फितलो व्यवस्थापनबीच कोरोना खोप

धनबहादुर गुरुङ
असार ३१, २०७८
Khop Photo 4

पोखरा  । पोखरा बगरकी सीतादेवी गुरुङको खोप लगाउने पालो दिउँसो ३ बजे बल्ल आयो । अघिल्लो दिन नै सूचना पाएकी उनलाई छिट्टै खोप लाइहालम भन्ने हतार थियो । बिहान खाना खाईवरी बुधबार बिहान १० बजेतिर पोखरा सहरी स्वास्थ्य केन्द्रमा लाइन बस्न पुगिन् । खोप केन्द्र पुग्दा मानिसको लाम देखेर छक्क परिन् । उनीहरुको हातमा सानो चिट थियो । टोकन पाइसकेकाहरु पनि लाइनमै देखेपछि उनले हत्तपत्त पालो नआउने आकलन गरिहालिन् । त्यै पनि लामो समयपछि आएको खोप लाउन पाउने आशामा पालो कुरिन् ।
लाइनमा बस्दा पालो मिच्नेहरु, कोही पहुँचको भरमा जानेहरु नदेखिएका होइनन् । ६५ वर्ष उमेर हद तोकिए पनि त्योभन्दा कम उमेरका पनि फटाफट खोप लाएर निस्केको उनले देखेकी थिइन् । यो कुरामा उनको कत्ति चित्त परेको थिएन । तर बोल्ने आँट गरिनन् । भन्दै थिइन्, ‘मेरो त कोही छैन बोलेर पनि के काम ?’
आफ्ना मान्छेहरु भएकाहरु त अगाडि अगाडि गएर लाएका छन् ।’ टन्टलापुर घाममा उभिदा उनको खुट्टाले मेसो पाउन छोडिसकेको थियो भने छाता ओढे पनि रापले हपहप्ती भएकी थिइन् । दिउँसो १ बजे पालो आयो, त्यो पनि टोकन लिने । टोकल लिएपछि अब त ५ बजेसम्म आउला नि पालो भन्दै रिसले चुर हुँदै लाइनमै उभिइन् । उनको पालो ३ बजे आयो ।
बगरकै ओमकुमारी गुरुङ पनि ९ बजेदेखि लाइन बसे पनि टोकन पाइन् १०४ नम्बरको । उनको पालो बल्ल २ बजे आयो । उनको पीडा पनि त्यही थियो, मान्छे घुसाए भन्ने । खोप लगाउने विषयमा सरकारले खेलबाड गरेको र नागरिकको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखिन् । ओमकुमारीले भनिन्, ‘यस्तो घाममा बेसरी गाह्रो भयो, रिंगटा लाएर ढल्छु कि जस्तो भयो ।’ सरकारको नालायकीपनले जनतालाई दुःख भएको उनको धारणा थियो । सरकारले खोपसम्बन्धी सूचना दिँदा नै सबै कुरा बुझाएर दिनुपर्ने तर्फ उनको गुनासोले इंगित गथ्र्यो ।
पृथ्वीनारायण क्याम्पस गेटकि आशा भण्डारी २ बजेमात्र १४८ नम्बरको टोकन लिएर लाइनमा पालो नमिचम् है भन्दै कराउँदै थिइन् । बिहान १० बजे नै लाइन बसे पनि दोस्रो लटमा आफूले कुपन पाएको उनको भनाइ थियो । ‘बिहानदेखि आइए लाइन बसियो बीच बीचमा आफ्ना मान्छे लैजाँदै खोपाउँदै गरेका छन्,’ उनले भनिन्, ‘त्यसो नभए ३ घण्टासम्म किन पालो आउँदैन ?’ सरकारको व्यवस्थापन कमजोरीप्रति उनको आक्रोश थियो । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन भएमा पनि धेरै सहज हुने उनले बताइन् । ‘यस्तो हर्कतले त खोप लगाउन आएको उल्टै कोरोना बोकेर घर गइन्छ कि क्यो हो,’ उनले भनिन्, ‘पुलिसले भित्र जान दिँदैन । पुलिसले यसरी हुन्न लाइनमा बस्नुस् पालो आउँछ मात्र भन्छन्, कहिले आउँछ पालो ? जे भनिदिए नि हुने जनता भेडा हुन् ?’
लाइनमा धेरै ज्येष्ठ नागरिक थिए । उनीहरुका लागि छुट्टै व्यवस्था भएमा चर्को घाममा उभिन नपर्ने उनको तर्क थियो । ‘ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपन व्यवस्था गरेर यति जना भोलि आऊ, यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो,’ उनले भनिन्, ‘हामीलाई पनि भोलिका लागि कुपन भनेर दिएको भए भोलि आइहाल्थ्यौं नि किन यो घाममा बस्नु ।’
कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त पाइएको छ । पोखरामा जेठ २७ मा भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोस्रो डोज लगाउन सूचना जारी गरेअनुसार खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका कैयौं वृद्धवृद्धा लाइनमै अत्तालिएका थिए ।

खोप लगाउन आशमा खोप केन्द्रमा घण्टौंसम्म पालो कुरेर बसेका कैयौं वृद्धवृद्धा लाइनमै अत्तालिएका थिए

महानगरको १९ स्थानमा खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धा दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित थिए । महानगरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुःख पाएका छन् भने संक्रमण जोखिम समेत बढेको उनीहरुको गुनासो थियो । महानगरमा आएको ३० हजार खोप २ दिन गरेर लगाइने पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।
व्यवस्थापनमा कमजोर भएको पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले स्वीकारे । अघिल्लो पटक नै केही भद्रगोल भएको अवस्थालाई नजरअन्दाज गर्दै महानगरले व्यवस्थापनमा ध्यान नदिएका कारण स्थिति असामान्य बनेको उनको भनाइ थियो । जनप्रतिनिधि जनताकै पक्षमा काममा तल्लिन भएको बताउँदै सेवामा खटिएका स्वास्थ्यकर्मी, स्वयमसेवकलाई विशेषभत्ताको व्यवस्था नगर्दा पनि समस्या परेको उनले बताए । राज्यले पहिलाबाटै हेलचक्राइँले खोपमा पनि त्यसको प्रभाव परेको हुन सक्ने उनको आकलन थियो ।
महानगर स्वास्थ्य महाशाखा प्रमुख पौडेलले कर्मचारी अभावकै कारण पहिलो दिन समस्या परेको बताए । ‘योभन्दा अघि कम मात्रामा खोप आएको थियो । हामीले त्यही कर्मचारी परिचालन गरेका थियौं,’ उनले भने, ‘कम कर्मचारीकै कारण समस्या भएको हो ।’ बिहीबार कर्मचारी थपेर व्यवस्थित बनाउने सकभर कसैलाई पनि नछुटाउने उनले जानकारी दिए । बुधबार १० हजार हाराहारीमा खोप लगाएको बताउँदै बाँकी प्रत्येक खोप केन्द्र कर्मचारी र स्वयसेवक थपेर बाँकी खोप लगाउने योजना बनाएको पौडलले बताए । महानगरमा यसअघि ६ हजार ३ सय १७ खोप लगिएको थियो । यो पटक ३० हजार खोप गएको छ । पहिलो चरणमा लगाएका सबैलाई दोस्रो डोज लगाएर बाँकीलाई पहिलो चरणको खोप दिने महानगरको योजना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width