देउवालाई दुईतिहाइ नजिकको समर्थन

प्रकाश ढकाल
श्रावण ४, २०७८
rs-ktm4

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । पुनःस्थापित संसदको दोस्रो बैठकबाट उनले झण्डै दुईतिहाइ नजिकको मत पाएका हुन् । देउवाको पक्षमा १ सय ६५ मत खस्दा विपक्षमा ८३ जना उभिए । राप्रपाका राजेन्द्र लिङ्देन तथस्थ रहे । २ सय ७१ सांसद रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३६ मत आवश्यक थियो । देउवालाई कांग्रेसका ६१, माओवादीका ४८, जसपाका ३२, एमालेका २३ र जनमोर्चाका १ सांसदले मत दिएका हुन् । मतदानमा २ सय ४९ सांसद उपस्थित थिए । देउवालाई मत दिनेमा एमालेका माधवकुमार नेपालसहित उनी पक्षधरका मेटमणि चौधरी, रामकुमारी झाँक्री, कलिला खातुन, विरोध खतिवडा, सरला यादव, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, भवानी खापुङ, मुकुन्द न्यौपाने, पवित्रा निरौला, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु र कृष्णलाल महर्जन छन् ।
ओली समूहका प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, हिरा केसी, पार्वती विसुंखे, धनबहादुर बुढा, विना बुढाथोकी र समिमा हुसेनले पनि मत दिएका छन् । आले यसअघिको ओली क्याबिनेटमा वन मन्त्री थिए भने किसान ओली समूहका खम्बा मानिन्थे । विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनलाई प्रधानमन्त्री बनाउन यसअघि ओली समूहका सांसदहरुले हस्ताक्षर दिएका थिएनन् । बरु हस्ताक्षर दिएका अरु सांसदहरुले मत दिएनन् । नेपाल समूहका प्रभावशाली नेता भीम रावलले संसद सुरु हुनुअघि नै पदबाट राजीनामा दिए ।
केही सांसदहरु मतदान अघि निस्किएका थिए । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झपट रावल, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढा, योगेश भट्टराई लगायत सांसद संसद भवनबाट बाहिरिएका हुन् । विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवाले अब बाँकी अवधिको पूरै कार्यकाल चलाउन पाउने भएका छन् । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीसँग १ सय ६९ सांसद थिए । यसअघि, एमालेले सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांदहरुलाई निर्देशन दिएको थियो । आइतबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मतदान गर्नेहरु पार्टीमा नरहने निर्णय गरेको थियो ।
मतदान अघि संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले सबैको पहल र मिहिनतबाट संविधान जारी भएकोले त्यसको कार्यान्वयनमा जुट्न आग्रह गरेका छन् । ‘संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग, तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशील बनाउनु पर्दछ,’ उनले भने, ‘निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्र नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ ।’
यसअघिका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ । ‘केपी शर्मा ओलीले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । उहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ,’ उनले थपे, ‘विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिंदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ ।’ सुशासन कायम गर्न आफू तत्पर रहने उनले सुनाए ।
राजनीतिक दल एकअर्काको शत्रु नभई साझा उद्देश्य प्राप्तिका लागि सहयात्रा गर्न सबैसँग उनले आग्रह गरे । ‘सबै राजनीतिक दलहरुबीच निरन्तर संवाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहने छु,’ देउवा भन्छन्, ‘हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होइनांै बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौं भन्ने भावनाका साथ काम गर्नु पर्दछ ।’ उनले कोरोना लोकतन्त्रको शत्रु भएको भन्दै त्यसको नियन्त्रण र रोकथाम सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

आगोलाई धेरै नचलाउनूः प्रचण्ड
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको फैसलाबाट लोकतन्त्रको रक्षा भएको बताए । ‘मलाई थाहा छ नि, संसद पुनःस्थापना भएकोमा अधिकांशलाई आनन्द भएको छ । ठूलो छाती गर्नुस् र शेरबहादुर देउवालाई विश्वासको मत दिनुस्,’ उनले भने, ‘विनम्रतापूर्वक सबै मिलेर बनाएको संविधान कार्यान्वयन गरौं । गहिरो गरी ध्यान दिऔं ।’ उनले पूर्व प्रधानमन्त्री ओलीको अहंकारले इतिहास निर्माण हुन नसक्ने बताए । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण गर्दैन । त्यसो सोच्नु भएको हो भने ब्लन्डर मिस्टेक भयो,’ ओलीलाई उनले भने, ‘त्यो तपाईंले भोग्नुहुन्छ । माइनसन गर्न खोजेर अपमानित गर्न खोजेर निमोठ्न लाग्नु भएको हो भने आगोलाई धेरै नजिसक्याउनु ।’ माओवादी आगो भएको भन्दै उनले अनावश्यक तर्कले पुनः हिंसा भड्काउन खोजिएको तर्क गरे ।
एमाले नेताहरुले धारा ७६ को (५) ले निर्दलीयता निम्त्याएको प्रतिक्रिया दिइरहँदा उनले गोहीको आँसु नबगाउन जवाफ फर्काए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई भएको भन्दै अदालतको फैसला स्वीकार्नुपर्ने बताए । प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको उल्लेख गरे । ‘कोभित्र लोकतान्त्रिक चरित्र छ । कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने, ‘संसदमा नआउनु आश्चर्यजनक छ ।’

