कास्कीमा निषेधाज्ञा झनै खुकुलो

लामो दूरीका गाडी सीमित संख्यामा चल्ने, होटलमा ५० प्रतिशत बेडमा पाहुना राख्न सकिने

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
cdo kaski

पोखरा, ३ साउन । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख मध्यदेखि लगाएको निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ ।
प्रशासनले साउन ६ देखि साउन २० सम्म निषेधाज्ञा अवधि थप गरे पनि विभिन्न सेवा खुकुलो पारिएको छ । जसअन्तर्गत अब साउन ६ देखि लामो दूरीका सवारीसाधन सीमित संख्यामा चल्ने भएका छन् । त्यसका लागि भने सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस आधारमा सिडिओ कार्यालयले समन्वय गर्नेछ ।

यस्तै, होटल, रेष्टुरेन्टले टेकअवे, होम डेलिभरी, अनलाइन डेलिभरि सेवा दिन सक्ने छन् भने बास बस्न आउने पाहुनालाई होटलको बेड क्षमता आधारमा ५० प्रतिशतमात्र रहने गरी खान बस्न प्रबन्ध मिलाउन सक्ने गरी आदेश लागु गरिएको छ । एकाघरका परिवारबाहेक १ कोठामा १ जनाभन्रदा बढी व्यक्ति भने राख्न पाइने छैन ।

पूर्व निर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ भन बढी व्यक्ति सहभागिता आधारमा सम्पन्न गर्न सकिने भएको छ । तोकिएका पसलहरुबाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।

प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, मोटेल,नाँचघर, क्लब, डान्सबार, दोहोरीसाँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायत सेवा एवं स्थल खोल्न निषेधाज्ञा लगाएको छ ।

निजी सवारीसाधन (कार, जिप, भ्यान) र ट्याकसीको हकमा चालकसहित बढीमा ४ जना चढ्न सक्ने छन् । मोटरसाइकल तथा स्कुटरले स्वास्थ्य मापदण्ड पालना गरी निर्वाध चल्न रोक छैन ।

कास्कीभित्र चल्ने सार्वजनिक गाडी कुल सिट क्षमताभन्दा बढी नराखी चलाउन सकिनेछ । चालक तथा सहचालकले भने अनिवार्य रुपमा फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य छ । विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्र तथा विद्यालय भौतिक उपस्थिति नभै अनलाइन आधारमा अध्ययन अध्यापन कार्य जारी रहने प्रजिअ थानेश्वर गौतमद्वारा जारी आदेशमा उल्लेख छ ।

जिल्लामा जारी निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म कायमै थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width