खोपमा भीडभाड नगर्न प्रशासनको आग्रह

आदर्श समाज सम्वाददाता
असार ३१, २०७८
Khop anugaman 8

पोखरा । कास्कीमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रममा भीडभाड पाइएपछि प्रशासनले भीडभाड नगर्न आग्रह गरेको छ । खोप कार्यक्रम जिल्लामा निरन्तर चल्ने हुँदा भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
पोखरा महानगरपालिकामा कोभिडविरुद्धको खोप अभियान बुधबार सुरु भएको छ । खोप कार्यक्रमलाई पारदर्शी बनाउनन प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीबाट पदम श्रेष्ठ अनुगमनमा संलग्न थिए ।
भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाउन भनिएका सम्पूर्ण व्यक्ति एकै पटक आउनु र भोलिका दिनमा पनि खोप पाउन कठिन हुन्छ कि भन्ने अविश्वासका कारण पनि भीड बढी भएको हुन सक्ने सहायक सिडियो पौडेल बताउँछन् । उनले सञ्चारकर्मी, कर्मचारी, सवारी चालक र अन्य अत्यावश्यक सेवा संलग्न व्यक्तिहरुलाई कास्कीमा अहिले सञ्चालन भइरहेका खोप केन्द्रमा नभई छुट्टै ठाउँमा विशेष तरिकाले खोप लगाउने व्यवस्था गर्न लागेको बताए ।
अनुगमन टोलीले पहिलो दिन पोखरा ५, ६, ७ ८ र ९ मा अनुगमन गरेको हो । सम्पूर्ण वडामा ४ सय डोज खोप उपलब्ध भएको वडामा कार्यरत कर्मचारीले जानकारी गराएको बताइएको छ । माग गरिएबमोजिम खोप उपलब्ध गराउँदा खोप बिग्रन सक्ने कारणले गर्दा निश्चित मात्रामा खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जानकारी गराएको थियो । निश्चित तापक्रममा राखिएको खोप निकालिसकेपछि ३ घण्टा भित्र लगाउनुपर्नेछ । खोपकेन्द्रलाई आवश्यकता अनुसार १ सयदेखि २ सय डोज खोप थप गरिएको अनुगमनमा पाइएको छ ।
जिल्लामा स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम ज्येष्ठ नागरिक, विश्वविद्यालय, विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी, अत्यावश्यक सेवामा संलग्न कर्मचारी, खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width