उत्कृष्ट किसान सम्मानित

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
kisan

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट काम गर्ने किसानहरु सम्मानित भएका छन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले ११ वटै जिल्लाबाट उत्कृष्ट किसानी गर्ने कृषकलाई नगद सहित सम्मान गरेको हो । व्यावसायिक पशुपंक्षी पालक किसान र कृत्रिम गर्भाधान गराउने प्राविधिकहरु सम्मानित भएका हुन् । १० जना किसानलाई २० हजारका दरले पुरस्कार दिइएको छ । पशुपालनका माध्यबाट रोजगारी सिर्जना गर्ने र कृषिबाट प्रदेशलाई आत्मनिर्भर बनाउन योगदान गरेको भन्दै उनीहरु सम्मानित भए ।
गाई÷भैंसी पालनतर्फ बागलुङको श्रीकृष्ण गाईभैंसी फार्मका सञ्चालक कृष्णप्रसाद पौडेल, चौंरी पालनतर्फ एस चौंरी पालन उद्योग मनाङका सुरेश थकाली, बाख्रा पालनतर्फ कास्कीको नयाँगाउँ बाख्रा फर्मका सञ्चालक दुर्गादत्त पौडेल, भेंडा तथा चौरी पालनतर्फ द बुकी भेंडा पालन व्यवसायका सञ्चालक विनोदप्रसाद तुलाचन र बंगुरपालनतर्फ कास्कीको नेपाल लाइभस्टक एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालिका सरस्वती बस्ताकोटी सम्मानित भए ।
यस्तै, मासुका लागि कुखुरा पालनतर्फ तनहुँको छिम्केश्वरी पोल्ट्री फर्मका सञ्चालक रामबहादुर रसाइली, अण्डाका लागि कुखुरा पालनतर्फ कास्कीको बाराही पोल्ट्री फर्मका सञ्चालक राजु थापा र ट्राउट माछापालन तर्फ माछापुच्छ«े रेन्बो ट्राउटका सञ्चालिका सीता गुरुङ, कार्प माछापालनमा धौलागिरी कृषि तथा पशु फर्म तनहुँका सुदिपकृष्ण श्रेष्ठ र घाँसखेती तर्फ गोरखाका कृष्णप्रसाद धिताल सम्मानित भए ।
यसैगरी निर्देशनालयले प्रदेशका सर्वोत्कृष्ट कृत्रिम गर्भाधानकर्ता १ जना र ७ जना उत्कृष्ट कृत्रिम गर्भाधान गराउने प्राविधिकलाई पनि पुरस्कृत गरेको छ । हुप्सेकोट गाउँपालिकाका नागेन्द्र शाहलाई सर्वोत्कृष्ट कृत्रिम गर्भाधानकर्ता घोषित गरी ३० हजार पुरस्कार प्रदान गरेको छ । यसैगरी, कास्कीका खिमलाल रानाभाट, स्याङ्जाका हिरामणि ढकाल, पर्वतका नारायणप्रसाद आचार्य, बागलुङका कृष्णप्रसाद पौडेल, तनहुँका बिनोद बानिया, लमजुङका अमृत अधिकारी, गोरखाका सुदीप विकले जनही २० हजारका दरले पुरस्कार पाए ।
पुरस्कार वितरणपछि भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी सचिव सवनम सिवाकोटीले कृषिलाई व्यावसायिक बनाउन सरकारले सबैखाले सेवा–टेवा प्रदान गर्ने बताईन् । सिवाकोटीसँगै निर्देशनालयका निर्देशक डा. मनबहादुर पुन लगायतले किसानहरुलाई पुरस्कार वितरण गरेका थिए । त्यसअघि निर्देशनालयको सार्वजनिक सुनुवाई पनि भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width