खोपकेन्द्रमा जात्राझैं भीड

धनबहादुर गुरुङ
श्रावण १, २०७८
Verocell Vid Photo

पोखरा । कोरोना विरुद्धको खोप लगाउनका लागि पोखराको १९ वटै केन्द्र बिहीबार पनि अस्तव्यस्त भयो । २ दिन खोप लगाउन समय तोकेको महानगरमा बुधबार पनि व्यवस्थापन फितलो नै देखिएको थियो । कर्मचारी थपेर भएपनि बिहीबार व्यवस्थापनमा कुनै कमजोरी नगर्ने बताएको महानगरको अवस्था बुधबारको भन्दा कम थिएन् ।
सरकारले गएको जेठ २७ गते भेरोसेलको पहिलो डोज लगाएकालाई २ दिन दोस्रो डोज लगाउन र पहिलो डोजका लागि पनि सूचना जारी गरेको थियो । सूचना अनुसार खोपका लागि खोप केन्द्रमा पुगेकोहरु लाइन बस्ने झन्झटले केही वृद्धवृद्धा खोप लगाउन नपाइ फर्कनुपर्‍यो । लामो लाइनमा धेरै समय उभिनुपर्ने र कोरोनाको संक्रमणका डरले उनीहरु केही खोप नलगाइ घर फर्किका थिए ।
स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिक, विद्यालय/क्याम्पसका शिक्षक र कर्मचारीहरु, सार्वजनिक सवारीका चालक/परिचालक, अत्यावश्यक सेवामा संलग्न कर्मचारीका लागि खोप लगाउने भनेको थियो । साथै खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाउने भने बमोजिम यस वर्गमा परेकाहरु अहिले खोप केन्द्रमा लाइन बसिरहेका थिए ।
पोखराको विभिन्न १९ वटा खोप केन्द्रमा खोप लगाउन वर्षे झरीको पर्वाह नगरी उभिइरहेका थिए । लामो समय लाइन बसेर ३ घन्टापछि बल्ल पालो आएको बगरका राजकुमार श्रेष्ठले बताए । महानगरले लाइन व्यवस्थित बनाउन नसकेको उनको गुनासो थियो । लाइन बसेर भित्र गएपछि भित्र खोप लाउने काम एकै छिनमा हुने उनको भनाइ थियो । ‘बाहिर त्यत्रो बेर लाइन बसियो, खुट्टा दुखेर हैरानै भएँ,’ उनले भने, ‘भित्र गएपछि त सेकेन्ड मै काम सकियो ।’ एक सेकेन्ड पनि नलाग्ने काममा महानगरले जनता भुलाउने काम गरेको उनको आरोप थियो ।

गण्डकी प्रदेशका एघार जिल्लामा १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल लगाइने

अधिकांश खोप केन्द्रहरुमा अनियमितता भइरहेको गुनासो थियो । लाइन बस्नेहरु लाइनमै रहने, लाइन नसर्ने, पहुँचवालाहरु भित्रभित्रै पसी कार्ड बनाएर खोप लगाएको दृश्य ट्वाल्ल हेर्न बाध्य थिए । सबै खोप केन्द्रहरुमा जात्राझैं भीड थियो । स्वास्थ्य मापदण्ड बिना नै लाइनमा उभिँदा कोरोनाको झनै जोखिम बढ्ने आँकलन धेरैले गरेका थिए । लामो समयको पर्खाइपछि खोप लाएर बाहिरिएका खेमबहादुर गुरुङ भने खुसी देखिन्थे । बिहानैदेखि लाइन बसेर लगाएको खोपले कोरोना जित्नेमा उनी थिए । तर त्यहाँको अवस्था र महानगरको व्यवस्थापनमा भने उनको ठूलो गुनासो थियो । लाइनमा बस्दाबस्दै केही मान्छे खुसुखसु चोर बाटोबाट गएर खोप लगाएको आएको उनको भनाइ थियो ।
महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल जनताको खोप प्रतिको मोहले भएको भीडभाड थेप्न गाह्रो परेको बताउँछन् । यो पटकको व्यवस्थापनले अर्को पटकलाई सिकाइ भएको उनले बताए । ‘जनताको खोप प्रतिको मोह पनि हो, सबैतिरबाट लगाउनुपर्छ भन्ने पनि भयो,’ उनले भने, ‘अर्को पटकलाई हाम्रो लागि पाठ भयो, उमेर समूह अनुसार छुट्टाछुट्टै लाइन राख्नुपनर्छ भन्ने सिकियो ।’
महानगरले २ दिनका लागि खोप लाउने भने पनि छुटेकाहरुलाई शुक्रबार पनि लगाउने व्यवस्था गरेको पौडेलले जानकारी दिए । ६५ वर्ष भन्दा माथिका छुटेकाहरुका लागि शुक्रबार वडा नम्बर ७ मा व्यवस्था मिलाएको उनले बताए ।

प्रदेशभर १ लाख ४२ हजार ६ सय ५० डोज खोप
गण्डकी प्रदेशका एघार जिल्लामा १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल लगाइने भएको हो । नेपाल सरकारबाट गण्डकी प्रदेशका लागि आएको उक्त खोप प्रदेशका सबै जिल्लालाई उपलब्ध गराएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३६ हजार र कम मनाङमा ३ सय ५० डोज पठाइएको छ । यसैगरी नवलपुरमा १९ हजार ५ सय, तनहुँमा १८ हजार ५ सय, बागलुङमा १६ हजार ५ सय, स्याङ्जामा १३ हजार ५ सय, गोरखामा १३ हजार डोज पठाइसकिएको छ । यस्तै लमजुङमा १० हजार, पर्वतमा ८ हजार ५ सय, म्याग्दीमा ६ हजार २ सय र मुस्ताङलाई ६ सय डोज पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जिल्लामा पठाइएको भेरोसेल खोप आवश्यकता अनुसार स्वास्थ्य कार्यालयले पालिकालाई प्रदान गर्नेछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads