देउवा पाँचौ पटक प्रधानमन्त्री

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
Deuba

पोखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् । दुई तिहाइ नजिकको सरकार अल्पमतमा परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दुखद बहिर्गमन भएको थियो । ओलीको बिदाइसँगै देउवा विपक्षी गठबन्धनको नेतृत्व गर्दै मंगलबार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
सर्वोच्च अदालतले सोमबार संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । उनको यसअघिका चारवटै कार्यकाल विवादित बन्यो । देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भएको आधा वर्ष पनि नपुग्दै माओवादी जनयुद्ध सुरु भएको थियो । माओवादीले सरकारसँग राखेको ४० बुँदे मागपत्रको बेवास्ता गरेपछि जनयुद्ध सुरुवात भएको हो । संयोगले आज उनै देउवा माओवादी समेतको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भए ।
दोस्रो पटक २०५८ साउनमा प्रधानमन्त्री बनेका देउवाले २०५९ जेठमा बहुमत सदस्यको सहमति बेगर प्रतिनिधिसभा विघटनको सिफारिस राजासमक्ष गरेका थिए । त्यही घटनाले नेपाली कांग्रेस विभाजन भयो । कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका देउवाले खोलेको कांग्रेस प्रजातान्त्रिकको सभापतिका रुपमा उनी २०६१ सालमा तेस्रो पटक प्रधानमन्त्री बने । चुनाव गराउन नसकेको आरोप लगाएर राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरि दिए । उनै देउवा २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री बने । उनको नेतृत्वमा संघीय व्यवस्थाको चुनावसमेत भयो । यद्यपि कांग्रेस भने नराम्रोसँग पराजित हुन पुग्यो ।
यसपटक कोभिड संक्रमण भयावह छ । नागरिकको जिउधनको रक्षा प्राथमिक कार्ययोजना हुनुपर्छ । पाँचौ पटक सत्तारोहण गरेका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । बहुमत पुर्‍याउन सके बाँकी अवधि उनी नै प्रधानमन्त्री बन्ने छन् भने विश्वास नपाए संसद पुनः विघटन हुनेछ र ६ महिनाभित्र मध्यावधि निर्वाचनको मिति घोषणा हुनेछ । त्यो चुनावी सरकारको नेतृत्व पनि देउवाले नै गर्ने छन् ।
ओली २०७४ फागुन ३ मा करिब दुई तिहाइ बहुमतको समर्थनमा प्रधानमन्त्री बनेका थिए । बैशाख २७ गते आफ्नो पक्षमा विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपधारा (३) बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनले आफुसँग बहुमत नभएको भन्दै बीचबाटै उपधारा (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई पत्र पठाए । सोही पत्रका आधारमा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरिन् । त्यतिबेला पनि ओलीले १ सय ५२ सांसदको हस्ताक्षर बुझाएर प्रधानमन्त्रीमा दाबी गरे भने देउवाले १ सय ४९ सांसदको हस्ताक्षर बुझाएका थिए ।
सांसदहरु विभाजित भएको भन्दै भण्डारीले कसैको बहुमत नपुगेको देखाएर नयाँ प्रधानमन्त्री बनाइनन् । ओलीकै सिफारिसमा संसद भंग गर्दै मंसिर १७ र २७ मा निर्वाचन घोषणा गरिन् । तर सर्वोच्चले देउवासँग बहुमत रहेको भन्दै उनैलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राजनीतिले नयाँ मोड लिएको हो ।

५ सदस्यीय मन्त्रिमण्डल
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा देउवाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र सपथ लिने अडान लिएका थिए । सोही कारण सपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वाेच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले सपथ लिएका हुन् ।
देउवाले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् बिस्तार गरेका छन् । देउवा मन्त्रिपरिषद्मा बालकृष्ण खाँड गृहमन्त्री बनेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री तथा माओवादी नेतृ पम्फा भुसाल ऊर्जा मन्त्री बनेकी छन् । देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिइयो । नवनियुक्त मन्त्रीहरु पनि मंगलबार नै सपथ लिए ।

माओवादीले सरकारसँग राखेको ४० बुँदे मागपत्रको बेवास्ता गरेपछि २०५२ मा जनयुद्ध सुरुवात भएकोमा संयोगले आज उनै देउवा माओवादीसमेतको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भए ।

सपथ समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । प्रधानमन्त्रीको सपथपछि देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् । सपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए । त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

प्रजातान्त्रिक आन्दोलनमा देउवाको सक्रियता
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको थियो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।
विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटक पटक गरी ४ पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का उनी सभापति बने । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी कांग्रेसको वरिष्ठ नेता बने । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भए । सभापति एवं संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित भएका थिए ।
सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनक्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् । उनले २ दर्जन बढी देशको भ्रमण गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width