मैदी ताल बाँधका कारण धान खेत डुबानमा

आदर्श समाज सम्वाददाता
असार २९, २०७८
duban ko photo

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ मा पर्ने मैदीतालमा बनाइएको बाँधका कारण उत्तरी तटीय क्षेत्रको धानखेत डुबानमा परेको छ । पानीको निकासमा अवरोध भई धान खेत डुबानमा परेपछि किसानहरु आन्दोलित भएका छन् ।
उनीहरुले २१ असारमा नै मैदी ताल संरक्षण तथा विकास समाजमा डुबानमा परेको धानबालीको क्षतिपूर्ति पाउनुपर्ने र पानीको निकास सहज बनाउनुपर्ने मागसहित निवेदन दिएका थिए । गत सालदेखि डुबानबारे जानकारी गराउँदै समस्या समाधानका लागि अनुरोध गर्दा बेवास्ता गरेपछि माग पूरा गराउन दबाबमूलक गतिविधि गर्नुपरेको सचिव सोमराज त्रिपाठीले बताए ।
२०६९ सालको जेठमा तत्कालीन लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीको रोहबरमा ताल समिति र किसानबीच भएको सम्झौता कार्यान्वयनमा समेत किसानले जोड दिएका छन् ।
तर, मैदी तालक्षेत्र संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेले किसानलाई असर पुर्‍याउने उद्देश्यले कुनै कार्य नगरिएको बताए । तर प्राविधिक कारण र अत्यधिक वर्षाका कारण पानीको सतह वढ्न गई केही किसानको धान खेत डुबानमा परेको उनको भनाइ थियो ।
तालको पानीको सतह घटाइने र पीडित किसानलाई क्षतिपूर्ति दिलाउने विषयमा सम्बन्धित निकायमा पहल गर्ने उनले बताए ।
सोमबार पीडित किसान र ताल समितिबीच छलफल भई समस्या समाधानका लागि दुवै तर्फबाट ३÷३ जना रहने गरी ६ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा ताल समितिको तर्फबाट भरतराज न्यौपाने, ऋषि त्रिपाठी, दुर्गादत्त अधिकारी र किसानहरुको तर्फबाट कीर्तिबल्लभ त्रिपाठी, सोमराज, सुशील त्रिपाठी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width