मनाङः जता हेर्‍यो, उतै ध्वस्त

प्रकाश ढकाल
श्रावण ६, २०७८
manang (1)

पोखरा । लमजुङ कटेपछि दर्जनौं खोला तर्नुपर्छ मनाङ सदरमुकाम चामे पुग्न । असार १ गतेको बाढीले सानाठूला आधा दर्जनभन्दा धेरै पक्की र काठेपुल बगाएको छ । अहिले गाडी चढेर चामे पुग्न मिल्दैन । ठूला पहाड छेडेर बनाइएको सडक छियाछिया भएको छ । सिमलताल, खोत्रोपाखा, निगालघारी, धारापानी, दानाक्यु, थान्चोक लगायत सयौं ठाउँमा सडक भत्किएको छ । चामे कटेर उकालो लागेपछि भ्राताङसम्मको ५० प्रतिशत सडक बिग्रिएको छ । खानेपानी, जलस्रोत तथा सिचाइँ विकास कार्यालय प्रमुख ढाकाराम आचार्यले जिल्लास्थित सरकारी निकायले अनुगमन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘केही ठाउँमा ब्लास्ट गरेरमात्रै सडक खोल्न सकिन्छ । कतै डाँडै झरेको छ । त्यहाँ सडक खन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘ती ठाउँमा रि–रुट गर्नुपर्छ । अर्को ठाउँबाट सडक लैजानुपर्छ ।’ उनका अनुसार तल्लो धारापानी, दानाक्यु क्षेत्रमा सडकलाई रिरुट गर्नुपर्ने छ भने भ्राताङको ३० मिटर सडक ब्लास्टिङ गरेर मात्रै खुल्नेछ ।
रि–रुट गर्नुपर्ने सडकका लागि जग्गा प्राप्तिको बाटो खोलिदिन सरकारसँग मनाङले माग गरेको छ । बाढीपछि पुरानै अवस्थामा फर्काउन कति खर्च लाग्छ भन्ने आकलन भएको छैन । ‘अझै बाढी रोकिएको छैन । कति क्षति हुनै बाँकी छ । बस्तीहरु झरिरहेका छन्, संरचना बगिरहेका छन्,’ आचार्य भन्छन्, ‘अहिले सरसर्ती हेरेर बनाइएको प्रतिवेदन हो । डिटेल बुझ्न धेरै समय लाग्छ ।’ सरकारले मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण दुवै जिल्लामा ठूलो क्षति भएको थियो ।
मनाङको चामेसहित ताल, थोंचे, धारापानी, दानाक्यु, ओडार लगायत गाउँ ध्वस्त भए । मनाङलाई असोज मसान्तसम्म विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको हो । त्यहाँका सरकारी कार्यालयले बाढीपछिको उद्धार र राहत तथा पुनः स्थापनाका कार्यक्रम सँगसँगै लैजान सुझाव दिएका छन् । जेठ २४ र असार १ गतेको बाढीले बढी असर गरेको हो । ‘कमजोर धरातलका कारण विगतमा पनि यस जिल्लामा बाढी तथा पहिरोको समस्या हुने गथ्र्यो । तर यति ठूलो असर पहिलो पटक भएको हो,’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘क्षतिको पहिचान र पुनःस्र्थापनाको लागि अल्पकालीन र दीर्घकालीन उपाय सहितको प्रतिवेदन दिएका छौं ।’

अझै १ महिना गाउँ फर्किने अवस्था नरहेको अध्यक्ष चन्द्र घलेले बताए ।

रिपोर्ट अनुसार ताल र सिरानताल गाउँका ७० प्रतिशत घरमा बाढी पसेको देखाइएको छ । यसबाहेक अरु बस्ती पनि बाढीको उच्च जोखिममा छन् । डोनाखोला, स्याल्कु खोला लगायत लघुहाइड्रो पूर्ण क्षति भएका छन् । यसले धारापानी, दानाक्यु, तिमाङ, थान्चोक, कोतो, चामे बजारमा विद्युत् अबरुद्ध भएको छ । जिल्लाभरिका १६ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । प्रतिवेदनले ताल र सिरानतालका सबै घरहरु स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ । ‘ताल बजार र सिरानतालका अधिकांश घर पूर्ण क्षति र बाँकी बस्ती पूर्ण जोखिममा रहेको छ । स्थानीय र निरीक्षण टोलीबीच भएको अन्तत्र्रिmयामा समेत उनीहरुले बस्ती स्थानान्तरण माग गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ताल, सिरानतालका सबै बस्ती स्थानान्तरण र पुनर्वासको व्यवस्था गर्नुपर्ने छ । त्यसको दीर्घकालीन योजना चाहिन्छ ।’
बाढीले नाशों गाउँपालिका कार्यालय बगाएपछि लमजुङमा अस्थायी कार्यालय खोलिएको छ । अझै १ महिना गाउँ फर्किने अवस्था नरहेको अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार यो वर्षको बजेट सबै बाढी पहिरो र कोरोना नियन्त्रणमा केन्द्रित छ । सडक संरचना केही सहज बनाउन १ वर्ष लाग्ने जानकारहरु बताउँछन् । खासगरी बिजुली, खानेपानी, सडक लगायत सञ्जाल टुटेको छ । तीन वटै तहको सरकारको ध्यान मनाङको पुनरुत्थानका लागि केन्द्रित गर्न आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width