प्रविधिमैत्री सुन्तला बगैंचा व्यवस्थापनले किसानमा आशा

हरि बास्ताेला
श्रावण ३, २०७८
Suntala

गण्डकी । सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती संकटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले किसानमा आशा जगाएको छ ।

एक दशकको अन्तरालमा नै जिल्लाका सुन्तला पकेट क्षेत्र रित्तिदै गएपछि चिन्तित बनेका किसान महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् । किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको बिस्तार गर्ने लक्ष्यसाथ ३ वर्षयता सञ्चालित अभियानअन्तर्गत ४५ लाख अनुदान हस्तान्तरण गरिएको छ । आव २०७८/०७९ का लागि २० लाख बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार मलखाद प्रयोग गरेका ५ वर्षमाथिका बिरुवाको प्रतिबिरुवा ३०, बोडो पेस्टलगायतका बिरुवाको ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई २० र छापो प्रयोग गरेका बिरुवालाई २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो । घोषित पकेट क्षेत्रका २ सय ४ बगैंचाका २० हजार बिरुवाले उत्पादन दिइरहेको छ । ‘सुन्तला पकेट क्षेत्रको रुपमा रहेका महानगरपालिका वडा नं २१ र २२ मा अभियान सञ्चालन भएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा २ सय ४ किसानलाई सुन्तलाको बोटको आधारमा १५ लाख अनुदान प्रदान गरिएको हो ।’ प्राविधिकसहितको टोलीले प्रत्येक किसानको सुन्तला बगैंचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइएको हो । कडरियाले भने, ‘रोगले बिरुवा मर्न लागेपछि बगैंचा सुधारका लागि महानगरले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत चालु आवमा २० हजार सुन्तलालगायत कागती र जुनारका नयाँ बिरुवासमेत रोपिएको छ ।’
सुन्तलाका बिरुवा बाहिरी जिल्लाबाट ल्याउँदा रोगको प्रकोप बढ्ने खतरालाई मध्यनजर गर्दै महाशाखाले पोखरा २२ स्थित खाल्सेमा सुन्तला नर्सरीसमेत स्थापना गरेको छ । प्रतिबिरुवाको २० तोकिएको छ । बाँकी रकम महाशाखाले अनुदान दिँदै आएको छ । ५ वर्षभन्दा माथिका प्रतिसुन्तलाका बोटलाई महाशाखाले १ सय अनुदान दिँदै आएको छ, जसमा ५ हजार अनुदान प्राप्त गर्ने किसानबाट ४ सय र त्योभन्दा माथिको हकमा ८ सय कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न किसानलाई प्रेरित गर्दै आएको छ । पुरानो सुन्तलाको बगैँचालाई व्यवस्थित गरी अधिकतम उत्पादन गर्नेतर्फ लाग्नुका साथै नयाँ स्थानमा बगैैंचा निर्माण गर्न महाशाखाले जोड दिँदै आएको छ । रोगको कारण मरेका सुन्तलाको बगैँचामा कागती र जुनारजस्ता अम्लीय जातका बिरुवा लगाउन किसानलाई अभियानले जोड दिएको हो ।
किसानको बगैँचामा पुगेर अनुदान वितरण
महानगरपालिका कृषि महाशाखाले कार्यक्रमअन्तर्गतको चालु आवको अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा–२१ फेदीपाटनस्थित किसानको बगैँचामा पुगेर चालु आवको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेश कृषि निर्देशनालयका निर्देशक वासु रेग्मीले किसानलाई अनुदान रकम वितरण गर्दै सुन्तलाको शत्रुको रुपमा फैलिएको सिक्टस ग्रिनीङजस्तो भाइरसबाट बोट बचाउनका लागि बोडोपेस्ट र बोडो मिक्स्चर स्प्रे रामवाणको रुपमा रहेको बताए । सुन्तला बगैंचाको राम्रो व्यवस्थापनसँगै आवश्यक कीटनाशक औषधी मापदण्डअनुसार प्रयोग गर्ने हो भने ५० प्रतिशत उक्त रोग लागेका बोटलाई थप ५ वर्षसम्म बचाएर उत्पादनसमेत लिन सकिने बताउँदै उनले बाहिरबाट खरिद गरेर ल्याएको बिरुवामा रोगको संक्रमण फैलिन सक्ने हुँदा कलमीतर्फ ध्यान दिन किसानलाई सुझाव दिए ।
कार्यक्रममा सो क्षेत्रमा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने किसान प्रकाश पौडेलले रोगसहित असिना, जंगली जनावरलगायतबाट किसानले ठूलो क्षति व्यहोर्दै आएको बताउँदै स्थानीय तहबाट उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याए । ४ दशकअघि आफ्नो बुबाले सुरु गरेको व्यावसायिक सुन्तला खेतीबाट अहिलेसम्म जीविकोपार्जन हुँदै आएको बताउँदै उनले लगभग ४० रोपनी जग्गामा ६ सय भन्दा बढी बोटले उत्पादन दिँदै आएको जानकारी दिए । सुन्तला बिक्रीबाट समय राम्रो हुँदा ८ लाखसम्म आम्दानी गरेका उनले अघिल्लो वर्ष बारम्बार परेको असिनाको कारण १ लाखमा चित्त बुझाउनुपरेको दुखेसो सुनाए । उनले सुन्तला बगैंचा व्यवस्थापन एवं सुदृढ गरेबापत यस वर्ष ६० हजार २ सय नगद प्राप्त गरे ।
कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो १ दशकयता सुस्ताउँदै आएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंसपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन, मासपाटनलगायत स्थानमा भने अझै पनि फल्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width