राष्ट्रिय कफी कपिंगमा कास्की प्रथम

आदर्श समाज सम्वाददाता
असार ३१, २०७८
coffeess

पोखरा  । राष्ट्रिय कफी कपिंग प्रतियोगितामा कास्कीको अन्नपूर्णस्थित माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था प्रथम हुन सफल भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, पोखराले आयोजना गरेको सो प्रतियोगितामा माछापुच्छ्रे ८५.७५ अंक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
नेपाली कफीको गुणस्तर पहिचान, प्रवद्र्धन तथा कफी क्षेत्रमा क्रियाशील समूह, सहकारी, प्रशोधक, उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको थियो ।
राष्ट्रिय कफी कपिंग ल्याब, काठमाडौं र पोखरामा देशव्यापीरुपमा विभिन्न प्रारम्भिक जिल्ला कफी सहकारी उत्पादक संघ र कफी फर्म तथा कफी उद्योगी व्यवसायीबाट प्राप्त १७ कफी नमुनाको कफी कपिंग गरी त्यसको स्वाद र गुणस्तर परीक्षण गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कफी कपिंगबाट त्यसको स्वाद र गुणस्तर परिक्षण गरेपछि मात्र कफीको मूल्य निर्धारण गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । कास्कीको कफीमा कफीमा हुने विभिन्न गुण जस्तै अरोमा, स्विटनेस, आफ्टरटेस्ट, बोडी, एसिडिटी लगायत गुणको सन्तुलित स्वाद पाइएको छ ।
सिन्धुपाल्चोकका विभिन्न स्थानमा उत्पादन तथा संकलन गरी अन्तर्राष्ट्रिय बजारमा पठाउँदै आएको जोएल हिमालयन अरविका बिन प्रालिले ८५.५० अंक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । जिल्ला कफी सहकारी संघ, काभ्रे ८५.२५ अंक सहित तेस्रो भयो । काभ्रेको कफीमा पनि कफीका विभिन्न गुणको सन्तुलित स्वाद पाइएको छ । प्रथम, द्वितीय र तृतीय भएको कफीको गुणस्तरमा खासै फरक नपाइएको बताइएको छ । प्रथम, दोस्रो र तेस्रोले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ साथमा प्रमाणपत्र प्राप्त गरे । चौथो स्थानमा पनि काभ्रेमा उत्पादित कफीले ८४.२५ अंक प्राप्त गरेको छ । धौलागिरि अर्गानिक प्रोडक्ट, पर्वतबाट उत्पादित कफीले ८३ अंक प्राप्त गरी पाँचौं भयो । जिल्ला कफी सहकारी संघ, ललितपुर, गोरखा, लमजुङ र जिल्ला सहकारी संघ, गुल्मीबाट उत्पादित कफीले पनि समान ८३ अंक प्राप्त गरेको छ । गत वर्ष प्रथम स्थान हासिल गरेको जिल्ला कफी सहकारी संघ, सिन्धुपाल्चोकले यसपालि ११ औं स्थानमा रह्यो ।

कास्की जिल्लाको कफी गुणस्तरमा नेपालमै उत्कृष्ट

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी सचिव सवनम सिवाकोटीले नेपाली कृषकले उत्पादन गरेको कफीले स्पेसियालिटि ग्रेड प्राप्त गर्नु खुसीको कुरा भएको र थोरै मात्र प्रशोधन तथा भण्डारणमा ध्यान पु¥याउन सके नेपाली कफी सबै स्पेसियालिती कफीको रुपमा विश्व बजारमा बिक्री गर्न सकिने बताइन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कफी कपिंगबाट नेपाली कफीको गुणस्तरमा सघाउ पुगेको र आगामी दिनमा विश्वबजारमा उत्पादन बढाऊदै नेपाली कफीको गुणस्तर सुधार गर्दै शत्प्रतिशत स्पेसियालिटी कफीको रुपमा पहिचान दिलाउन बोर्ड लागेको बताए । उनले कफी कृषक तथा कफी क्याफेको पनि छिट्टै वर्गीकरण अगाडि बढाउने र नेपाली कफीको नाममा बाहिरबाट ल्याई गुणस्तरहीन कफी बिक्री वितरण गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताए ।
कार्यक्रममा बोर्ड पोखराका प्रमुख चन्द्र पुरीले नेपाली कफी कृषक, उत्पादक, समूह, सहकारी, संघरसंस्थाहरुले प्राप्त गरेको कफीको स्वाद र गुणस्तर सम्बन्धमा प्राप्त नतिजाबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width