खोपमा झमेला : झुक्याउदै घर फर्काउँदै

धनबहादुर गुरुङ
श्रावण ४, २०७८
Khop Photo Navaraj Sapkoata

तस्बिरः नवराज सापकोटा

पोखरा । पोखरा २५, हेमजाका चिरञ्जीवी अधिकारी बिहानैदेखि खोप केन्द्रको व्यवस्थापनमा तल्लिन थिए । पोखरा महानगरले हेमजा क्षेत्रका लागि माछापुच्छ«े पार्टी प्यालेसको प्रांगण केन्द्र तोकेपछि कोरोना महामारी नियन्त्रण समन्वय समिति लागिपरेको थियो । समिति सचिव अधिकारी आइतबार बिहान ७ बजेतिर खोप केन्द्र पुग्दा खोप लगाउनेको लामो लाइन थियो । उनी सोको व्यवस्थापनमा जुटे । भीड हुन थालेपछि खोप लगाउनेलाई टोकन दिइयो । हजार डोजको हाराहारीमा आउने कुरा भएर ९ सय ५५ वटा टोकन बाँडिसकिएको थियो ।
बिहान १० बजेतिर खोप लिएर गाडी खोप केन्द्र आयो । १५/२० मिनेटपछि खोप कार्यक्रम स्थगित भएको भन्दै गाडी फर्कियो । ‘गाडीमा आएकाहरु केन्द्रबाट रोक्ने आदेश आएको छ भनेर फर्कनुभयो,’ अधिकारीले भने, ‘लाइन बसेकाहरु बोल्न सकेनन् । बिहानभर पानीमा लाइन बसेर रित्तो हात फर्कनुपर्‍यो, खोप नलगाइकन ।’
अधिकारीले भने यो कार्य राज्यको यो चरम लापरबाही भएको बताउँछन् । बिहान ६ बजेबाट सर्वसाधारण पानीमा भिज्दै खोप केन्द्र आएको र झन्डै १ हजार टोकन वितरण गरिसकेको अवस्थामा अन्तिम समयमा आएर स्थगित हुनु लापरबाही भएको उनको आक्रोश थियो । माथिको आदेश भन्दै खोप नलगाउने भनी सूचना सार्वजनिक जारी गर्नु जायज नभएको उनले बताए । ‘कोरोना महामारीको समयमा सयौंको भिड जम्मा गरेर आमनागरिकको स्वास्थ्यमाथि लापरबाही र दुःख दिने कार्यको जिम्मेवारी कस्ले लिने ?’ उनले भने ।
हेमजामा जस्तै पोखरा महानगरज्ञले तोकेका सबै खोप केन्द्रमा आइतबारका कार्यक्रम स्थगित भए । बिहानैदेखि खोप लगाउने आशामा बसेकाहरु निराशा हुँदै घर फर्किन बाध्य भए । पोखरा महानगरले अघिल्लो दिन शनिबार पनि अन्तिम समयमा आएर पूर्व निर्धारित खोप अभियान स्थगित गरेको थियो ।
पोखरा ३, नदीपुरस्थित कन्या क्याम्पसमा शनिबार खोप लगाउन पुगेका वित्तीय संस्थामा कार्यरत राजकुमार यादव पालो कुरेर बसेका थिए । तर अन्तिम समयमा आएर एकाएक खोप स्थगित भएको सुन्दा उनी निराश बने । पोखरा महानगरले शनिबार पेसागत समूहका व्यक्तिलाई निर्धारण गरेको खोप कार्यक्रम आगामी सातासम्म स्थगन गरेको सूचना जारी गरेको छ ।
५० देखि ५४ वर्ष उमेर समूहका लागि भनेर ल्याइएको खोप अन्य उमेर समूह र पेसागत समूहले लगाउन थालेसँगै स्थगित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्का बताउँछन् । प्रोटोकल नमिल्दा स्थगित गर्नुपरेको उनले बताए । पोखराको स्थानीय जनसंख्या भन्दा बाहिरबाट आएर विभिन्न पेसा व्यवसाय गर्नेको जनसंख्या धेरै भएकाले उनीहरुलाई समेत समेटेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्दा अपुग भएको उनको भनाइ छ । उनले प्रदेशका अरु जिल्लामा भने निर्वाध रुपमा कार्यक्रम चलिरहेको जानकारी दिए । ५० देखि ५४ वर्ष उमेर समूहले लगाइसकेर बाँकी रहेको अवस्थामा अन्य उमेर समूहका लागि पनि खोप लगाइने उनको भनाइ छ ।
तोकिएको उमेर समूहभन्दा बाहिरकालाई खोप दिन नसकिने भएकोले महानगरका सबै खोपकेन्द्रमा पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । ‘महानगरले ३२ स्थानमा खोप केन्द्र तोकेको थियो । स्वास्थ्य कार्यालयले छुट्टै ४ ठाउँमा केन्द्रबाट खोप लगाउने भनिएको थियो,’ उनले भने, ‘प्रदेशबाटै उमेर समूह नमिलेको भनेपछि स्थगित भएको हो । आइतबार लगाइने भनिएको खोप एक पटक मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन भएको पनि उनले जानकारी दिए ।
यसैबीच, गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सनको १ लाख २६ हजार डोज प्रदेशमा आएको प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए । त्यसमध्ये कास्कीमा २५ हजार १ सय ४६ डोज, नवलपुरमा नवलपुर १५ हजार ७२, तनहुँमा १४ हजार ७ सय ४२, बागलुङमा १२ हजार ६२, स्याङ्जामा १० हजार ५ सय ३२, गोरखामा १० हजार ३ सय ७४ डोज, खोप पुर्‍याई सकिएको छ । त्यस्तै लमजुङमा ७ हजार २ सय ९५ डोज, म्याग्दीका लागि ४ हजार ६ सय ९१, पर्वतका लागि ६ हजार २ सय ९४, मुस्ताङका लागि ४ सय ८२ र मनाङ २ सय ६८ जनालाई पुग्ने खोपको व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width