गण्डकीमा कोरोना खोप किन्न १ अर्ब

प्रकाश ढकाल
श्रावण ५, २०७८
Gandaki Province Cabinet Building

पोखरा  । गण्डकी प्रदेश सरकारले खोप खरिदका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । बढ्दो कोभिड १९ संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि सरकारले खोप किनेर नागरिकलाई लगाउने निर्णय गरेको हो । गण्डकीमा नयाँ सरकार गठन भएपछि कोभिडविरुद्धको खोपमा जोड दिइएको थियो ।
अर्थ मन्त्रालयअन्तर्गत रहने गरी तत्कालका लागि १ अर्ब विनियोजन भएको र आवश्यकता अनुसार यसलाई बढाउन सकिने सरकारले जनाएको छ । श्वेतपत्र जारी गर्दै सरकारले ६ महिनाभित्र सबै नागरिकलाई खोप लगाउने संकल्प गरेको हो । खोप शीर्षकमा १ अर्ब भए पनि थप सवा १ अर्ब खर्च गर्न सकिने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । उनका अनुसार अर्थ विविधमा पुँजीगततर्फ ८५ करोड र चालूतर्फ ३९ करोड रुपैयाँ राखिएको छ ।
‘हामी हाम्रा नागरिकको सुरक्षाका लागि जति आवश्यक परे पनि खर्च गर्छौं । पुलपुलेसाका काम पछि गरौंला । अहिले ज्यान बचाउने प्रमुख दायित्व हो,’ उनले भने, ‘संघ सरकारले बाटो खोलिदियो भने खोप खरिदका लागि आवश्यक पैसा हामी व्यवस्थापन गर्छौं ।’ खोप किन्न सिधैं प्रदेशलाई अधिकार छैन । संघ सरकारले स्वीकृति दिनुपर्छ । त्यसमाथि प्रदेशले खरिद गरेको खोपले कुनै समस्या ल्यायो भने त्यसको दायित्व संघ सरकारलाई पर्छ । ‘संघले निशुल्क दियो भने ढुक्कै भयो । चैतसम्म त संघ सरकारले पनि नेपालभरका नागरिकलाई खोप दिन्छु भनेको छ,’ खड्काले भने, ‘तर हामी धेरै कुर्न सक्दैनौं । संघसँग आग्रह गरेर बाटो सहज बनाइदिन भन्छौं ।’
हालसम्म गण्डकीमा ३ लाख ५१ हजार ९ सय ६७ जनाले पहिलो डोज खोप लगाइसकेका छन् । तीमध्ये ७६ हजार ६६ जनाले दोस्रो डोज पनि पूरा गरेका छन् । ५५ वर्ष उमेरमाथिका १ लाख ३४ हजार ४ सय १२ जनाले पहिलो डोज भेरोसिल पनि लगाएका छन् । यो खोप १ लाख ४२ हजार डोज भित्रिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार एक डोजमात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन खोप १ लाख २६ हजार डोज आएको छ । ‘भित्रिएका सबै खोप लगाए एकतिहाइ नागरिकलाई पूरा हुन्छ । त्यसपछि १० लाख जति बाँकी हुन्छ,’ उनले भने, ‘दोस्रो डोज कोभिसिल्ड लगाउन बाँकीलाई खोप नआएर समस्या भयो ।’ खोपसँगै सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजारका दरले राहत दिने घोषण पनि गरेको छ । यसका लागि ३० लाख एकमुष्ट विनियोजन भएको छ ।
यस्तै, कोभिडले ज्यान गुमाएकाको परिवारलाई नगद राहत दिन ५ करोड रुपैयाँ छुट्याइएको छ । ती परिवारलाई प्रतिपरिवार ५० हजार उपलब्ध गराउने सरकारी घोषणा छ । कोभिडका कारण थला परेको व्यवसाय उकास्न छुट्टै रकम विनियोजन भएको छ । यसअघिकै सरकारले सुरु गरेको व्यवसाय जीवनरक्षा कोष कार्यक्रमलाई निरन्तर गर्दै १ अर्ब रुपैयाँ विनियोजन गरेको हो । यसअघि पनि १ अर्ब विनियोजन गरेर व्यवसायीले बैंकमार्फत लिएका ऋणको ब्याज तिरिदिएको छ । त्यसकै निरन्तरताका लागि रकम विनियोजन गरिएको खड्काले बताए । उनका अनुसार यसको कार्यविधि भने संशोधन गरिने छ । कोभिडका कारण रोजगारी गुमाएकालाई स्थानीय तहसँगको समन्वयमा सीप विकास तालिम दिन प्रत्येक जिल्लामा बजेट पठाइएको छ ।
विनियोजित बजेट शीर्षक अनुसार खर्च नभए विकास निर्माणमा लगाउने सरकारले जनाएको छ । ‘खर्च भए राम्रो । नभए पनि साना बजेट भएका योजनामा थप्छौं,’ प्रवक्ता खड्का भन्छन्, ‘कोभिडकै कारण धेरै योजनाहरुमा पैसा कम छ ।’ सरकारले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता साथ हेरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत खर्च हुने गरी २ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको हो ।
गण्डकी प्रदेशमा हालसम्म ६१ हजार ९ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै ४ सय १७ संक्रमित थपिएका हुन् । कुल संक्रमितमध्ये हालसम्म १ हजार ३१ जनाको ज्यान गइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width