देउवा श्रीमान् ५ बाट प्रधानमन्त्रीः ज्ञवाली
विपक्षी एमाले सांसद तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले शेरबहादुर देउवा जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री भएकोले आफूहरुले विश्वास गर्न नसक्ने बताए । उनले भने, ‘हामी प्रमुख प्रतिपक्षीको भूमिका रहन्छौं । त्यसै कारणले विश्वासको मत दिन सक्दैनौैं ।’
पहिले श्री ५ बाट प्रधानमन्त्री बनेका देउवा अहिले श्रीमान् ५ (न्यायाधीश र प्रधानन्यायाधीशको आदेश) बाट बनेको ब्यंग्य गरे । ‘२०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बन्नुभयो,’ उनले भने ।

धेरै माथि नउड्नु मैन पग्लिन्छः रिजाल
कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले धेरै नउड्न प्रतिपक्षीलाई चेतावनी दिएका छन् । ग्रिक पौराणिक कथाका पात्रलाई देखाउँदै उनले मैनको पँखेटा लगाएर उड्ने व्यक्ति सूर्यको नजिक पनि जान नसक्ने र समुद्रको छेउमा जान पनि नहुने बताए । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बावु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछः समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ,’ उनले भने ।
संविधान कार्यान्वयन गर्दा देउवा प्रधानमन्त्री नियुक्त भएका भन्दै उनले विश्वासको मत दिन आग्रह गरे । ‘अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन । संविधानअनुसार दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसदको रक्षा गर्न सक्नेबारे सम्झादिएको मात्रै हो,’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘प्रचण्डलाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । माधव नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । तपाईंको अहंकारले हो । अहंकारबाट निस्कनुस् ।’ रिजालले प्रधानमन्त्री देउवाको नम्रतालाई कमजोरीको रुपमा नलिन समेत आग्रह गरे ।

थर्काएर जनयुद्धको मुद्दा ब्युँत्याउन खोजियोः भट्टराई
जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले थर्काएर जनयुद्धका मुद्दा ब्युँत्याउन खोजिएको बताए । ‘अहिले कसैलाई थर्काएर, बार्गेनिङ गरेर जनयुद्धका मुद्दालाई ब्युँझाउने काम नगर्नुस्,’ एमालेतिर फर्किएर उनले भने, ‘यो धम्क्याएर समाधान हुने कुरा होइन । हामी त मर्न भनेर हिँडेका थियौं । तपाईंहरूले नै ५० लाखको पुरस्कार हाम्रो टाउकोमा हाल्नु भएको होइन ?’ आवश्यक परे आफूलाई पनि मुद्दा चलाउन उनको चेतावनी छ ।
जनयुद्ध नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र नआउने भन्दै उनले पुराना कुरा बल्झाएर समाधान ननिस्किने बताए । भट्टराईले कोभिड महामारी नियन्त्रणमा सरकारको ध्यान पूर्ण रुपमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । यो गठबन्धनलाई स्वभाविक लिन उनको आग्रह छ । ‘हिजो मुद्दा मिलेकाहरु आज एक ठाउँमा छौं । गठबन्धन कसरी अप्राकृतिक भयो ?,’ उनले प्रश्न गरे ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रतिगमन अझै पूर्ण रुपमा नसच्चिएकोले होशियारी अपनाउनुपर्ने बताइन् । राप्रपा सांसद राजेन्द्र लिङ्देनले संविधान र व्यवस्था नै असफल भएको टिप्पणी गरे । जसपा सांसद महन्थ ठाकुरले आफूहरुको मुद्दाबारे आश्वासन दिएकोले अहिलेको सरकारलाई मत दिने बताए । उनले सबैखाले राजनीतिक बन्दीको रिहाइ हुनुपर्ने र नागरिकता लगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

मोदीको बधाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । उनले ट्विटरमार्फत सन्देश दिँदै संसदमा विश्वाासको मत आर्जन गरेका देउवालाई सफल कार्यकालको शुभकामना पनि दिए । उनले आगामी दिनमा २ देशबीचको सम्बन्ध सुमधुर बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width