‘पुम्दीकोटको शिव मूर्ति धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य’

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७८
pumdikot pradespramukhass

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरा २२ पुम्दीकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटक आकर्षण गर्ने बताएकी छन् । सोमबार शिव मूर्ति अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र शिव मूर्तिले धार्मिक पर्यटक आर्कषित गर्न विश्वास व्यक्त गरिन् ।
कोरोनाका कारण धेरै मानिसहरुले शान्त र आध्यात्मिक ठाउँको खोजिरहेको बताउँदै कोरोना कहर घटेपछि सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने धारणा राखिन्
पुम्दीकोट कोट विकास समिति अध्यक्ष एवं परिकल्पनाकार चन्द्रकान्त बरालले विशाल मूर्तिबारे प्रदेश प्रमुखलाई विस्तृतमा जानकारी गराए । बरालका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमिनलाई ३० वर्षका लागि भोगाधिकारको लिएर मूर्ति निर्माण गरिएको हो ।
नेपालकै अग्लो दाबी गरिएको मूर्ति ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । करिब ४० प्रतिशत निर्माण सक्न हालसम्म २० करोड खर्च भइसकेको छ । हिल ट्यांक प्रालिका प्रबन्ध निर्देशक कमल जैनले शिवको मूर्ति प्रदान गरेका हुन् । भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट बनाइएको छ ।
मूर्ति स्थापनार्थ संघ सरकार, प्रदेश सरकार र पोखरा महानगर पालिकालगायत विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेका छन् । समितिले २०७३ सालमा महायज्ञ लगाएर ६ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । मूर्ति पाँच वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य लिए पनि आर्थिक अभाव र कोरोनाका कारण निर्माण कार्य केही ढिला हुन पुगेको उनको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जंगलका जंगली जनावरको गतिविधिलाई समेत नियाल्न सकिनेछ ।
शिवको बृहत चिनारीसहित १ सय ८ शिवलिंग, १ सय ८ स्वर्गद्वारी सिंढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङ स्थललगायत संरचना निर्माण गर्ने योजना सुनाए ।
पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृंखला, फेवाताललगायत मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width