तस्करीको केराउ समात्न प्रहरीलाई सकस

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
kerau m

नवलपुर । पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट भारततर्फ हरियो केराउ (मटर) तस्करी हुने गरेको छ । केराउ तस्करीका लागि यो जिल्लाका सीमा नाका ट्रान्जिट प्वाइन्टजस्तै बनेका छन् । प्रहरीले पटकपटक केराउ पक्राउ गर्ने गरे पनि तस्करी भने रोकिएको छैन । कानुनी झन्झटका कारण तस्करीको केराउ पक्राउ गर्न सकस भएको प्रहरीको भनाइ छ ।
तेस्रो मुलकबाट आउने केराउ भारतमा पुर्‍याउँदा प्रतिकेजी २० देखि ३० रुपैयाँ नेपाली नाफा हुने भएकाले तस्करी बढेको हो । केराउ तस्करी बढेपछि केही महिनाअघि निषेधाज्ञाको कारण देखाउँदै मटर ओसारपसारमा प्रतिबन्धसमेत लगाइएको थियो । अहिले फेरि केराउ तस्करी हुन थालेको छ ।
वीरगन्ज हुँदै भन्सार तिरेर ल्याइने अधिकांश केराउ राख्ने फर्मको नाम दसगजा नजिक रहेको स्थानमा तोकिएको हुन्छ । भूजहवा, झोलनीपुर, महेशपुरलगायत दसगजा क्षेत्रमा फर्मका गोदाम छन् । केही गोदाम परासी, गोपीगन्जमा रहे पनि सीमा क्षेत्रका गोदाममा लैजाने भन्दै बिल काटेर टेक्टर, जिप र ट्रकहरुबाट ती क्षेत्रमा पुर्‍याउने गरिएको छ । त्यहींबाट सीमा पार गर्ने गरिएको छ । बिलमा समेत दसगजा नजिकको गोदाम उल्लेख भएका कारणबीच बाटोबाट पक्राउ गर्न सकस भएको प्रहरीको भनाइ छ । विगतमा तस्करीलाई नियन्त्रण गर्न प्रहरीले आवश्यक अनुसन्धानका लागि भन्दै बीच बाटोबाट समेत केराउ पक्राउ गर्ने गरेको थियो । तस्करीलाई हतोत्साहित गर्न त्यसरी पक्राउ गरिएका केराउ ८÷१० दिन राखेर छाड्ने गरिएको थियो । अनलाइन बिलसहित सम्पूर्ण कागजपत्र भएकाले प्रहरीले कानुनी रुपमा राख्न नमिल्ने भएकाले छाड्ने गरिएको १ अधिकृतले बताए । दसगजा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोस्ट छन् । चौबिसै घन्टा दसगजा क्षेत्रमा रहने सशस्त्र प्रहरीले समेत तस्करी नियन्त्रणमा वास्ता नगरेको स्थानीयको आरोप छ ।
केही ठूलो मात्राका केराउ प्रहरीले दसगजा वरपरका क्षेत्रबाट समेत पक्राउ गर्ने गरेको छ । हप्ता दिनअघि मात्र २२ लाख बराबरको केराउ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । केराउ तस्करी बढ्न थालेपछि ३ साताअघि सरुवा भएर आएका प्रहरी उपरीक्षक मनोजकुमार यादवले निगरानी बढाउँदै हप्तादिन अघि उक्त मूल्य बराबरको १ सय ८० सय क्विन्टल केराउ पक्राउ गरेका हुन् । बेवारिसे अवस्थामा रहेको भन्दै उक्त केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको छ । ‘जिल्लाको जनसंख्याको आधार हेर्दा यहाँ आउने केराउ अधिक छ । त्यो सबै केराउ भारत तस्करी गर्न हो,’ यादवले भने । आफ्नो पहिलो प्राथमिकता अपराध नियन्त्रण र तस्करी निरुत्साहित पार्ने रहेको उनले बताए । गलत नियत राखेर तस्करीमा सहयोग गर्ने कोही मातहतका इन्चार्ज संलग्न भएको पाइए तत्काल कारबाही गरिने र सोही अनुसार नियन्त्रणका लागि निर्देशन दिइएको प्रहरी उपरीक्षक यादवले बताए ।
‘ जिल्लाका नाकाहरुबाट केराउ, मरिच, सुपारीजस्ता सामग्रीहरु भारततर्फ तस्करी हुने गरेको जानकारी पाएका छौं । तर गोदाम नै दसगजामा लगेर राख्नाले समस्या भएको छ ।’ उनले भने । यस्ता वस्तुहरुको गोदाम सदरमुकाम वा राजमार्ग क्षेत्रमा मात्र राख्न पाइने प्रावधान हुन सके प्रहरीलाई तस्करी नियन्त्रणमा सघाउ पुग्ने प्रहरी उपरीक्षक यादवको सुझाव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width