दो छ । यही अवस्था रहीरहे पर्यटन व्यवसायी पलायन हुने क्रम बढ्ने उनी बताउँछन् । अहिले पनि केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । यो अवस्थामा सुरक्षित नभई पर्यटन व्यवसाय चलाउन नमिल्ने पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । सुरक्षित गन्तव्य र भोलिको पर्यटन चलायमान बनाउन खोप नै आफूहरुको पहिलो प्राथमिकता भएको उनले बताए । परिषदले खोप उपलब्ध गराउन तिनै तहका सरकारलाई ज्ञापनपत्र बुझाए पनि कार्यान्वयन हुन सकेको छैन । ‘पहिलो माग भनेको हामीहरुले भ्याक्सिन लगाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘मजदुरका लागि पुनरुत्थान कार्यक्रम र व्यवसायीलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ भन्ने हो ।’

सुरक्षित गन्तव्य र भोलिको पर्यटन चलायमान बनाउन खोप नै आफूहरुको पहिलो प्राथमिकता भएको उनले बताए ।

प्रशासनले पर्यटन व्यावसाय खोल्ने अनुमति दिए पनि सुरक्षित नहुँदासम्म पर्यटन क्षेत्र चलायमान नहुने उनको धारणा छ । जबसम्म सबै भ्याक्सिनेटेड हुँदैनन्, तबसम्म जोखिम कायमै हुने भएकोले आफूहरु पर्यटन क्षेत्र खोल्न नआत्तिएको उनी बताउँछन् । ‘भ्याक्सिन नलगाई अगाडि बढ्न सक्ने स्थिति छैन,’ उनले भने, ‘सुरक्षित गन्तव्यका लागि सरकारले भ्याक्सिन व्यवस्था गर्न सके पर्यटन चलायमान हुन्छ भनी माग राखेका छौं ।’
सरकारले यातायात चलचाउने, उडान सुचारु गर्दै जाने तर केही बन्द गर्दै जाने सरकारकै तालमेल नमिलेको उनको टिप्पणी छ । सरकारले सबै क्षेत्र खोल्दै जाने तर खोप उपलब्ध नगराउँदा संक्रमण जोखिम हुने उनको भनाइ छ । परिषद् अध्यक्ष भट्टराईका अनुसार कोरोना प्रभावका कारण पोखरामा ३० प्रतिशत पर्यटन व्यवसायी विस्थापित भएका छन् । ६० प्रतिशत मजदुर पलायन भएका छन् । दोस्रो लहर सकिँदासम्म ४० प्रतिशतसम्म व्यवसायी विस्थापित हुने उनको दाबी छ ।
सरकारले खोप उपलब्ध नगराए पनि टेक–अवे आधारमा केही रेस्टुरेन्ट खुलेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखरा अध्यक्ष लक्ष्मण बरालले जनाए । सरकारले सबै क्षेत्र खोल्दै जाँदा केही आन्तरिक पर्यटक पोखरा आउने क्रम बढेकोले सबै रेस्टुरेन्ट बन्द गर्दा नकारात्मक सन्देश जाने उनको भनाइ थियो । सरकारले पर्यटन व्यवसायी तथा मजदुरलाई खोप उपलब्ध नगराउनु तर सबै क्षेत्र खोल्ने अनुमति दिँदा तालमेल नमिलेको उनको धारणा छ ।
लकडाउन खुुकलो बनाउँदै जाने क्रममा कास्की प्रशासनले बुधबारदेखि होटल क्षमताको आधा संख्या बेडमा पाहुना राख्न सक्ने अनुमति दिएको छ । तर खोप उपलब्ध नगराई खोल्दा समस्या हुने पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन् । ‘खोप कार्यक्रम द्रूत गतिमा नचलेका कारण तत्काल पहिलाकै अवस्थामा त फर्कने अवस्था छैन्,’ तुलाचनले भने, ‘संक्रमणदर बढिरहेको छ, आमनागरिकले खोप पाएमा सुरक्षित भन्ने हो ।’ पर्यटन क्षेत्रलाई प्राथमिकता सूचीमा नराख्ने तर सबै क्षेत्र खुला गर्दा होटल रेस्टुरेन्टलाई भार पर्ने उनको भनाइ छ ।
पोखराको पर्यटकीयस्तरका ५ सय बढी होटल तथा रिसोर्ट छन् । त्यसमा करिब १८ हजार बेड छन् । पोखराको पर्यटन क्षेत्रमै हालसम्म ५ खर्ब जतिको लगानी छ । कोरोनाको बढी असर होटल, रेष्टुरेन्ट, टे«किङ सामग्रीका पसल, बुक सप, ट्राभल एजेन्सी, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपफ्लायर, बन्जी जम्प, ¥याफ्टिङ, हट एयर बेलुन, डुंगा व्यवसाय लगायतमा परेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width