कार्यकर्ता छुटाउन नेताको दबाब

रामकुमार श्रेष्ठ
श्रावण ४, २०७८
motorcycle~nawalpur

परासी । भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीका सांसददेखि दलका नेता सिडिओ कार्यालय धाउन थालेका छन् । अपराध नियन्त्रण र शान्तिसुरक्षामा सहज ल्याउन भन्दै आइतबारदेखि जिल्ला प्रहरी कार्यालयले भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित चारपांग्रे गाडी चेकजाँचमा कडाइ गर्न थालेको छ । नेताहरु आफ्ना कार्यकर्ताले छुटाउन दबाब दिन थालेका हुन् । कार्यकर्ताको दबाबलाई थेग्न नसकेका नेताहरु सर्वदलीय डेलिगेसन भन्दै प्रशासन कार्यालय पुगेर चेकजाँचलाई कडाइ नगर्न प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएका हुन् ।
आइतबार डेलिगेसन पुगेका नेतामा प्रदेश सांसद बैजनाथ जयसवालदेखि नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीलगायत दलका छन् ।
प्रहरीले आइतबारमात्रै ३० भन्दा बढी मोटरसाइकललाई नियन्त्रण लिएको छ । सीमावर्ती ग्रामीणदेखि सहरी क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन छ्याप्छ्याप्ती सञ्चालन हुने गरेका छन् । सर्वसाधारणदेखि जिल्लाका नेताले समेत भारतीय सवारीसाधन लिएर हिंड्ने गरेका छन् । त्यसरी सञ्चालन हुने अधिकांश मोटरसाइकलमा आवश्यक कागजपत्र नरहेको र भन्सार सुविधा र सहुलियतबिनै खुलेआम चल्न थालेपछि सुरक्षा समितिको बैठकले अभियान नै सञ्चालन गरेर नियन्त्रण लिने निर्णय गरेको प्रजिअ धर्मेन्द्रकुमार मिश्रले बताए । ‘कागजपत्र नबोक्ने र मोटरसाइकल चालकले हेलमेट नलगाउने र ३ जना सवारी राखेर हिड्ने कार्यले प्रहरीलाई नै चुनौती भयो । त्यतिमात्र होइन दुर्घटना गराएर फरार हुँदा सोधखोज गर्न समेत समस्या भएकाले अभियान सञ्चालन गरेका हौं,’ जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोज कुमार यादवले भने ।
सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार र अन्य अपराधमा समेत भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोगले समस्या ल्याउन थालेकोले चेकजाँच कडाइ गर्न मातहतका सबै युनिटलाई पत्रचार गरेको प्रहरी उपरीक्षक यादवको भनाइ छ । जेकजाँचमा पर्ने सबै भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि प्रहरीले तयार गरेको फर्मेट भर्न अनिवार्य गरिएको छ ।
यसैबीच, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादवले प्रहरीलाई दबाब दिन नभई चेकजाँचलाई सहज बनाउन र व्यवहारिकता बुझिदिन डेलिगेसन गएको दाबी गरे । ‘अहिले नाका बन्द छ । भन्सारबाट सुविधा समेत काट्न पाइँदैन । त्यस्ता मोटरसाइकलबारे सोचि दिन आग्रह गरेका छौं । कागजपत्र नहुनेलाई कानुनी कारबाहीमा हाम्रो कुनै गुनासो छैन । सहयोग नै रहन्छ,’ यादवले भने ।
विदेशबाट आउने सवारीसाधनको हकमा कार, जीप र भ्यानमा दैनिक ५ सय रुपैयाँ र मोटरसाइकल र स्कुटरमा १ सय रुपैयाँ भन्सार महसुल तिरेपछि १ दिनका लागि अस्थायी पैठारी पाउने आर्थिक अध्यादेश २०७८ मा उल्लेख छ । त्यसरी अस्थायी पैठारी पाएकाहरु सोही दिन फर्कनु पर्ने व्यवस्था छ । सोही अध्यादेशमा बिना शुल्क सुविधा लिएर सीमाबाट नजिकको बजारसम्म पुग्न सकिने उल्लेख छ । तर यहाँ सञ्चालन हुने अधिकांश सवारीसाधनले महसुल र सुविधा नलिई महिनौंसम्म निर्धक्क टाढाका बजारसम्म पुग्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width