२९ लाखको केराउ तथा खसीबोका बरामद

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
kerau m

परासी, । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । ६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १ सय ८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । पिकअप भ्यानमध्ये ५ वटा बेलाटारी क्षेत्रबाट र १ वटा परासी क्षेत्रबाट सोमबार राति पक्राउ परेका हुन् । एक पिकअप म्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो ।
सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइने प्रहरी उपरीक्षक यादवले जानकारी दिए । नेपालमा भन्दा भारतमा महँगोमा बिक्री हुने भएकाले नवलपरासीको नाका हुँदै भारततर्फ मटर तस्करी हुने गरेको छ । प्रहरीले ठूलो मात्रामा केराउ बरामद गर्ने गरे पनि तस्करी भने रोकिएको छैन । अहिले भूजहवा, झोलनीपुर र बसैया नाकाबाट मटर तस्करी हुँदै आएको छ ।

यसैबीच भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ लाख बराबरका खसी/बोकालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट हिँडाएर ल्याउँदै गरेको अवस्थामा ४५ जिउँदो खसी/बोकालाई सेमरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक यादवले बताए । पक्राउ परेका खसी/बोका महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width