भैंसी पालेर ७२ लाख कमाइ

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७८
cow~ghana

पोखरा । विदेशमा ९ वर्ष बिताएर फर्किएका हेमजाका घनश्याम तिमिल्सिनालाई अहिले नेपालमै विदेशसरी छ । कुनै दिन रोजगार खोज्दै खाडी मुलुक पुगेका उनले नेपालमै २५ जनालाई रोजगारी दिलाएका छन् । र, वार्षिक ७२ लाख कमाउँछन् ।

३९ वर्षीय घनश्यामले हेमजामा कास्कीमै सबैभन्दा ठूलो गाई फार्म चलाएका छन् । उनको दिनगाईसहित भैंसी र बाख्रापालन तथा खेतीपातीमै बित्छ । विगतमा साउदी, मलेसिया र कतारमा रगत पसिना बगाएका उनलाई १० वर्षअघि स्वदेशमै केही गर्ने हुटहुटीले फर्काएको थियो ।

पशुपालन तथा कृषि व्यवसायमा हालसम्म ८ करोड लगानी गरिसकेको बताउने घनश्यामले मासिक ६ लाख जति आम्दानी गर्ने बताउँछन् । यसरी वार्षिक ७२ लाख कमाउँछन् । उनी भन्छन्, ‘कमाउनका लागि विदेशमा नै जानुपर्छ भन्ने केही रैनछ । विदेश जाने पैसाले स्वदेशमै पनि लगानी लगाउने हो भने यही गर्न सकिँदो रहेछ ।’

स्वदेश फर्केपछि उनले सुरुआतमा साझेदारीमा गाई फार्म सञ्चालन गरेका थिए । हाल उनको यो व्यवसाय एकल छ । त्यसबेला मालेपाटनमा हेमजाकै मधु त्रिपाठीसँग मिलेर हेम्जा गाई फार्म सञ्चालन गरेका थिए । करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालित सो फार्ममा दुध किन्न सर्वसाधारणको ओइरो लाग्थ्यो । फार्मममा घनश्यामको मात्रै २३ लाख रुपैयाँ लगानी परेको थियो ।
पोखरा बजारको मुख्यकेन्द्रमै रहेको सोे फार्ममा २६ वटा गाई थिए । एउटै गाईको मूल्य १ लाख रुपैयाँसम्म पथ्र्यो, त्यसबेला । जर्सी र होलस्टिनबीचको क्रसिङबाट उत्पादित गाई उनीहरुले इलाम, झापा र चितवनबाट खरिद गरी ल्याएका थिए । फार्ममा अन्य ३ जना कामदार थिए । ‘हामीहरुले दूधमा कत्ति पनि पानी नहाली ग्राहकलाई बेच्यौं,’ त्यसबेला नै सफलताको बाटो डोरिनुको रहस्य खोले घनश्यामले, ‘त्यसैले पोखराको टाढा टाढाबाट समेत दूध किन्न आउने हुँदा माग थेप्न सकिएन । बिस्तारै गाईको संख्या थप्यौं । अहिले यहाँसम्म आइयो ।’

हालसम्म ८ करोड लगानी गरेका हेमजाका घनश्याम तिमिल्सिनाले २५ जनालाई रोजगारी दिएका छन् ।

करिब ४ वर्षसम्म त्यहाँ सञ्चालनपछि उनका सहयात्री मधु अमेरिका गए । घनश्यामले एकल स्वामित्व लिएर आफ्नै घर हेमजा फर्किए । त्यहाँ आफ्नो ७ रोपनी जमिनमा पुनः हेमजा गाई फार्म प्रालि नाममा फर्म चलाएका हुन् । हेमजामा ४ वर्षदेखि सञ्चालित फार्ममा १ सय ५० गाई, ५० भैंसी, ४० बाख्रा छन् । त्यस अलावा ३५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दछन् । उत्पादित दूध तथा तरकारी बिक्रीका लागि नजिकै छ, पोखरा बजार । त्यहाँ पुर्‍याउन सकिएन भने पनि गाउँघरमै बिक्री हुन्छ । नजिकै आफ्नै बिक्री केन्द्र पनि छ । गाईबस्तुलाई खुवाउने घाँसका लागि २ सय रोपनी जग्गा भाडामा लिएका छन् । त्यहाँ विभिन्न जातका घाँस बिरुवा रोपिएको छ ।

नेपालमै केही गरी युवावर्गलाई प्रेरित गर्ने सोचका साथ आफूहरुले व्यावसायिकरुपमा गाईपालन सुरु गरेको घनश्याम बताउँछन् । उनको अनुभवमा विदेशमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने नेपालीहरु यहाँ काम गर्न हिच्किच्याउँछन् । तर उनलाई त्यस्तो लाग्दैन । बरु बिहान २ बजे नै उठेर फार्ममै रमाउँछन् । ५ बजेसम्म गाईभैँसी दुहेर सकिन्छ । दुध दुहुन उनले मेसिन प्रयोग गर्दछन् । त्यसपछि मार्केट जान्छन्, गाडी लिएर । यतिबेलासम्म बिहानको ९ बजिसकेको हुन्छ । त्यसपछि खाना खाइसकेपछि खेतबारीमा घाँस काट्न निस्कन्छन् । दिउँसो २ बजेसम्म फार्ममा फर्किसक्नुपर्छ । दिउँसो २ देखि ४ बजेसम्म दुध दुहुन्छन् । फेरि मार्केट पठाउँछन् । आफू फार्ममा दानाचोकर दिनतर्फ लाग्छन् । रातिको ८ बजी सकेको हुन्छ । अनि खाना खाएर भोलिपल्ट बिहान २ बजे उठ्नका लागि सुत्छन् ।

कोरोना महामारीले भने व्यवसायमा केही प्रभाव पारेको छ । विगतमा पराल, चोकर सस्तो थियो, अहिले एक्कासि महँगो भएको छ । यसले लागत पनि बढ्ने हुँदा विगतमा भन्दा कम आम्दानी हुन्छ । १२ सय पर्ने चोकरलाई अहिले १८ सय तिर्नुपर्छ । ४० हजारमा आउने पराल (करिब ५ टन) अहिले १ लाख १० हजार तिर्नुपर्छ । गाईवस्तुको उपचारसँगै कामदारको तलब, घाँस, चोकर, ढुवानी लगायतमा उनको खर्च छ ।

ठूलो रकम खर्चेर विदेशमा जानुभन्दा स्वदेशमी खेतीकिसानी गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘बाहिर पैसा जान्थेन, युवाहरुले रोजगार पाउँथे । अष्टे«लिया, अमेरिका जान्छु भन्नेहरु त्यही पैसा यहाँ लगानी गरेर फलफाप हुन्छ ।’ उनले उन्नत जातको बोयर क्रस गरिएको बाख्रा समेत पालेका छन् । एउटै बाख्राको मूल्य ५० हजारसम्म पर्छ । बोयर जातको बोका लगाउँदा एउटै बाख्रा ६ महिनामै करिब ५० हजार मूल्य बराबरको हुने उनले बताए ।

घनश्यामले भावी योजना छ, फार्म अझै बिस्तार गर्ने । उनले भने, ‘आगामी वर्षमा अझै बिस्तार गर्ने योजना छ । अर्गानिक तरकारी खेतीमा जोड दिनेछु ।’

स्वदेशकै माटोमा पसिना बगाएर मासिक मनग्ये आम्दानी गरेका घनश्यामको मिहिनेत देखेर छिमेकी पनि दंग छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width