माथिल्ला क्षेत्रमा महँगा स्याउ

प्रकाश ढकाल
श्रावण २, २०७८
apple (2)

पोखरा । स्याउ उत्पादन हिसाबले मुस्ताङ अधिक राम्रो जिल्ला मानिन्छ । स्वादका कारण मुस्ताङी स्याउको बजार राम्रो छ । जिल्लाभर १ हजार २ सय हेक्टरमा स्याउ खेती हुने तथ्यांक छ । १ हजार ५ सय हेक्टरमा स्याउ खेती हुने सम्भावना छ । हाल ५ सय हेक्टरबाट मात्रै उत्पादन भइरहेको जानकारहरु बताउँछन् । ९ मेट्रिक टन प्रतिहेक्टर उत्पादन क्षमता छ । किसानले वार्षिक ६ हजार मेट्रिक टन स्याउ बेचेर ६० करोडभन्दा बढी भित्र्याउँछन् । तर अधिकांशको बारीमा अझै रैथाने बिरुवा छ ।
पछिल्ला वर्षमा मुस्ताङमा धमाधम उन्नत जातका बिरुवा भित्रिन थालेका छन् ।४ वर्षदेखि किसानले आफ्नै लगानीमा इटालीका स्याउ ल्याउन थालेका थिए । संघ सरकारले २ वर्षअघि अनुदानमा स्याउ जोनमार्फत बिरुवा वितरण गर्न थाल्यो । प्रदेशले पनि प्राथमिकतासाथ स्याउ उत्पादनलाई जोड दिएको छ । अघिल्लो वर्ष ४२ हजारभन्दा बढी बिरुवा ल्याएको गण्डकीले अहिले २६ हजार बिरुवा ल्याएको छ ।
धेरै उत्पादन गरेर किसानलाई लाभ पुर्‍याउने उद्देश्यले सरकारले उच्च घनत्वका बिरुवा वितरण गरेको हो । यो वर्ष मुस्ताङलाई मात्रै फोकस गरेर बिरुवा बाँडिएको छ । ‘कृषक समूह र फर्मसहित २८ समूहलाई बिरुवा वितरण गरेका छौं,’ अधिकृत प्रकाश बस्ताकोटीले भने, ‘ल्हो घेकरसम्म बिरुवा पुर्‍यायौं । जिल्लाभर उन्नत बिरुवा पुगेको छ ।’ जलवायु परिवर्तनका कारण लोमान्थाङसम्म पनि स्याउ फल्न थालेको छ । यसअघि त्यहाँ स्याउ फलेको रेकर्ड छैन । एक्याप लोमान्थाङका अनुसार किसानले धमाधम स्याउको बिरुवा सार्न थालेका छन् । गाला, फुजी र डेलिसियस जातका स्याउ सरकारले ल्याएर वितरण गरेको हो ।

मुस्ताङी किसानले वार्षिक ६ हजार मेट्रिक टन स्याउ बेचेर ६० करोडभन्दा बढी भित्र्याउँछन् ।

‘पोहोर मराङसम्म पुगेको थियो । अहिले ल्हो घेकरका किसानले लगेका छन्,’ बस्ताकोटी भन्छन्, ‘किसानमा नयाँ बिरुवाले ठूलो उत्साह छ । केही वर्षपछि मुस्ताङ स्याउ उत्पादनका हिसाबले कायापलट हुनेछ ।’ स्याउ जोन कार्यक्रमले पनि थप ७ हजार बिरुवा वितरण गरेको छ । इटालीबाट ल्याइएका बिरुवा सुरुमा धेरै लगानी हुने र छिटो उत्पादन दिने खालका हुन् । यो बिरुवाले रैथाने जातमा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् । ‘रुट स्टकमात्रै फरक हो । जात उही हो । यसको उत्पादन बढी हुन्छ,’ भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गृष्म न्यौपानेले भने, ‘स्वादमा खासै फरक पर्दैन । धेरै फलाएर लाभ धेरै लिन सकिएला भन्ने विश्वास छ ।’
गण्डकी सरकारले अघिल्लो वर्ष मनाङमा २३ हजार र उत्तरी गोरखामा ६ हजार बिरुवा वितरण गरेको थियो । ‘अहिले अरु जिल्लामा कार्यक्रम भएन । मुस्ताङको सम्भावना राम्रो देखियो । बिरुवा पनि त्यतै गयो,’ उनले भने, ‘लकडाउनका कारण १ महिना कोलकत्तामै होल्ड भयो । नत्र पहिले नै वितरण हुन्थ्यो ।’ तर किसानले भने यो बिरुवाको लागत खर्च बढी भएको बताए । यो वर्ष प्रतिबिरुवा ९ सय ४९ रुपैयाँ लागत परेको छ । त्यसमा प्रदेश सरकारले ७५ प्रतिशत व्यहोरेको छ भने किसानले २५ प्रतिशतमात्रै तिर्छन् ।
‘अनुदान बिरुवामा मात्रै भयो । बगैंचा व्यवस्थापनमा समस्या छ । पशुपालन क्षेत्र पनि भएकोले तारबार गर्नुपर्ने ठाउँ छ,’ बस्ताकोटीले भने, ‘एकीकृत खेती गर्न किसानलाई प्रोत्साहन गर्नु छ । अघिल्लो वर्ष रोपेका स्याउबाट राम्रो उत्पादन हुन थालेको छ । उहाँहरु उत्साही हुनुहुन्छ ।’ उनका अनुसार रोपेको ३ वर्ष पूरा भएको बिरुवाबाट १५ किलोसम्म उत्पादन हुन थालेको छ । यो बिरुवा १ रोपनीमा १ सय ५० वटासम्म रोप्न मिल्छ । उच्च घनत्वका बिरुवा उत्पादन गर्न मुस्ताङमा नर्सरी पनि स्थापना गरिएको छ । प्रदेशले ३ जिल्लामा स्याउ विशेष कार्यक्रम चलाएको छ । सुरुमा किसानले यो बिरुवामा खासै विश्वास गरेका थिएनन् । तर फल लाग्न थालेपछि आकर्षण बढेको छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width